कला

साहित्यकार कायस्थको म बन्दीपुरे भक्तपुरको लोकार्पण

सिर्जना अभियान समाज, भक्तपुरले वरिष्ठ साहित्यकार मोहनबहादुर कायस्थको चौरासीऔं कृति ‘म बन्दीपुरे भक्तपुरको’ को लोकार्पण गरेको छ। ९५ वर्षीय बेलभक्त कायस्थ, साहित्यकार तिलक प्रकाश, डा. विष्णुबहादुर भण्डारी, उत्तमनारायण मल्ल, धनमान श्रेष्ठ लगायतले कृतिको लोकापर्ण गरेका थिए।

कार्यक्रममा साहित्यकार कायस्थले भक्तपुरसित आफ्नो पुर्ख्याैली नाता भएकाले एकप्रकारको हार्दिकता जोडिएको तर आफूले त्यस विषयमा पुस्तकमा खासै केही लेख्न नसकेको बताए। साथै उनले जे जस्तो भए पनि आफ्ना भावनालाई प्रस्तुत गर्नुपर्छ भन्ने विचारले साहित्यमा निरन्तर कलम चलाएको बताए।

डा. विष्णुबहादुर भण्डारीले साहित्यकार कायस्थले असी वर्षको उमेरमा चौरासी पुस्तक लेख्नु चानचुने कुरा होइन भन्दै उनका सत्यमोहन जोशीकाे विषयमा लेखिएको पुस्तक, बन्दीपुरका जातजाति र साहित्यकारबारे लेखिएका खोजमूलक कृति निकै महत्त्वपूर्ण भएको बताए।

साहित्यकार तिलक प्रकाशले राजनैतिक कारण आफ्नो थातथलो छोडेर जानेहरूकाे बारेमा पनि खोजअध्ययन गरेर लेखिनुपर्ने बताए।

लेखक उत्तमनारायण मल्लले म बन्दीपुरे भक्तपुरको कृतिमा भएका विविध विषयका रचना ज्ञान र जानकारीयुक्त रहेको बताए।

समाजका अध्यक्ष धनमान श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा साहित्यकार ध्रुव मधिकर्मी र विनोदराज ढुंगेलले पनि मन्तव्य राखेका थिए।

कायस्थ सेवा सदन बन्दीपुरका लागि निम्मायादेवी कायस्थले प्रकाशन गरेको म बन्दीपुरे भक्तपुरको कृतिमा विविध समसामयिक विषयका असी लेख सङगृहीत छन्।

कार्यक्रममा स्रष्टा कायस्थलाई चौरासीऔं कृति प्रकाशनको अवसरमा समाजका तर्फबाट आभार तथा अभिनन्दनपत्र प्रदान गरिएको थियो।

प्रकाशित: १० श्रावण २०८० ०४:२५ बुधबार

अक्षर