कला

जान मलाई

कविता

जान मलाई जान मलाई, दुःख हटाऊ तृप्त बन,

तिमी अविकारी स्वरसविहारी, घट घटचारी आत्माराम।

जान मलाई जान मलाई...

ब्रह्मादेखिन् कीटपतङ्ग, सब हुन् तिम्रा आफ्नै रूप,

किन हो यिनमा राग र द्वेष, आत्मा तिमी हौ सर्वस्वरूप।

जान मलाई जान मलाई...

तिमी नै सब हौ तिम्रै सब हुन्, छैन यहाँ कोही छैन कसैको,

सर्वेश्वर भई किन हो जगमा, आफै बन्छौ हरि कंगाल।

जान मलाई जान मलाई...

अर्कोलाई देख्न र सुन्न, छोड तिमी बन सर्वस्वरूप,

पूर्ण हुने छौ निष्काम हुने छौ, तिमी बन्ने छौ अतिसम्पन्न।

जान मलाई जान मलाई...

वेद तिमी हौ उज्ज्वलरूप, रात्रि तिमी हौ अन्धस्वरूप,

तिमी नै पावक तिमी नै पानी, तिमी नै बालक तिमी नै प्राणी।

जान मलाई जान मलाई...

प्रकृति तिमी हौ पुरूष तिमी हौ, तिमी हौ माया ब्रह्म तिमी हौ,

तिमी नै बुद्धि तिमी नै जीव, तिमी नै द्रष्टा तिमी नै दृश्य।

जान मलाई जान मलाई...

अब भन कुन हो ब्रह्म र माया, दृश्य र द्रष्टा एक र नाना,

कुन हो ज्ञानी कुन अज्ञानी, कुन हो पापी कुन धर्मात्मा।

जान मलाई जान मलाई...

जब तिमीदेखि अरू कोही छैन, कसरी भन्ने सत्य र मिथ्या,

राग हटाउन भन्दछ वेद, ब्रह्म हो सत्य अरू हो मिथ्या।

जान मलाई जान मलाई... (मात्रिक छन्द)

(स्वर्गीय अम्बिकाप्रसाद अधिकारी प्राध्यापक, समालोचक एवं पूर्वबडागुरु हुन्।)

प्रकाशित: २७ श्रावण २०८० ०४:३७ शनिबार

अक्षर