गत साता स्कटल्यान्डको राजधानी एडिनबर्गमा भएको अन्तर्राष्ट्रिय पुस्तक महोत्सव एकाएक चर्चामा आयो। कारण थियो, जलवायु अभियन्ता ग्रेटा थनबर्गले मुख्य वक्ताका बन्न अस्वीकार गर्नु।
त्यसको कारण खुलाउँदै ग्रेटाले कार्यक्रमको मुख्य प्रायोजक कम्पनी बेली गिफोर्डले फोसिल फ्युल (पेट्रोल तथा डिजेल)मा ठूलो लगानी गरेको भन्दै आफू सफा ऊर्जाको अभियन्ता भएर त्यहाँ जानु नैतिकताले नदिने ग्रेटाले बताइन्।
ग्रेटा गइनन्, कुरा राफसाफ भइहाल्यो। तर, कार्यक्रम चलिरहेकै बेला लेखकहरू जेडी स्मिथ र गेरी योङहरूले अर्को वर्षदेखि यस्ता फोहोर ऊर्जावालाहरूसँग सङ्गत नगर्ने बताए।
गत शनिबार साँझ जलवायु अभियन्ता माइकेला लोचले कार्यक्रम भइरहेका बेला छलफल कार्यक्रम नै अवरूद्ध पारिदिइन्। उनले प्लेकार्ड बोकेर बेली गिफोर्डजस्ता नाफाखोरहरूको पैसामा यहाँ मस्ती गर्न आउन लेखकहरूलाई लाज लाग्दैन भनी प्रश्न गर्दा लोचको प्रश्नमा समर्थन गर्दै ५० भन्दा बढी लेखकले उनलाई साथ दिए भने केहीले कार्यक्रम बहिष्कार गरे।
यता कम्पनीले भने आफ्नो लगानी फोसिल फ्युलमा जम्मा दुई प्रतिशत रहेको र लगानीको ठूलो भाग नवीकरणीय तथा सफा ऊर्जामा रहेको प्रस्टीकरण दिएको छ।
तर, लेखकहरू यत्तिमै सन्तुष्ट भने भएनन्। ५० जना लेखकहरूले महोत्सव आयोजकहरूलाई फोहोर ऊर्जाबाट नाफा कमाउने प्रायोजक बदल्न दबाब दिँदै खुला पत्र लेखे।
त्यसको ठीकअघि एउटा छलफल कार्यक्रममा लोचले प्रश्न सोध्दासोध्दै कार्यक्रम रोक्न दबाब दिएकी थिइन्। उनले प्रश्नोत्तरमा भनेकी थिइन्, ‘जसरी तिमीहरू पुस्तक जलाउनुलाई अपराध ठान्छौ, पृथ्वी जलाउनुलाई पनि अपराध ठान्न ढिला भएन र?’ उनको जोड नै ‘प्रायोजनबाट बेली गिफोर्ड कम्पनीलाई च्यूत गर्नुपर्छ’ भन्ने थियो। लोच भन्छिन्, ‘नैतिकवान्ले नै प्रश्न सोध्न सक्छन्। त्यसैले प्रश्न गर्न छाड्नु हुन्न।’
स्काई न्युजबाट
प्रकाशित: ३२ श्रावण २०८० ०४:२८ बिहीबार