मुम्बई- बलिउड अभिनेत्री दीपिका पादुकोण यतिबेला सञ्जय लिला भन्सालीको फिल्म 'पद्मावती'मा व्यस्त छिन्। यो फिल्ममा दीपिकासँगै शाहिद कपुर र रणवीर सिंहलाई पनि देख्न सकिन्छ। 'पद्मावती'को काम सकिएपछि उनी 'माफिया क्विन'का रूपमा परिचित सपना दिदीको जीवनीमा आधारित फिल्म 'सपना दिदी'मा व्यस्त हुनेछिन्।
भारतीय सञ्चारमाध्यमका अनुसार अन्डरवर्ल्ड डन दाउद इब्राहिमलाई मार्ने योजना बनाउने सपना दिदीको फिल्ममा अभिनय गर्नु अघि दीपिकाले आराम गर्ने मनस्थिति बनाएकी छन्। फिल्म 'पद्मावती'को काम एक महिनापछि सकेर उनी केही समय आराम गर्ने योजनामा छिन्।
'पद्मावतीको सुटिङ केही समूहको आन्दोलनका कारण रोकिएको थियो। तर, अहिले सुटिङले गति लिइसकेको छ। फिल्म सुटिङको भने निकै ठूलो झमेला व्यहोर्नुपर्यो। कहिले पेट्रोल बमको आक्रमण त कहिले कर्णी सेनाका समर्थकको तोडफोडले फिल्मको काममा ढिलाइ भयो। सञ्जय लिला भन्सालीले नोभेम्बर १७ लाई रिलिज मिति तोकेका छन्। दीपिका, रणवीर सिंह र शाहिद कपुरले अक्टोबर २० सम्म काम सक्नेछन्,' भारतीय सञ्चारमाध्यमले समाचारमा लेखेका छन्, 'यो फिल्म पछि दीपिका आगामी जनवरीदेखि अर्को फिल्ममा व्यस्त हुनेछिन्। त्यसकारण यो बीचको समयमा उनी आराम गर्न चाहन्छिन्। दीपिकाका लागि यो वर्ष निकै व्यस्त बन्यो। यो वर्ष उनी बलिउडसँगै हलिउडमा पनि जोडिइन्।'
'सपना दिदी'को निर्देशन विशाल भारद्वाजले गर्नेछन्। जुन फिल्म अर्को वर्षको अक्टोबरमा रिलिज हुँदैछ।
प्रकाशित: २२ श्रावण २०७४ ०६:४३ आइतबार