कला

फिल्म 'बगान' ले १० दिनमा कमायो ७० लाख

सरोज खनाल निर्देशित फिल्म 'बगान' ले ७० लाख ग्रस कमाइ गरेको छ।

गत असार २९ गते देशव्यापी प्रदर्शनमा आएको फिल्म 'बगान' ले १० दिनमा ७० लाख ग्रस कमाइ गरेको हो।  

निर्माता सुरेश वाग्लेले वितरक कम्पनीले उपलब्ध गराएको व्यापारिक आँकडा अनुसार कलेक्सन रिपोर्ट सार्वजनिक गरिएको बताए।

एकल आमा र उनले हुर्काएकी छोरीको कथामा बनेको फिल्ममा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मालगायत कलाकारको अभिनय छ।

स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो फिल्मबाट अभिनेता खनाल निर्देशनमा डेब्यु गरेका हुन्।

नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको फिल्मका निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर छन्।

उत्सव दाहाल र नारायण जिसीले छायांकन गरेको फिल्मलाई सन्देश शाहले सम्पादन गरेका हुन्। फिल्ममा समिर मियाँको भिएफएक्स, रेनिश फागोको कलर करेक्सन, सुजिल कर्माचार्यको ब्याकराउन्ड स्कोर, मुकेश शाहको साउन्ड मिक्सिङ रहेको छ।

यो फिल्म नेपाल रिलिजपछि अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशमा प्रदर्शन हुने जनाइएको छ।

प्रकाशित: ८ श्रावण २०८० १२:०७ सोमबार

फिल्म 'बगान'