कला

अर्जुनको गीत चोरी

काठमाडौं- भारतीय गीत नेपाली संगीतकर्मीले चार्ने गरेको खबर पढ्दै आएका पाठकका लागि नयाँ खबर छ। संगीतकार अर्जुन पोखरेलद्वारा संगीतबद्ध फिल्म 'प्रेमगीत'को शीर्ष गीत भारतीय संगीतकर्मीले चोरेका छन्। 'म यस्तो गीत गाउँछु' बोलको यो गीतलाई आसामी भाषामा अनधिकृत रूपमा गाएर युट्युबमा अपलोड गरिएको छ। शुक्रबार मात्र अपलोड भएको गीतको संगीत हुबहु चोरिएको छ। संगीत चोरे पनि युट्युबमा अपलोड गरिएको भिडियोमा संगीतकारको रूपमा पिंकल प्रत्युसको नाम छ भने अर्जुन पोखरेलकै रचना रहेको गीतमा दिगन्त भारतीको नाम छ।

संगीत चोरिएको थाहा पाएर नेपालीहरूले युट्युबको कमेन्टमा गीत नेपाली भएको दाबी गरेपछि शनिबार बेलुकीसम्म युट्युबको इन्फोमा गीतको भिडियोसँग सम्बद्ध नेपालीहरूको नाम राखिएको छ। तर, भिडियोमा भने आसामीहरूको नाम यथावत रहेको छ।

संगीतकार पोखरेलले आसामीको कामले प्रतिलिपी अधिकारको हनन् भएको बताएका छन्। उनले गीतको भिडियोको अधिकार म्युजिक नेपालसँग रहे पनि नैतिक अधिकार आफ्नो रहेकाले त्यसलाई प्राप्त गर्न विज्ञसँग सल्लाह गरिरहेको बताएका छन्। 'प्रतिलिपी अधिकारका विज्ञसँग कुरा भइरहेको छ। सँगसँगै गीत चोरी गर्ने आसामीसँग पनि सम्पर्कको प्रयास भइरहेको छ। उनीहरूले भिडियो पनि सच्याए भने विचार गर्न सकिन्छ नत्र भने कानुनी प्रक्रियामा जान्छु,' पोखरेलले भने। उनले नेपालमा भिडियोको अधिकार प्राप्त कम्पनी म्युजिक नेपालमा प्रतिलिपीमा दाबी गर्ने तयारी गरिरहेको पनि बताए।

करिब दुई वर्षअगाडि सार्वजनिक भएको गीत स्रोताले अत्यधिक रूचाएको गीतमा पर्छ।

प्रकाशित: २२ श्रावण २०७४ ०६:३९ आइतबार

अर्जुनको गीत चोरी