काठमाडौं– आगामी साउन २३ गते राजधानीमा आयोजना हुन लागेको ‘सिने सर्कल फिल्म अवार्ड २०७४’ को उत्कृष्ट ५ को मनोनयनमा उत्कृष्ट अभिनेत्रीका लागि प्रियंका कार्की, केकी अधिकारी, वर्षा राउत, सृष्टि श्रेष्ठ र शिल्पा पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । आयोजक सिनेमा सर्कलले सोमबार सार्वजनिक गरेको मनोनयनमा उनीहरू क्रमशः ‘छक्का पञ्जा’, ‘लभ सासा’, ‘जात्रा’, ‘गाजलु’ र ‘किस्मत २’बाट उत्कृष्ट अभिनेत्रीको दौडमा सामेल भएका हुन् । दोस्रो संस्करणको अवार्डमा उत्कृष्ट फिल्ममा ‘छक्का पञ्जा’, ‘गाजलु’, ‘जात्रा’, ‘वीर विक्रम’ र ‘पुरानो डुंगा’ मनोनयनमा परेका छन् ।
अभिनेता तर्फ भने ‘लुकामारी’बाट सौगात मल्ल, ‘जात्रा’ बाट विपिन कार्की, ‘होमवर्कबाट आर्यन सिग्देल, ‘वीरबिक्रम’ र ‘सेतो सूर्य’बाट दयाहाङ राई तथा ‘पुरानो डुंगा’बाट माओत्से गुरुङ मनोनयनमा परेका छन् । निर्देशनतर्फ भने ‘छक्का पञ्जा’बाट दीपाश्री निरौला, ‘गाजलु’बाट हेमराज बिसी, ‘जात्रा’बाट प्रदिप भट्टराई, ‘वीर विक्रम’बाट मिलन चाम्स र ‘पुरानो डुंगा’बाट रामबाबु गुरुङ परेका छन् ।
आयोजकका अनुसार अवार्डमा द्वन्द्व निर्देशक एनबी महर्जनलाई ५१ हजार रुपैंयाँसहितको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिनेछ । अवार्डमा निजी क्षेत्रको पहिलो नेपाली फिल्म ‘माइतीघर’ का कलाकार तथा प्राविधिकलाई विशेष सम्मान दिइने पनि जानकारी गराइएको छ । कार्यक्रममा फिल्मका अभिनेता तथा अभिनेत्री सिपी लोहनी तथा माला सिन्हाको पनि उपस्थिति रहने आयोजकले जानकारी गराएको छ ।
अवार्डको निर्णायकमा आयोजक प्रत्यक्ष नदेखिए पनि भित्र भित्रै अवार्ड कसले पाउने भन्ने निर्णयमा हस्तक्षेप गर्ने गरेको गुनासो फिल्म क्षेत्रमा व्यापक चल्दछ । तर यो अवार्डमा चाहिँ आयोजक आफै निर्णायक बनेका छन् । आयोजकमध्येका दिनेश डिसी अवार्डको जुरीमा सदस्य छन् । पत्रकार कृष्ण भट्टराई संयोजक रहेको निर्णायक समितिमा संगीतकार तथा निर्माता सुरेश अधिकारी सदस्य छन् ।
दिनेशले फिल्मको निष्पक्षताका लागि आफू निर्णायक समितिमा बसेको बताए । ‘निर्णायक समितिमा आयोजक नरहँदा फिल्मको अवार्डमा निष्पक्षताको प्रश्न पटक पटक उठ्ने गरेको छ । त्यसकारण पनि निष्पक्षताका लागि म अवार्डमा जुरी सदस्य रहेको हुँ ,’ उनले भने । दिनेशले आफू अघिल्लो संस्करणमा पनि जुरी रहेको बताए । उनले विश्वप्रसिद्ध ओस्कार अवार्डको मोडलमा अवार्ड गर्न लागेको दाबी गरे ।
प्रकाशित: १८ श्रावण २०७४ ०३:५८ बुधबार