कला

पर्दामा 'लोक'को धाक

काठमाडौं- तीन  दिनअघि मात्र फिल्म 'दुई रुपैयाँ'को 'कुटुमा कुटु' गीतले एक महिनाभित्रै एक करोड दर्शकले हेरिदिएको खुशी केट काटेरै मनायो।

फिल्म 'वडा नं ६' मा समावेश 'सुर्के थैली' बोलको गीत दुई करोड दर्शकले हेरिसकेका छन्। चाडपर्वमा मात्र हैन, अरु बेला पनि यो गीत सुन्ने स्रोताको कमी छैन। 'वडा नं ६' कै समूहले बनाएको फिल्म 'छक्का पञ्जा'मा समावेश 'पूर्व पश्चिम रेल' १ करोड ६७ लाख दर्शकले हेरिसकेका छन्।

अघिल्लो हप्तामात्र प्रदर्शनमा आएको फिल्म 'म यस्तो गीत'मा समावेश 'किन आजकल तिम्रो मन मैलो भो' गीत दर्शक हलमा तान्ने मुख्य हतियार बन्यो।

माथिका सबै गीतको समानता के हो भने सबै गीत लोकलयमा आधारित हुन्। पछिल्ला केही वर्ष ओझलमा परेका लोकगीतले पछिल्लो समय पर्दामा तहल्का पिटेको छ। लोकगीत राखेकै कारण फिल्मको 'हाइप' बढिरहेको देखिएपछि नयाँ निर्माता/निर्देशक आजभोलि फिल्ममा एउटा न एउटा लोकगीत राख्नै पर्ने दबाबमा देखिन थालेका छन्। यसले संगीतकारमा पनि सिर्जनाको चटारो बढाएको छ।

लौकशैलीका गीतबाट सर्वाधिक सफलता पाएका राजनराज शिवाकोटी 'सुर्के थैली'को सफलतासँगै त्यस्तै शैलीका गीत खोज्दै आउने निर्माता/निर्देशकको चाप रहेको स्वीकार्छन्।

'विगत दुई वर्षयता हरेक दिन कोही न कोही लोक शैलीको गीत चाहियो भनेर आउनु भएकै छ। यो शैलीका गीत फिल्ममा पहिले छँदै थिएनन् भन्ने त होइन तर पछिल्लो समय स्रोता/दर्शकको नजरमा यो शैलीका गीत ज्यादा गढेका छन्,' शिवाकोटीले भने।

शिवाकोटीकै भावनासँग सहमत छन् संगीतकार अर्जुन पोखरेल। लोकशैलीका गीतबाटै आफ्नो पहिचान कायम गरेका पोखरेलको भनाइ छ, 'शम्भुजित सरका धेरै हिट गीत लोक शैलीकै हुन्। सुरेश दाइ (सुरेश अधिकारी) र (महेश दाइ (महेश खड्का) ले संगीत दिएको समयमा तुलनात्मक

रूपमा मेलोडी र आधुनिक शैलीका गीतको वर्चस्व थियो तर अहिले आएर फेरि फिल्म गीतले लोकशैलीको लय समातेका छन्।' संगीतकार पोखरेल लोकगीत एल्बममा बिरानो हुँदै गएपछि फिल्ममा प्रयोग हुन थालेको तर्क गर्छन्। 'एल्बमको समयमा लोकगीत सर्वाधिक बिक्री हुन्थे। तर, एल्बमको बिक्री घटेसँगै लोकगीत गाउने गायकमा कमी भयो। फिल्ममा सोही शैलीका गीत फरक तरिकाले आउँदा स्रोता वा दर्शकलाई नयाँ लागेको हो,' उनले बताए।

कुनै समय थियो जब नेपाली फिल्म उद्योगमा हिन्दीशैलीका गीतको वर्चस्व थियो। फिल्म निर्माणको सुरुवाती दिनमा शब्द त नेपाली हुन्थे तर संगीतको शैली मुम्बइया। तर, संगीतमा शम्भुजित बास्कोटाको आगमनसँगै  नेपाली फिल्मको गीत बिस्तारै मुम्बइया फ्लेबरबाट मुक्त भए। यही समयमा शम्भुजितले 'चट्ट रुमाल क्या मालुम', 'अच्चा लेकिन लन्डनको चिसोले समाउला', 'रातो टीका निधारमा' 'गैह्री खेतको शिरै हान्यो' जस्ता गीत बनाएपछि नेपाली फिल्म संगीतले हिन्दी गीतको प्रभाव कम हुँदै गएको विश्वास गरिन्छ। शम्भुजितले बनाएको त्यही जगमा बसेर आजका संगीतकारले नेपाली फिल्म संगीतलाई नयाँ उचाइमा पुर्‍याएका छन्। हिजोका दिनमा कुनै नेपाली फिल्मको गीत निस्कँदा कुन हिन्दी फिल्मबाट उडाइयो भनेर टिप्पणीगर्नेहरू आजभोलि कुनै पुरानो नेपाली नेपाली गीतसँगै मिल्यो कि भनेर खोज्ने अवस्थामा पुगेका छन्।

संगीतकार शम्भुजित बास्कोटा अहिलेकोे पुस्ताका संगीतकारले आफ्नै पुस्ताका गीत दोहोर्‍याइरहेका दाबी गर्छन्। 'अहिलेको पुस्ताले नराम्रो गरिरहेको छ भन्ने होइन। बीचमा बरु संगीतको लहर बरालिएको थियो। अहिले ठिक ठाउँमा आएको जस्तो छ,' उनले भने।

तर, एकै शैलीको पछि लाग्नु निर्माताका लागि हानिकारक हुने उनको बुझाइ छ। 'अहिले निर्माताले  एउटा गीतमा मात्र ध्यान दिएको देख्छु तर त्यो राम्रो होइन। सबैले लोकशैलीका गीत मात्र निकाल्न थाल्ने हो भने एक दुई वर्षमै दर्शक/स्रोतालाई मोनोटोनस हुन्छ। त्यसैले फिल्ममा सबैखाले गीतलाई स्थान दिएर बराबर प्रचार गर्नु सबैको हितमा हुन्छ,' उनले सुझाए।

संगीतकार पोखरेल गीतको एरेन्जमेन्टमा आएको भिन्नताले  पनि लोकगीतमा पनि नयाँ स्वाद थपिएको तर्क गरे। 'पहिले लय लोकगीत हुन्थ्यो तर एरेन्जमेन्टमा फ्युजन गरिएको हुन्थ्यो, लोकबाजाको प्रयोग कम हुन्थ्यो। तर, पछिल्लो समय बाजा र शब्दमा पनि त्यो मर्म समाउने गरिएको छ। त्यही कारण पनि अहिलेका लोकगीत जरातिर फर्किएका छन्,' पोखरेलले भने।

नेपाली फिल्ममा 'टिपिकल' लोकलयमा आधारित गीतको दोस्रो पारी सुरु गर्ने गीतको श्रेय 'गोर्खा पल्टन' लाई दिनु पर्ने धारणा छ, निर्देशक विकास आचार्यको। उनले 'जाउँला रैलेमा सरर गोर्खा पल्टन'पछि फिल्ममा लोकगीतलाई रुचाइन थालेको बताए।  'नाइँ नभन्नू ल ३'मा समावेश 'कम्मरमाथि पटुकी' शीर्ष गीतलाई पछि पारेर अगाडि आएपछि स्रोताको रुचि लोकगीतमा रहेछ भन्ने लाग्यो। त्यसैले 'नाइँ नभन्नू ल ४' मा हामीले प्रचारका लागि पहिलो गीत नै लोकगीत फालेका थियौं,' आचार्यले भने। उनले बन्ने सुरमा रहेको ५ औं भागका लागि पनि लोकलयमा आधारित तयार रहेको बताए।

निर्देशक आचार्य डायस्पोरा दर्शकको चाखका कारण पनि पछिल्लो समय लोकलयमा आधारित गीतले फिल्ममा स्थान पाएको बताउँछन्।

'देशको तिर्सना यस्तै गीतले मेटाउँछन्। सांस्कृतिक कार्यक्रमदेखि कन्सर्टसम्ममा पनि यस्ता गीतमा दर्शकको रुझान देखिन्छ। फिल्ममा राख्दा विदेशमा सजिलै फिल्म बिक्री हुने लोभमा निर्माता देखिन्छन्,' आचार्यले भने। तर, उनले पनि शम्भुजित बास्कोटाले जस्तै सधैं एउटै कुराको पछि नलाग्न पनि निर्मातालाई सचेत गराए।

'चिनी पनि बढी खायो भने तीतो हुन्छ,' उनले भने, 'अहिलेसम्म ठिकै छ तर हरेकले यस्तै गीत राख्न थाल्ने हो भने चाँडै यसको चार्म पनि हराउँछ।'

प्रकाशित: ६ श्रावण २०७४ ०७:१० शुक्रबार

पर्दामा लोकको धाक