कला

द्वन्द्व सम्झाउने त्रासद कथा

कथाले युद्धको परिवेश, त्यसले पारेको क्षतविक्षत समाजको यथार्थलाई देखाएका छन्। तराई–मधेसका निम्न वर्गका जनतामा विकृत प्रथाजन्य कुराहरूले निम्त्याएका दुर्दशा साथै तिनका जिन्दगीमा निम्तिएका दुःखान्तक परिस्थितिहरू कथामा आएका छन्।

‘बेनामे जर्नेल’डा. राजुबाबु श्रेष्ठद्वारा रचित द्वन्द्व कथासङ्ग्रह हो। द्वन्द्वलाई सम्झाउने विषयसन्दर्भका १५ कथा सङ्ग्रहमा समावेश गरिएका छन्। कथाकार श्रेष्ठ कथालेखनमा लामो समयदेखि क्रियाशील स्रष्टा हुन्। उनका चारवटा कथा संग्रह र अन्य विधाका चार गरी आठ कृति प्रकाशित भएका छन्।

‘बेनामे जर्नेल’कथासङ्ग्रहमा समाजका विभिन्न पात्र र तिनका फरक फरक परिवेशलाई समेटेका कथाहरू रहेका छन्। हाम्रो देशमा विगतमा झन्डै एक दशकजति चलेको सशस्त्र द्वन्द्वकालीन समयका दुरुस्त परिवेशदेखि विभिन्न देशका सशस्त्र द्वन्द्व विशेषतः क्रोएसिया र सर्बियामा कथाकार पुग्दा कथाका पात्रसँगको भेट सम्पर्कलाई सजीव ढंगले उतार्न कथाकार सफल बनेका छन्। द्वन्द्वको पृष्ठभूमिले उत्पादन गरेका कथा, आफन्त गुमाउँदाका पीडा, प्रेममा पाएका धोका, युद्धग्रस्त क्षेत्रका दैनिकी, युद्धमा सहभागी सिपाहीको दैनिकी, द्वन्द्वले पारेका असर, पारिवारिक विछोड, प्रेमको असफलताका कथा छन् यहाँ। नेपालको तराई मधेसका समसामयिकताले ओतप्रोत कथा छन् यहाँ। राष्ट्रिय भावले भरिएका कहानी पनि छन्। ‘बेनामे जर्नेल’मा कथाकारले आफ्नो नोकरीका क्रममा बाँचेको जीवन वरिपरिका चरित्रहरू उधिनेर सजिलोसँग कथा बुनेका छन्। तिनमा फरकफरक विषयवस्तु चुनेर कथा लेखिएका छन्। भोगाइ र अनूभूतिले भिजेका कथा लेखेका छन्।  

सर्वसाधारण भुइँमान्छेलाई राजनीतिमा गोटी बनाएको दृष्टान्त पनि हो यो। तत्कालीन विद्रोहीको नकारात्मक पक्षलाई उजागर गरेको छ यो कथाले। कथामा विद्रोही माओवादीको पछिल्लो समयमा आएको सैद्धान्तिक स्खलन र विचलनको सत्यता पाइन्छ। 

पहिलो कथा ‘जंगे पिलर’हाम्रो राष्ट्रियतामाथि भएको विदेशी हस्तक्षेप र अतिक्रमणको नाङ्गो नाँचको यथार्थ हो। विदेशीको हेपाहा प्रवृत्ति र हस्तक्षेपको विरुद्ध सीमानाका नेपालीहरूमा उठेको विद्रोह र आक्रोशको कथा हो यो। ‘बोर्डर पार’ कथा नेपाल भारतको सीमासँगै रहेका आम महिलाको दैनिकी हो। रोजीरोटीका लागि महिलाले गरेको संघर्षको कथा हो। एकटुक्रा रोटीका लािग गरिएको मजबुरी अनि विवशताको व्यथा हो।

‘यमलोकमा सहिद’कथाले सहिदजस्तो सम्मानित उपाधिलाई वर्तमान समयको कुरूप राजनीतिले गरेको हल्का टिप्पणीमाथिको कठोर व्यङ्ग्ग प्रहार गरेको छ। शीर्ष कथा ‘बेनामे जर्नेल’ले युद्ध र यसले दिएका पीडाको कुरूप तस्बिरलाई कथानकता दिएर उतारेको छ। युद्धग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ खटिएको एउटा नेपाली सिपाहीको मानवीय र सहयोगी मन कस्तो हुन्छ भन्ने दृष्टान्त दिएको छ।  

‘छोरीको बोझ’तराई–मधेसमा छोरीप्रति गरिने विभेदको प्रतिनिधिमूलक कथा हो। यसले तराई–मधेसको सामाजिक कुरूपतालाई चित्रित गर्छ। राइ मधेसका महिलाको कष्टकर दैनिकी, उनीहरूको स्वतन्त्रतामा पर्दा हालिएको यथार्थ कथा हो। महिलालाई महिलाले नै हेप्ने प्रवृत्ति पनि उजागर गरिएको छ कथामा। नेपाली समाजमा छोरीलाई तल्लो दर्जाको नागरिक मान्ने प्रवृत्तिमा एकाध परिवारमा बाहेक हाबी नै छ। छोरीप्रति गर्ने हेय र अपहेलना, छोरी भएर जन्मनुपरेकोमा भोग्नुपरेको पीडा ओकल्नेको कथा हो ‘बिहे नभएको लोग्ने’।  

यस कथामा युवतीको यौन सम्बन्धी मनोविज्ञानको चित्रण गरिएको छ। समाजले छोरी भएकै कारणले दिएको अपमान, हेलाँका कारण कसरी नेपाली छोरीहरू अकालमै मृत्युवरण गर्न बाध्य हुन्छन् भन्ने कुरा दर्साइ आमाबाबु र समाजलाई सचेत हुन घच्घच्याएको छ। ‘मुर्दाघर’ कथाले मधेसी युवतीको पीडालाई व्यक्त गरेको छ। आफ्नो रोजाइको जीवन बाँच्न महिलाहरूलाई गरिएको अघोषित प्रतिबन्धको कथा हो यो।  

गुमनाम कामरेड ‘पहिला पनि यसैगरी आकाथ्यौ क्यार। सबै गाम्ले मिलेर भरथेक गरेकै हौं। तर हाम्रो गामलाई लडाईंमा होमेर आफूहरू उम्किगयौ नि। तिमेरले सत्ता पायौ। हामीले दुःख खायौं।’ गाउँले वृषबहादुरको रोष हो यो। सर्वसाधारण भुइँमान्छेलाई राजनीतिमा गोटी बनाएको दृष्टान्ट पनि हो यो। तत्कालीन विद्रोही पक्षको नकारात्मक पक्षलाई उजागर गरेको छ यो कथाले। कथामा विद्रोही माओवादीको पछिल्लो समयमा आएको सैद्धान्तिक स्खलन र विचलनको सत्यता पाइन्छ।  

‘बाबुसाहेबको छोरा’र ‘झ्यालको चेपबाट’कथा राम्रा कोटिका यौन कथा हुन् भन्न सकिन्छ। यौनकुण्ठा, परिवारमा श्रीमतीलाई श्रीमान्ले हेर्ने तरिका, नारी यौनमनोविज्ञान र तराईका नारी संवेदनाका कुरा कथामा उनिएको पाइन्छ। मधेसमा नारीहरूको स्थितिका बारेमा पनि उनका कथाहरू बोलेका छन्।  

यो संग्रहमा समेटिएको ‘फ्रेबुअरी १४’उत्कृष्ट प्रेम कथा हो। परिवर्तनको नारा लिएर सशस्त्र द्वन्द्वमा होमिएकी बालसखी कमला र हतियार एवम् युद्धमा विश्वास नगर्ने सुन्दरको मुलुक, समाज, राजनीति र हतियारबन्द आन्दोलनलगायत समसामयिक सवालमा भएको वार्तालाप छ यस कथामा।  

‘मेयर मोतीलाल’तत्कालीन द्वन्द्वकालीन जनप्रतिनिधिहरूको कटु यथार्थ झल्काउने प्रतिनिधि कथा हो। तत्कालीन शाही शासनकालमा टिके प्रथाद्वारा जनप्रतिनिधिको जिम्मेवारी दिइएको थियो। राजनीतिक पृष्ठभूमि नभएकालाई पद पदासिन गराइएको थियो। मोतीलाल यस्तै पात्र हो। विश्वव्यापी कोरोना कहर र यसले एउटा परिवारमा पारेको नकारात्मक असरलाई मध्याह्नको घामझैं स्पष्ट पारेको छ ‘कोरोनाको देशबाट’कथाले।  

धेरैजसो कथा तत्कालीन सशस्त्र द्वन्द्वको सचित्र साङ्गोपाङ्गो प्रस्तुति लाग्छन्। कथा हेर्दा कतिपयलाई समय सापेक्ष नलाग्न सक्छ, उस्तै पुराना तर उतिबेलाको सशस्त्र द्वन्द्वका घाउ अझै पुरिएका छैनन्। त्यतिबेलाको द्वन्द्वका असरहरूबारे पछिल्लो पुस्तालाई कथाले जानकारी दिएर सघाउन सक्छ।

सरसर्ती हेर्दा कथाले युद्धको परिवेश, त्यसले पारेको क्षतविक्षत समाजको यथार्थलाई देखाएका छन्। तराई–मधेसका निम्न वर्गका जनतामा विकृत प्रथाजन्य कुराहरूले निम्त्याएका दुर्दशा साथै तिनका जिन्दगीमा निम्तिएका दुःखान्तक परिस्थितिहरू कथामा आएका छन्। यथार्थ धरातलमा कथाहरू कथिएका छन्। यौन, यौनजन्य कुण्ठा, युद्ध, अपहरण, दाइजो, स्वदेशी तथा विदेशी द्वन्द्व, नारीको स्वतन्त्र आस्तित्विक चेतनामा लगाइएको अंकुश पनि कथाको विषय बनेका छन् । कोरोना महामारीको नकारात्मक असर पनि कथामा आएको छ ।  

प्रकाशित: १३ श्रावण २०८० ०३:४० शनिबार

द्वन्द्व सम्झाउने त्रासद कथा