कला

रत्नलक्ष्मीका दुई कृतिको परिचर्चा

साहित्यिक पत्रकार संघले रत्नलक्ष्मी श्रेष्ठका लेखसंग्रह चिन्ता र चासो तथा कवितासंग्रह स्वाभिमानको तस्वीरको परिचर्चा गरेको छ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वक्ताहरूले रत्नलक्ष्मीका रचनाहरूमा देश र समाजप्रतिका चिन्ता,चासोका साथै चिन्तन र विश्लेषण पनि पाइने बताए।

प्रमुख अतिथि इतिहासविद् प्राडा सुरेन्द्र केसीले हामीले गीताका अभिव्यक्त विचारहरू आफ्नो आवश्यकता अनुसार मात्र प्रयोग गर्ने गरेकोमा असन्तुष्टि व्यक्त गर्दै समग्र गीताको गम्भीर अध्ययन गर्नुपर्नेमा जोड दिए। उनले श्रेष्ठका लेखनमा समाज र देशमा विद्यमान विकृतिविरूद्ध कडा प्रहार पाइने बताए।

वरिष्ठ समालोचक प्रमोद प्रधानले श्रेष्ठको चिन्ता र चासोमा समसामयिक विषयप्रतिको गहिरो चिन्तन र विवेचना पाइने बताउँदै उनी लेखनमा निकै इमानदार भएको बताए।

त्यस्तै अर्को समालोचक डा. गोविन्दमानसिंह कार्कीले श्रेष्ठका कवितामा विषयगत विविधता तथा समय र समाजका सजीव चित्र कोरिएको बताए।

सर्जक डा. गीता शिवाकोटी खरेलले श्रेष्ठको संघर्ष, शिक्षाप्रतिको असीम चाहना र समाजसेवाबारे प्रकाश पार्दै उनको योगदानको प्रशंसा गरे।

कार्यक्रममा समालोचक डा. शान्तिमाया गिरी र साहित्यकार मन्जिला अनिलले पनि स्रष्टाको कृतिमा पाइने विशेषताबारे चर्चा गरेका थिए।

लेखक रत्नलक्ष्मी श्रेष्ठले आफू कवि लेखक नभए पनि देश र समाजमा देखिएका विकृति एवं विसंगतिलाई हटाउन हृदयबाटै अभिप्रेरित भएर कलम समाएको बताए।

कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, पुस्तकका सम्पादक डा. मधुसूदन लामिछाने र राजेश श्रेष्ठले पनि लेखकलाई शुभकामना दिएका थिए।

साहित्यकार श्रीबाबु कार्कीले चलाएको कार्यक्रममा संघका सचिव नीता श्रेष्ठले स्वागत गरेकी थिइन्। कवि मुरारि सिग्देलले ‘स्वाभिमानको तस्वीर’ को एकवटा कविता वाचन गरेका थिए।  

कार्यक्रममा लेखक रत्नलक्ष्मी श्रेष्ठलाई माला, सापस स्वर्ण महोत्सव मेडल र खादा लगाएर सम्मान पनि गरिएको थियो।

कार्यक्रममा साहित्यकारहरू-किशोर पहाडी, राजेन्द्र केसी, गीता मैनाली, कमला रिसाल, डा. दामोदर पुडासैनी, हरि थापा, मीठु थापा, शंकर भारती, डा. बुनु दाहाल, सरस्वती गौतम लगायतको उपस्थित रहेको थियो।

प्रकाशित: २४ श्रावण २०८० ०५:४५ बुधबार

अक्षर