कला

तीजका गीतः खर्च बढी, आम्दानी शून्य

तीज गीतको एक भिडियामा अभिनय गर्दै मोेडल दीपाशा बीसी । तस्बिरः नागरिक

काठमाडौं – हिन्दू नारीले मनाउने चाड तीज आउन झन्डै दुई महिना बाँकी छ । तर तीजका गीत गाउने गायकगायिकालाई भने अहिलेदेखि नै तीज लागिसकेको छ । उनीहरू तीज लक्षित गरेर गीत रेकर्डिङसँगै म्युजिक भिडियो बनाउन व्यस्त छन् । कुनै समय गीति क्यासेट निकालेर तीज गीत सुनाउने गायकगायिका अहिले म्युजिक भिडियो बनाउँदै छन् । एउटै म्युजिक भिडियोलाई लाखबढी खर्च लाग्ने गर्छ ।

वर्षेनी आउने तीजलाई लक्षित गरेर विभिन्न गीत निकालेर चर्चामा आउने गायिका कोमल वलीले तीज लक्षित चार गीत बनाएकी छन् । ‘पोइला जान पाँम’, ‘नाँचौं डिस्कोमा तिज’, ‘शिवजी’ जस्ता तीज गीतका कारण चर्चामा आएकी कोमलले केही समयअघि ‘म त नाँच्दिन क्यारे, मेरो प्यारे मायाले नहेरे’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिसकेकी छन् । यो गीतमा उनले गायिका प्रज्ञा शरदसँग सहकार्य गरेकी छन् ।

यसअघि शिव पोई चाहियो भन्ने कोमलले यसपटक ‘ओइ शिव ओइ, मलाई चाहिन्न पोइ’ भनेकी छिन् । ‘अहिले म राजनीतिमा लागें । त्यसैले अब पोई चाहिन्न भनेर शिवजीलाई च्यालेन्ज दिएकी हुँ,’ राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य कोमल भन्छिन्, ‘गीतको भिडियो त बनाउनै प¥यो नि ।’ भिडियो बनाउन झन्डै दुई लाख खर्च लागेको उनले बताइन् । ‘डेढ लाख रुपैयाँ जति त डेकोरेशनमै सकियो,’ उनले भनिन् । उनले अरूको लगानीमा बनेका केही तीज गीतमा पनि स्वर दिएकी छिन् ।

उनले यसपटकको तीजको लागि ५ वटा गीतको तयारी गरिरहेकी छन् । ‘भिडियोले आम्दानी हुँदैन भन्ने थाहा छ । गीत, संगीत नशा हो । तीज आउन लाग्यो भनेपछि भिडियो बनाउन मन लागिहाल्छ,’ कोमलले भनिन्, ‘भिडियो आत्मसन्तुष्टिको लागि मात्र बनाउने हो ।’

कोमलले अहिले युट्युबमा आफ्नै च्यानल बनाएकी छिन् । ‘युट्युबबाट खासै आम्दानी नहुने रहेछ । कसैले फाइदा लिएको जस्तो पनि लाग्दैन,’ उनको गुनासो छ, ‘युट्युबमा राख्दैमा सबैले हेर्ने होइनन् । गाउँका स्रोताको लागि त टेलिभिजनमा आउने भिडियो नै हो ।’ भिडियो बनाउँदा बाहेक टेलिभिजनमा गीतको विज्ञापन गर्नुपर्दा थप खर्च हुने उनी बताउँछिन् ।

म्युजिक भिडियोमा लागेको खर्च उठाउन तीज लक्षित स्टेज कार्यक्रम गर्नुपर्ने उनले बताइन् । ‘यसपटक दुई चरणको चुनाव परेकाले स्टेज कार्यक्रममा मान्छे खासै आउँदैनन् । विदेशमा प्रति शो एकलाखसम्म दिन्छन्,’ उनले भनिन्, ‘देशमै पनि पच्चिसदेखि पैंतिस हजारसम्म दिन्छन् ।’

गायिका राधिका हमाल पनि तीज गीत लिएर आउँदैछिन् । यो वर्ष चुनावका कारण अलिक ढिला भएको उनले बताइन् । ‘लाहुरबाट लाहुरे आयो बोकाएर भारी’ बोलको तीज गीत गाएकी हमालले उक्त गीतका म्युजिक भिडियो भने बनाइसकेकी छैनन् । ‘यसपटक प्रायोजकको खोजीमा छु । आफ्नो खर्च विदेशको कार्यक्रमबाट उठाउने योजना छ,’ राधिका भन्छिन्, ‘यस्तै छ चलन के गर्ने ? एक ठाउँबाट नआए अर्को ठाउँबाट उठाउनु पर्छ ।’

गायिका सिन्धु मल्लले तीज गीत नगाएको झन्डै ४ वर्ष भयो । तीज गीतबाटै चर्चामा आएकी सिन्धुले घरायसी र आर्थिक कारणले नयाँ गीत र म्युजिक भिडियो बनाउन नपाएको बताइन् । ‘एउटा गीत रेकर्डिङ गर्नेदेखि म्युजिक भिडियो बनाउँदासम्म ४ लाख खर्च हुुन्छ,’ उनले भनिन्, ‘युट्युबबाट अलि–अलि त उठ्ला तर सबै उठ्दैन ।’

सिन्धुले चार वर्षपछि ‘तीजैमा नाचौं छमछमी’ गीतको म्युजिक भिडियो बनाएकी छन् । सुव्रत आचार्यले निर्देशन गरेको भिडियोमा वर्षा राउत र वर्षा सिवाकोटीले फिचरिङ गरेका छन् । ‘गीत गाएपछि भिडियो निकाल्न मन लागिहाल्छ,’ उनले सुनाइन्, ‘गाएको कुरा टेलिभिजनमार्फत स्रोतालाई देखाउन परिहाल्यो ।’ 

गायिका गायत्री थापा पनि तीजको गीत गाएपछि म्युजिक भिडियो बनाउनु नशाजस्तै भएको बताउँछिन् । ‘खर्च मात्र हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि निकाल्नै पर्ने जस्तो हुन्छ,’ उनी भन्छिन्, ‘गाउँघरमा गीत बजाएर नाँच्ने चलन बढ्दै गएकाले पनि गीतको रेकर्ड भएर मात्र हुँदैन, भिडियो पनि हुनैपर्ने जस्तो भएको छ ।’  

उनले ‘एलपीजी’ बोलको तीज गीतको म्युजिक भिडियो बनाएकी छन् । भिडियोे बनाउन दुई लाख खर्च भएको उनले जनाइन् । ‘आम्दानी हुँदै नभए पनि लगानी त गर्नैपर्‍यो,’ उनी भन्छिन्, ‘कलाकारका रूपमा चिन्छन् । त्यही गीत हेरेर कार्यक्रममा बोलाउँछन् त्यही नै हो फाइदा ।’

एकैदिनमा सकिने गरी सामान्यस्तरको म्युजिक भिडियो बनाउन पनि एकलाख लाग्ने उनको अनुभव छ । केही वर्ष अघिसम्म सिआरबिटी र पिआरबिटीबाट केही रकम उठ्ने गरे पनि अचेल त्यसबाट पनि खासै पैसा नउठ्ने उनले सुनाइन्।

युट्युबमा भिडियो अपलोड गर्ने बुढासुब्बा कम्पनीका सञ्चालक नवराज गिरीले अहिलेको समयमा श्रोता दर्शकको मुखमा झुन्डिने खालका गीत मात्र युट्युबमा चल्ने गरेको बताउँछन् । ‘युट्युबबाट कमाइ हुन्छ भनेर गीतको भिडियो बनाउनु बेकार हो,’ उनले भने, ‘नेपालमा हेरिएको युट्युबबाट पैसा आउँदैन भन्ने धेरैलाई थाहै छैन ।’ उनका अनुसार गुगलसँग जोडिएको विदेशमा युट्युब हेरिए मात्र अपलोडको पैसा आउँछ । नेपालका उत्पादनको विज्ञापन गुगलमा सेयर हुने अवस्था नआएसम्म नेपालबाट कमाइ हुँदैन ।

उनका अनुसार विदेशका १ हजार दर्शकले हेरे प्रतिव्यक्ति १ रुपैयाँ पचास पैसा आउँछ । ‘पौने दुई लाख उठ्न कम्तीमा पनि साठी–सत्तरी लाख भ्युअर पुग्नुपर्छ,’ गिरीले भने, ‘त्यो पनि भारत, अमेरिका, अरब देशका श्रोताले हेरे मात्र हो ।’

 

प्रकाशित: १८ असार २०७४ ०८:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App