कला

केकी र अनुपविक्रमको 'हुर्रे'

काठमाडौं- फिल्म 'हाउफन्नी'मा पहिलो पल्टसँगै काम गरेका केकी अधिकारी र अनुप विक्रम शाही दोस्रो पटक सँगै देखिने भएका छन्। आइतबार राजधानीमा घोषणा भएको फिल्म 'हुर्रे'मा केकी र अनुपले जोडीको रूपमा अभिनय गर्नेछन्। फिल्मलाई यम थापाले निर्देशन गर्ने छन्। उनले यसअघि निर्देशन गरेको 'राज्जा रानी' पोस्ट प्रोडक्सनमा छ।

फिल्मका लेखकसमेत रहेका यमले फिल्म 'देखेको हैन लेखेको मात्र पाइन्छ' भन्ने प्रचलित नेपाली भनाइमा फिल्मको कथा आधारित भएको बताए। 'फिल्म डार्क कमेडी विधामा बन्छ। सानो परिवेशमा हास्यपरक फिल्म बनाउने हाम्रो प्रयास हो,' यमले भने।

यमको पहिलो फिल्म 'राज्जा रानी'मा पनि शीर्ष भूमिकामा देखिएकी केकी अधिकारीले उनै निर्देशकको फिल्ममा दोहोरिन पाउँदा आफ्नो कामले प्रभावित गर्न सकेको अनुभव गर्छिन्। उनले फिल्मका सबै कलाकारसँग एक पटक काम गरिसकेकाले सुटिङ पारिवारिक माहोलमा सम्पन्न हुने अपेक्षा गरिन्। 'लाइट हर्टेड कमेडी फिल्म हो। तर, परिवेश नयाँ छ। एउटा राम्रो फिल्म बन्ने अपेक्षा राखेकी छु,' केकीले भनिन्। अभिनेता अनुपबिक्रम शाही भने घोषणा कार्यक्रममा उपस्थित थिएनन्।

फिल्ममा राजाराम पौडेल, प्रकाश घिमिरे, विजय बराल, अंकित खड्का, संगीता नापित र उपदेश तिमिल्सेनाको अभिनय रहनेछ। कार्यक्रममा बोल्दै अभिनेता राजाराम पौडेलले पछिल्लो समय नेपाली फिल्मले हिन्दी फिल्मलाई विस्थापित गर्न सफल भएको बताउँदै नेपाली फिल्मका स्वर्णीम दिन सुरु भएको बताए।

कार्यक्रममा आकाश अधिकारी, अशोक शर्मा, रामकेशर बोगटी, पुष्कर लामा आदिले फिल्मको सफलताको शुभकामना दिएका थिए।

भदौको पहिलो हप्ताबाट फ्लोारमा जाने फिल्मलाई सोनम लामा ब्लोन र दोर्जे लामाले संयुक्त रूपमा निर्माण गर्न लागेका हुन्। दावा शेर्पा फिल्मका प्रस्तुतकर्ता हुन्। फिल्ममा शिव ढकालको छायांकन, कालीप्रसाद बास्कोटा र राजनराज सिवाकोटीको संगीत, चन्दन दत्तको सम्पादन रहनेछ।

प्रकाशित: २३ श्रावण २०७४ ०६:०९ सोमबार

केकी अनुपविक्रमको हुर्रे