कला

प्रेम गीत २ समीक्षा : लय गुमेको गीत

यात्राको मानव जीवनमा ठूलो महत्व छ। आगोदेखि अन्तरिक्षसम्मका आविष्कार मानिसको यात्राकै परिणाम हुन्। सँगसँगैको यात्राले मानिस कि त उसको प्रशंसक भएर निस्कन्छ कि त दुश्मन। तर, जहाँसम्म फिल्मको सवाल छ, अधिकांश समय केटाकेटी यात्रामा छन् भने दुश्मन हैन  प्रेमी नै भएर फर्कन्छन्। संसारभरीका फिल्मले अपनाउँदै आएको यो सर्वस्वीकार्य सूत्र हो यो। केही वर्ष पहिले सार्वजनिक भएको बलिउड फिल्म 'हाइवे' हेर्दा यात्राको यो दर्शन छर्लंग हुन्छ।  २० वर्षकी युवती आफूलाई नै अपहरण गर्ने अपराधीलाई निर्धक्क मनपराउँछे  र उसैसँग पहाडको काखमा जिन्दगी बिताउने सपना देख्छे। 

स्टार : दुई

लेखन/निर्देशन : रामशरण पाठक

निर्माता : सन्तोष सेन

कलाकार : प्रदिप खड्का, अश्लेषा ठकुरी,सन्तोष सेन, श्रद्धा प्रसाइँ आदि।

यात्राले जोड्ने सम्बन्धको विषयमा बनेको  यस्तै एउटा नेपाली फिल्म बजारमा चलिरहेको छ। 'प्रेमगीत २' शीर्षकको यो फिल्मले नेपालको मुर्मादेखि अहिले म्यानमार भनिने बर्मासम्मको यात्राको कथा समेटेको छ। तर, यो फिल्मको समस्या के छ भने यो लामो यात्रामा न त फिल्मका चरित्रले आफूलाई चिन्ने मौका पाउँछन् न त दर्शकले उनीहरुको यात्रामा आफूलाई अनभूत गर्छन्। त्यसैले यो फिल्म समुन्द्रमा जहाजले बनाएको बाटो जस्तै भएको छ। त्यो बाटो जसको अस्तित्व निमेषभरमै मेटिन्छ।

फिल्म बर्माको मान्डलेमा दोस्रो विश्वयुद्धमा ज्यान गुमाएका सिपाहीको सम्झनामा आयोजित कार्यक्रमसँगै सुरु हुन्छ। सिपाहीको सम्झनामा गरिएको कार्यक्रममा एक पूर्व सिपाहीले गरेको भाषणसँगै कथामा गीत (अश्लेषा ठकुरी)को प्रवेश हुन्छ जो आफ्ना पूर्वजको वीरताका कथा सुनेर हुर्किएकी छे। ऊ भित्र नेपाल हेर्ने हुटहुटी छ र यही हुटहुटीका कारण गीत एक दिन हजुरआमा (भुवन चन्द) लाई पनि थाहै   नदिइ नेपाल आउँछे र प्रेम (प्रदिप खड्का)को घरमा आश्रय लिन्छे। प्रेमको परिवारले प्रेमलाई गीतलाई नेपाल घुमाउने जिम्मेवारी दिन्छ। दुवै यात्रामा निस्कन्छन् र गीतको हजुरआमाको गाउँ मुगुको मुर्मासम्म पुग्छन्। यही क्रममा थाहै नपाइ एक अर्काको नजिक हुन्छन्।  मुर्माबाट फर्किएसँगै गीत बर्मा फर्कन्छे। तर, गीतसँग छुटिएपछि प्रेमलाई थाहा हुन्छ, उसले  गीतलाई मन पराउन थालेको छ। प्रेम गीतलाई यही कुरा भन्न थाईल्यान्ड पुग्छ।  तर, प्रेमले गीतलाई मनको कुरा भन्न नपाउँदै उनीहरूको प्रेममा अंगद ( सन्तोष सेन) पर्खाल  बनेर उभिन्छ। प्रेमले गीतलाई पाउन त्यो पर्खाल कसरी छिचोल्छ? फिल्मको कथा यसैको उत्तरमा लुकेको छ।

रामशरण पाठकले कल्पेको फिल्मको कथा झट्ट सुन्दा चाख लाग्दो छ। नेपाली पर्दामा विरलै देखिने अन्तरदेशीय प्रेमलाई पाठकले कथ्यको रुपमा चुनेका छन् जुन फिल्मको सह्रानीय पक्ष हो। तर, कथाको 'टि्रटमेन्ट'मा प्राण भर्न नसक्दा बर्माका चरित्रको नेपाल प्रेम कोरा राष्ट्रियतामा सीमित भएको छ। गीत, हजुरआमा होस् वा पूर्व सिपाही कसैको पनि राष्ट्रप्रेमले दर्शकको आङ जिरिङ बनाउँदैन जसले गर्दा फिल्म 'ओठे राष्ट्रियता'को वकालत गर्ने सीमामा खुम्चिएको छ।

माथि भनिएजस्तै जब यात्रामा दुई विपरितलिंगी भेट हुन्छन् कि त उनीहरू साथी भएर निस्कन्छन् कि त प्रेमी। यो फिल्ममा  दुवै प्रेमी भएर निस्कन्छन् तर पात्रको त्यो प्रेमको अनभूति दर्शकसम्म पुग्दैन। फिल्मको पहिलो हाफ  यहींनेर चुकेको छ। लेखकसमेत रहेका निर्देशक रामशरण पाठकले दुवैको यात्रा रोचक बनाउन नसक्दा फिल्मको 'सेटअप' कमजोर भएको छ। दुवैका बीच अगाध प्रेम हुने दृश्य संयोजनमा मिहिनेत नपुग्दा गीतलाई मरिहत्ते गरेर थाईल्यान्डबाट फर्काउने प्रेमको प्रयासमा दर्शकको सहानुभूति जाँदैन। यही कारण कथानक र छायांकन उम्दा हुँदाहुँदै पनि 'प्रेमगीत २' औसत फिल्म बन्न पुगेको छ।

फिल्मको पहिलो हाफले दोस्रो हाफमा सेतुको काम गर्छ। राम्रो फिल्ममा पहिलो हाफमा यस्ता केही 'नाोटिश' नहुने चीजहरु छाडिएको हुन्छ जो दोस्रो हाफमा गएर दर्शकलाई 'सरप्राइज' गर्छन्। तर, यो  फिल्मको दोस्रो हाफमा पाठक झन् 'कन्फ्युज' देखिन्छन्। उनी प्रेमकथा भन्न छाडेर हिरोलाई मुआए थाई सिकाउन थाल्छन् र फिल्मलाई प्रेमकथाबाट अचानक स्पोर्ट विधामा रुपान्तरण गरिदिन्छन्। फिल्मको अन्त्यमा अंगदलाई 'हिरो' बनाउने चक्करमा उनले चुटकीमा उसको चरित्र चित्रण परिवर्तन गरिदिएका छन् जसले फिल्मको अन्त्य थप कमजोर बनाएको छ। केही अघिसम्म आफूले प्रेम गरेको केटीलाई धोका दिएको भन्दै केटालाई रगताम्मे हुने गरी कुट्ने क्लाइमेक्समा अंगदमा आएको  परिवर्तन फिल्मको कथाको माग अनुरुप छैन। क्लाइमेक्समा अंगदको चरित्रमा निर्माता सन्तोष सेन हाबी  भएको महसुस हुन्छ।

पहिलाो फिल्म 'इस्केप' असफल भए पनि दोस्रो फिल्म 'प्रेमगीत' मा प्रदिप खड्का सरप्राइज प्याकेजको रुपमा उदाएका थिए। यही फिल्मसँगै प्रदिप स्टारडमको दौडमा सामेल भएका थिए तर यो फिल्ममा प्रदिपले स्टारडमको मागलाई मापन गर्न सकेका छैनन्। उनको अभिनय 'प्रेमगीत'भन्दा माथि उठ्न सकेको छैन। उनले स्टारको दौडमा आफूलाई कायम राख्ने हो भने थप मेहनत गर्नुपर्ने देखिन्छ। यही फिल्मबाट डेब्यु गरेकी अश्लेषा शाही ठकुरीले पनि दर्शकलाई निराश पार्छिन्। उनको अभिनयसँगै संवादमा  पनि स्वभाविकताको कमी छ। फिल्मको बाँकी कास्टले पनि अभिनयको तिर्खा मेटाउँदैनन्।

प्रस्तुतिको कमजोरीका बावजुद पनि पुरुषोत्तम प्रधानको छायांकन फिल्मको सबल पक्ष हो। खासगरी थाईल्यान्ड र यात्राका दृश्य प्रधानले सुन्दर ढंगले खिचेका छन्। तर, मुगुको रारा ताललाई भने प्रधानले अपेक्षा अनुसार पस्कन सकेका छैनन्। निर्माताको रुपमा सन्तोष सेनले निर्देशकलाई चाहिँदो लोकेसन दिएका छन्। बर्मादेखि मुगुसम्म फिल्म खिच्ने हिम्मतका लागि सेन तारिफका हकदार छन्। तर, लोकेसनमा झैं पटकथामा पनि सेनले मेहनत गरेको भए, 'प्रेमगीत २' अर्को एउटा सम्झन लायक प्रेमकथा बन्थ्यो।  त्यसो हुन नसक्दा 'प्रेमगीत २' लय गुमाएको औसत गीतमा सीमित भएको छ जसको स्थायी अर्थात् कथा त ठिक छ तर  अन्तरा कमजोर।

प्रकाशित: १७ श्रावण २०७४ ०६:१५ मंगलबार

प्रेम गीत समीक्षा लय गुमेको गीत