कला

कलाकारलाई कसरी हौस्याउने?

जर्जी गिएर

स्कटल्यान्डको निकै प्रख्यात नाटक महोत्सव एडिनबर्ग फ्रिन्ज फेस्टिबलमा जर्जी गिएरले गत साता एकल प्रस्तुत दिनु थियो। विश्वविख्यात महोत्सव भए पनि गिएरको ‘सनसेट’ नामक एकल प्रदर्शनीयुक्त नाटकमा एकजना मात्र दर्शक आए। उनले तिनै एक्ला दर्शकका लागि आफ्नो प्रस्तुति दिइन्। त्यसपछि ट्विटर अर्थात ‘एक्स’ मा लेखिन्,‘एक्ला दर्शकका लागि आज मैले अभिनय गरी देखाएँ। राम्रै भयो, कम्तीमा एकजना नै भए पनि दर्शक त पाएँ।’

भिडका अगाडि होस् या एक्लो दर्शकका लागि, कलाकार भएपछि प्रदर्शन त गर्नु नै पर्छ। थोरै दर्शक हुँदा भने कलाकारको मन खल्लो हुन्छ।

हास्यकलाकार दारा ओ ब्रायनले पनि आफ्नो संघर्षका दिनमा यस्तै अवस्था भोगेका थिए। पछि त्यस्ता संघर्ष उनलाई ठूलो समूहलाई हँसाउन निकै काम लाग्यो। कतिपय अवस्थामा दर्शक कम हुँदा त दाराले ती दर्शकलाई कफीसमेत खुवाइदिन्थे। क्रमशः उनका दर्शक बढ्दै गए।

अर्का कलाकार जेसन म्यानफोर्डले पनि यस्तै भोगेका थिए। उनले ट्विटरमा हौस्याउँदै भनेका छन्- ‘कम्तीमा तपाईँले फेस्टिबलमा ठाउँ पाउनुभयो। कम्तीमा एउटा दर्शक भए पनि पाउनुभयो। अहिलेलाई दुःख लाग्न सक्छ तर पछि यो एउटा यादगार क्षण बन्न पुग्छ।’

जेसनले पनि सन् २००३–४ ताका एडिनवर्गमै एकल प्रस्तुतिका बेला यस्तै दुर्दशा भोगेका थिए। उनले प्रदर्शन गर्ने बेला साताभरि घनघोर पानी प¥यो। कहिलेकाहीँ मञ्चनका बेला दर्शक नै नआएर यत्तिकै खाली बस्नुपर्‍यो। पछि भने एकदुई गर्दै मान्छे थपिँदै जान थाले। दर्शक नहुँदाका बेला उनलाई म केका लागि र कसका लागि नाटक गरिरहेको छु भन्ने लाग्थ्यो।

जेसनले जर्जीलाई हौस्याउँदै भनेका छन्-‘भोलि यति सुखद दिन लिएर आउँदैछ कि तपाईँका लागि यो पीडा सपना जस्तो लाग्नेछ।’

स्कटल्यान्डका सांसद ड्यानियल फिन्केलस्टेनले सुरुवाती संघर्ष सम्झँदै जर्जीलाई लेखेका छन्-‘एक दिन म नर्विच भन्ने ठाउँमा भाषणका लागि चार घण्टा लगाएर पुगेको थिएँ जहाँ मलाई सुन्न जम्मा दुई जना मान्छे आएका थिए। तीमध्ये एकजना त मलाई निम्त्याउने थिए।’

हौस्याउने अर्का व्यक्तिचाहिँ वैज्ञानिक तथा टेलिभिजन कार्यक्रम सञ्चालक मार्क थम्पसन थिए। उनले जवाफ दिँदै भनेका छन्-‘मैले कैयौँ सुन्दर प्रस्तुति दर्शकबिनै गरिएको देखेको छु। यसको अर्थ प्रस्तुति झुर थियो भन्ने होइन। दर्शक नआउनुका धेरै कारण हुन सक्छन्, तीमध्ये एउटाचाहिँ राम्रो विज्ञापनको अभाव पनि हुनसक्छ तर यो दिनले तपाईँलाई भविष्यमा निकै सुन्दर तरिकाले सघाउनेछ।’

प्रकाशित: २१ श्रावण २०८० ००:५५ आइतबार

अक्षर