कला

उघ्रिएको आकाश: पाठकीय दृष्टिकोण

पुस्तक

कथाकार विष्णु भण्डारी आचार्यको तेस्रो कृति ‘उघ्रिएको आकाश’ कथासंग्रह हात परेको छ। म त्यही कृतिबारे केही लेख्दै छु।

कथा कृतिमा एघार कथा सङगृहीत रहेछन्। कथा पढ्दै गर्दा ‘कथाको सार तत्व के रहेछ, कथाकारको के कस्तो चिन्तन रहेछ, कथाकारले समाजलाई के पथप्रदर्शन गरेका रहेछन् र  त्यसबाट पाठकले के कस्तो अनुभूत गर्लान् भन्ने सम्झरिहें।

सर्वप्रथम ‘खुसीको विमान’ कथा पढें। यसमा मानिसले सन्तानको पालनपोषण र आफ्नो पेसाव्यवसायमा विभिन्न विघ्नव्यवधानको सामना गर्नुपर्ने तीतो यथार्थता रहेछ।

त्यसैगरी जीवन जिउने क्रममा सुखदुःखको सामना गर्दै मानवीय दुश्प्रवृत्तिले पनि कहिलेकाहीं आक्रान्त बनाउने र बहुमुल्य वस्तु पनि परिस्थितिवश आधै कम गरेर वा सित्तै दिनुपर्ने, सोचे जस्तो परिस्थिति हुन नसक्ने कटु यथार्थ पस्किएको रहेछ। जसमा माली गाई विक्री गर्नु पर्दाको अवस्था चित्रण गरिएको छ।

‘के अझै ऊ आउँछे?’ मा बैंसमा युवा र युवतीका बीच अझ भन्नुपर्दा विद्यार्थी जीवनमा कलिलै उमेरदेखि स्त्री र पुरुष एक अर्काप्रति आकर्षित हुने जस्तो प्रेमप्रसंग पाइन्छ।

अर्को ‘कोजुको पसल’ कथामा मादक पदार्थ सेवन गर्ने जस्तो कुलतले मानिसको व्यवहार बिग्रने, आपसमा फाटो पार्ने, घरगृहस्थी राम्रो नहुने, स्वास्थ्य बिग्रने, समाज बिग्रने, हत्या बलात्कार जस्ता घटना पनि घट्न सक्ने हुँदा कुसंस्कार तथा कुलतमा मानिस फस्न नहुने, समयमै सचेत भई  आफ्नो आनीबानी सुधार्नुपर्ने सन्देश रहेछ।

त्यसै क्रमले ‘उघ्रेको आकाश’ मा मानिसको शिक्षा तथा अनुशासन साथै लगनशीलता र सामाजिक रीति चलन सम्बन्धको पटाक्षेप गरिएको रहेछ।

त्यसैगरी अर्को ‘कुलको प्रतीक’  मा हाम्रो हिन्दू धर्म संस्कारको रूढिग्रस्त भनाइ, ढर्रा, सन्तानमा छोरा नै जन्मनुपर्ने भन्ने पति र पत्नीको विषय उठाउँदै ढोंगी प्रवृित्तप्रति तीखो प्रहार गरिएको रहेछ।

त्यस्तै ‘अँधेरी रात’ मा गाउँका ठालू तथा शोषक सामन्तले गरिब असहायप्रति गरेको नराम्रो व्यवहार, पति मरेपछि महिलाई गरिने दुर्व्यवहार, धामीझाँक्रीले बोक्सी बोक्सा भनेको फलोकलाई विश्वास गर्ने ढोंगी समाज र मानवीय दुर्गुणको चित्रण गरिएको छ।

‘सपना’ मा पनि मानिसले आफ्नो जीवन सार्थक बनाउने, सन्तानलाई शिक्षित र दक्ष बनाउने, समाजमा आफ्नो सन्तानको मानसम्मानका साथ ख्याति बढाउने जस्ता प्रसंग पाइन्छ।

 ‘त्यो दिन’ मा बस गाडीका चालक तथा ढोके खलासीहरूले गाडी चढ्ने यात्रुहरूलाई झुक्यानमा पारेको, असजिलो अवस्था गराएको र ‘अर्को विवश आँसु’मा गरिबको जीवनमा भोग्नुपरेका कठिनाइ, आँसु रोदन र संवेदनाको चित्रण प्रस्तुत गरिएकाे रहेछ।

त्यसैगरी ‘अस्पतालको बिल’ मा ढुंगाको मुटु जस्ता अमानुषिक प्रवृत्ति भएका अस्पताल, डाक्टर तथा विवेकहीन मनमस्तिष्कमाथि चोटिलो प्रहार पाइन्छ।

त्यसैगरी अन्तिम कथा ‘अर्को युद्ध लड्न बाँकी’ लाई नियाल्दा मुलुकमा समाजको कुरीति र कुसंस्कारलाई फाल्न शिक्षित चेतनशील सभ्य समाज बनाउन, चेली नारीप्रति समाज र सरकारले गरेको हिंसा विभेदको अन्त्य गर्न मुलुकमा अगाडि भए गरेका कैयौं संघर्षले पनि अझै विकृति विसंगतिको अन्त्य नभएको, अझै सामाजिक विभेद हटी नसकेको हुँदा समाज परिवर्तनका लागि अझै अर्को युद्ध लड्न बाँकी नै रहेको, भविष्यमा अर्को युद्ध लड्ने दिन पनि आउन सक्छ भनेर कथाकारले आफ्नो मनोभावना व्यक्त गरेका छन्।

सारांशमा भन्दा यसमा कथाकारले मानिसको जीवन र अन्तरात्मालाई अत्यन्त सावधानीसाथ कथामा केस्राकेस्रा केलाएको पाइन्छ।

कथामा विगत र वर्तमान अवस्थाको नेपाली समाजमा सामाजिक, आर्थिक, सांस्कृतिक तथा हालको राजनैतिक विकृति, विसंगति एक अर्काको विश्वासघात, अन्धविश्वास र बाध्यतालाई उजागर गरिएको पाइन्छ।

कथाकार विष्णु  भण्डारीको कथामा मानवतावाद, समतावाद, देशप्रेम, वर्गीय चेतना जस्ता प्रवृत्ति  भएको अनुभूत भएको छ। उहाँको अविश्रान्त यात्राको कामना गर्दछु।

अथक प्रयासविना कुनै पनि कार्य त्यसै सम्पन्न हुँदैन। यो कृति पनि अथक साधना, आलस्यको त्याग र समर्पणको परिणति ठानेकी छु।

चौबिसे गाउँपालिका धनकुटामा आमा चन्द्रमाया तथा पिता प्रेमबहादुर भण्डारीको सुपुत्रीको रूपमा जन्मिएको उनले साहित्य सिर्जना माध्यमबाट सुन्दर समाजको उनको परिकल्पना स्तुत्य छ। उज्यालो यात्राका लागि उनलाई हृदयदेखि बधाई।

 - विमला पोख्रेल

प्रकाशित: ८ भाद्र २०८० ०६:०६ शुक्रबार

अक्षर