कला

म्याडोनाको निजी सामान लिलामीमा रोक

लसएञ्जल्स- गोपनीयताको हनन भएको जनाउँदै अमेरिकी अदालतले अमेरिकी पपस्टार म्याडोनालाई निजी सामानको लिलामीमा रोक लगाएको छ। न्यूर्योकको जस्टिस गेराल्ड लेबोविट्स 'गाट्टा हैव रक एन्ड रोल' नामक लिलामीघरमा राखिएको निजी सामानको लिलामीमा अदालतले प्रतिबन्ध लगाएकोे हो। म्याडोनाले  लिलामी रोक्न गरेका आग्रहमा अदालतले यस्ताो आदेश दिएको हो। आगामी सेप्टेम्बर ६ मा हुने सुनुवाइपछि प्रतिबन्ध फुकुवा हुने या निरन्तर लागि रहने भन्ने टुंगो लाग्नेछ।

लिलामी घरमा म्याडोनाको भित्रीवस्त्र, हेयरब्रश, चेकबुक तस्बिहरू र दिवंगत र्‍यापर टुपाक शकुरसँग उनको ब्रेकअपका चिठ्ठी बिक्रीमा राखिएका छन्। म्याडोनासँग ब्रेकअप भएपछि टुपाकले लेखेको पत्रको मूल्य ४ लाख डलरमा बिक्री हुने अनुमान लगाइएको थियो।

पत्रमा १९९५ जनवरी १५ को मिति छ। टुपाक यौन उत्पीडनको आरोपमा जेल सजाय भोगिरहेका बेला यो पत्र लेखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। पत्र लेखिएको १८ महिनापछि टुपाकको गोली हानी हत्या गरिएको थियो। यो बेला टुपाक र म्याडोनाको करियर सफलताको शिखरमा थियो।

दुई वर्ष अघि म्याडोनाले आफू र टुपाक प्रेम सम्बन्धमा रहेको स्वीकारेकी थिइन्। तर, उनीहरू कति वर्षसम्म सँगै रहे त्यो उनले खुलाएकी छैनन्। 'कालो व्यक्तिसँग देखिँदा तिम्रो करियरमा कुनै खतरा आउँदैन। यदि यसमा केही भयो भने त्यो धेरै रोमाञ्चक हुनेछ,' २३ वर्षे टुपाकले पत्रमा लेखेका थिए। अदालतमा दिएको दस्तावेजमा म्याडोनाले आफ्नो पूर्व प्रेमीको पत्र र र धेरै कुरा आफूसँग नभएको सञ्चारमाध्यमबाट थाहा पाएको बताएकी छन्। म्याडोनाका सामानहरू न्युयोर्क आर्ट डिलर डार्लेने लुट्जको तर्फबाट लिलामीघरको बिक्री कक्षमा राखिएका थिए।

'यस्तो लाग्छ कि लुट्जले मेरो जानकारी या अनुमतिबिना मेरो निजी सामान निकालेका थिए। उनले विश्वासघात गरेका छन्,' म्याडोनाले अदालतसँग भनेकी छन्।

लिलामीघर र लुट्जको प्रवक्ताले भने म्याडोना र उनको कानूनी समूहले हुँदै नभएको आरोप लगाएर बिनाकरण लिलामीलाई रोकेको दाबी गरेका छन्।

म्याडोनाले आफ्नो हेयरब्रशको लिलामीको पनि कडा विरोध गरेकी छन्। 'मलाई थाहा छ कि मेरो कपालको एक टुक्राबाट पनि मेरो डिएनए लिन सकिन्छ। यस्तै हो भने एकदिन मेरो डिएनए पनि सार्वजनिक रूपमै बिक्रीमा नराखिएला भन्न सकिन्न,' म्याडोनाले भनेकी छन्।

प्रकाशित: ६ श्रावण २०७४ ०७:१८ शुक्रबार

म्याडोनाको निजी सामान लिलामीमा रोक