कला

'नाटकमा पैसा छ, किन छैन?'

काठमाडौं- 'नाटकमा सम्भावना देखेर आउनेहरुलाई यहाँ पैसा हुँदैन भनेर कहिलेसम्म भनिरहने? अनि नेपाल यातायात चढ्नुअघि पैसा छ कि छैन भनेर कहिलेसम्म हामीले हाम्रो खल्ती छामिरहने?' मंगलबार नाटक 'लाटीको छोरो' मञ्चनबारे आयोजित प्रेसमिटमा रंगकर्मी प्रकाश दाहालले आक्रोशित भावमा गरेको प्रश्न थियो यो।

उनले यसरी प्रश्न तेर्स्याइरहँदा अग्रभागमा रहेका रंगकर्मी टीका पहारीदेखि पछिल्लो पुस्ताका सुलक्षण भारतीसम्म गम्भिर देखिन्थे।

खासमा प्रकाश रंगमञ्चमा देखिएको निराशाभाव आफूमार्फत पोखिरहेका थिए। 'टीका पहारीदेखि आज प्रकाश दाहालसम्म आइपुग्दा पनि नाटकमा पैसा छैन् मात्र भनियो, यसलाई व्यवसायिक बनाउन कहिल्यै खोजिएन्,' श्याम शाहको कथा संग्रह 'अब्बा'मा सम्मिलत 'लाटीको छोरो'मार्फत नाटकमा प्रोडक्सन डिजाइनको परिकल्पना गरेका प्रकाश भनिरहेका थिए, 'अब आउने नयाँ पुस्ता निराश हुन नपरोस् भनेर हामी कलाको महत्व नमारिकन यो नाटकमार्फत व्यवसायिकरणको प्रयास थाल्दैछौं। यो कठिन होला तर असम्भव छैन।'

'लाटीको छोरो'मार्फत नेपालमा पहिलोपल्ट प्रोडक्सन डिजाइनरको अभ्यासबाट नाटकको निर्माण गरिँदैछ। प्रोडक्सन डिजाइन अन्तर्गत डिजाइनरले नाटकको सेट, लोकेशन, ग्राफिक्स, रंगमञ्च, प्रकाश, क्यामेरा सबैको डिजाइन गर्ने काम गर्छ। 'प्रोडक्सन डिजाइनरले निर्देशक र निर्माताबीच पुलको काम गर्दै पूरै प्रोडक्सनलाई सफल बनाउने काम गर्छ, हाम्रो प्रयास पनि यही हो,' प्रकाशले भने।

३६ वर्षपछि यो नाटकबाट अभिनेता टीका पहारी रंगमञ्चमा फर्कंदैछन्। 'समय व्यस्तताका कारण चाहेर पनि म नाटकमा फर्किन सकिरहेको थिइन्,' अभिनेता पहारीले भने, 'अहिले यो नाटकमा काम गर्न पाउनुलाई म संयोग मान्छु। अझ व्यवसायिक हुन खोजिरहेको नाटकको हिस्सा हुन पाउँदा खुशी लागिरहेको छ। १५ दिनको रिहर्सलले पनि अब शंका गर्ने ठाउँ छैन भनेर प्रमाणित भइसक्यो। म भारतको रंगमञ्चमा काम गर्दा गुजराती र मराठी नाटकहरू व्यवसायिक थिए, भारतमा पछिमात्र भयो। यहाँ त भएकै छन्, यो नाटकबाट अभ्यास हुँदैछ।'

नाटक घरमा फिल्मको भन्दा महंगो टिकट काटेर दर्शक नाटक हेर्न जान्छन्। तर नाटकमा काम गर्नेहरूलाई सधैं 'यहाँ पैसा छैन्' भनेर पढाइन्छ, सधैं निरुत्साहित गरिन्छ। 'यो नाटकमार्फत अब रंगमञ्च व्यवसायिक भएको प्रमाणित भइसक्यो किनकी मलाई पारिश्रमिक दिएर अनुबन्धित गरिसकियो,' 'लाटीको छोरो' नाटक निर्देशनको जिम्मेवारी पाएका सुलक्षण भारतीले प्रेसमिटमा भने, 'यो नै सफलताको प्रमाण हो। प्रकाश तैले जे सोचेको थिइस्, त्यो गरिस। हामी टिकट बेचेर नाटक देखाउँछौं त्यसैले रंगमञ्चमा काम गर्दैमा हामी गरिब छौं भनेर म कसैको सहानुभुति लिन चाहन्न। भलै धनीहरू गाडी चढ्लान, हामी साइकल। केही अघि मात्रै थिएटर मल बन्द हुँदा धेरैको सहानुभूति त्यता गयो तर त्यो सँगसँगै अरु थुप्रै पसल बन्द भए, कसैले चासो दिएन। हामीलाई मात्र सहानुभूति किन चाहियो?'

नाटकमा पैसा छैन भन्नेहरूलाई इंकित गर्दै उनले थपे , 'थिएटरमै काम गरेर अग्रजले घर बनाएका छन्। घर व्यवहार चलाएका छन्। उनीहरूले कलाकारलाई पैसा बाँडे कि बाँडेनन्? पैसा छैन मात्र किन भनियो? पैसा थिएन भने विद्यार्थीहरू थुप्रार्ने काममात्र किन गर्नु? अर्को कुरा मलाई थिएटरले अहिलेसम्म कर तिरेको पनि थाहा छैन। थिएटरचाँही करको दायरामा आउनुपर्दैन्? बक्सअफिस हुनुपर्दैन? यसो भयो भने सबैलाई राहत पुग्थ्यो कि?'

भारतीले यसअघि आफैं निर्माता र निर्देशक भएर 'बिलगेट्स पण्डित र 'बोक्सीको घर' नाटक मञ्चन गरेका थिए। 'लाटीको छोरो'मार्फत प्रोडक्सन डिजाइनरको अभ्यास सुरु भएपछि उनी व्यवस्थापनको झन्झटबाट मुक्त भएका छन्। 'अहिले मैले क्रिएटिभ पाटोमात्र हेर्नुपरेको छ त्यसैले ठूलो राहत मिलेको छ,' भारतीले नाटक रिहर्सल सुरु भएको १५ दिन भइसक्दाको अनुभव सुनाए, 'पहिले सबै काम आफैं गर्नुपर्थ्यो, अहिले प्रोडक्सन डिजाइन अनुसार काम भइरहेको छ। म आफ्नो सिर्जनामा मात्र केन्द्रित छु। यसरी गरिएको काम धेरै स्तरीय हुनेछ। अर्को कुरा अब हामीले जागिर पनि पाउने भयौं। नाटक निर्देशन गर्नलाई आफै निर्माता हुनुपरेन।'

नाटक 'लाटीको छोरो' डोम समुदायको वस्तीमा एउटा लाटीको वरिपरी घुमेको कथा हो। त्यो वस्तीको सुन्दर बजारमा एकदिन एउटा लाटी गर्भवती भएको कुरा फैलिएपछि ठूलो तरंग पैदा हुन्छ। 'र त्यसपछि के हुन्छ त्यसका लागि नाटक हेर्नुपर्छ,' निर्देशक भारतीले भने, 'नाटकलाई अझ प्रष्ट बनाउन मैले केही पात्र थपेकोछु, थोरै इम्प्रोभाइज गरेको छु।' नाटकमा केनिपा सिंहले मानसिक सन्तुलन गुमाएकी बोल्न नसक्ने महिला अर्थात् लाटीको भूमिका निर्वाह गरेकी छिन् भने टीकाले गाउँका नेता विषनाथको भूमिका निर्वाह गर्दैछन्।

बोक्सी कहलाइएकी गाउँकी स्थानीय महिला पवित्राको भूमिकामा रंगकर्मी पशुपती राईले देखिँदैछिन्। 'यो नाटकको नाममै केही चिज छ,' पत्रकारमाझ पशुपतिले भनिन्, 'लाटी भनेको बोल्न नसक्ने मात्रै होइनन्। यहाँ बोल्न सक्ने लाटालाटी पनि छन्। को हुन् त ती लाटालाटी? नाटक ढंगमा फरक ढंगले प्रस्तुत गर्न खोजिएको छ।  सबैले देख्नुभएका चरित्र तपाईंले नाटक हेरिसकेपछि पक्कै सम्झनुहुनेछ।'

पशुपतिले यहाँ फरक-फरक नाम दिएर महिलामाथी हिंसा भइरहेको समेत बताइन्। 'कहिले लाटी, कहिले बोक्सी, कहिले विधुवाका नाम लिएर यहाँ महिलामाथी हिंसा भइरहेका छन्,' उनले भनिन्, 'लाटी भन्नु आफंैमा हिंसा हो। हाम्रो समाजले लाटीको फाइदा कसरी उठाइरहेको छ? त्यसको जवाफ नाटकले दिन खोज्छ।'

मण्डला नाटकघरमा भदौ-२० गतेदेखि असोज-८ गतेसम्म नाटक मञ्चन हुने कार्यक्रममा जानकारी दिइयो। नाटकका लागि अहिले हरेक कलाकारलाई 'मेथड एक्टिङ' गराइरहेको निर्देशक भारतीले बताए। 'लाटीको छोरो' कथालाई नाट्य रुपान्तरण निर्देशक स्वयम्ले गरेका छन्। नाटकमा सन्दिप पौडेल, कुन्दन थारू, कुसल पाण्डे, रोसन सुवेदी, प्रकाश दाहाल, राजन काफ्ले, पशुपति राई, सुदिप खतिवडा, आयन खड्का, मिलन कार्की र मेलिन पराजुलीले अभिनय गर्नेछन्। सुलक्षणकै प्रकाश र मञ्च परिकल्पना रहने नाटकमा अर्चना पन्थीले सहायक निर्देशकको भूमिका निर्वाह गरिरहेकी छिन्।

दिनमा तीनटा शो गर्ने तयारी रहेको प्रोडक्सन डिजाइनर दाहालले भने। 'हामीले दिनमा दुईवटा बुकिङ र एउटा रेगुलर शो गर्ने लक्ष्य लिएका छौं,' उनले भने, 'हामीले नाटकमा काम गर्ने सबैको पारिश्रमिक तोकेका छौं। निर्देशकलाई ५० हजार रुपैयाँ पारिश्रमिक तोकेका छौं। नयाँ कलाकारलाई पनि कम्तीमा साढे सातहजार रुपैयाँ पारिश्रमिक तोकेका छौं।'

दिनमा एउटा बुकिङ र एउटा नियमित शो गर्दा अनुमानित साढे सात लाख रुपैयाँ खर्च हुने प्रकाशले बताए। 'एउटा शो गर्दा १२ देखि १३ हजार रुपैयाँ खर्च हुन्छ,' उनले भने, 'विद्यार्थीका लागि बुकिङ शो राखेका छौं जसअनुरुप ३० हजार रुपैयाँ शुल्क राखेका छौं। १८ दिन नै हामीले भनेजसरी शो गर्न सकिएमा हामी नाफामा हुनेछौं। यसो भयो भने नाटकमा बजार र नाटक गरेर कमाउन सकिन्छ भन्ने कुरा प्रमाणित हुनेछ।' नाटकका निर्मातामा सफर पाेखरेल, जिया लामा र अनिष न्याैपाने रहेका छन्।

प्रकाशित: २६ श्रावण २०७४ ०४:३५ बिहीबार

नाटकमा पैसा किन छैन