कला

साहित्यकार अधिकारी र पोखरेलको ‘रनाहा’ लोकार्पण

मोलुङ फाउण्डेसन, काठमाडौंले साहित्यकार विश्वराज अधिकारी र खेमराज पोखरेलको संयुक्त कथासंग्रह ‘रनाहा’ को लोकार्पण गरेको छ।

मोलुङ फाउण्डेसन, काठमाडौको अध्यक्ष प्राडा भुपप्रसाद धमलाको अध्यक्षता तथा प्राज्ञ वरिष्ठ कथाकार माया ठकुरीको प्रमुख आतिथ्यमा अध्यक्ष धमला, प्रमुख अतिथि ठकुरी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली,  समालाेचक तथा लेखकहरू-डा. दीनबन्धु शर्मा, मन्दिरा मधुश्री, लता केसी, डा. विदुर चालिसे,मधुसूदनप्रसाद घिमिरे लगायतले कृतिको लोकार्पण गरेका हुन्।

प्रमुख अतिथि माया ठकुरीले विदेशमा बसेर पनि कथाकार अधिकारी र पोखरेलले नेपाली साहित्यमा पुर्‍याएको योगदान प्रंशसनीय भएको बताइन्। उनले आफू प्रज्ञाप्रतिष्ठानमा छँदा यौनकथाको अनुसन्धानात्मक कृतिमा काम गरेको बताइन्।

समालाेचक डा. दीनबन्धु शर्माले कथाकारहरूको जीवन-जगत् हेर्ने दृष्टिकोण फराकिलो भएको र कथामा यौन तथा याैनमनोविज्ञान शिष्ट ढंगले प्रस्तुत गरेको पनि बताए।

स्रष्टा विमुन्स पाैडेलले सञ्चालन गरेकाे  कार्यक्रममा कथाकार मन्दिरा मधुश्रीले कृतिकाे समीक्षात्मक टिप्पणी गर्दै कथामा हाम्रो समाज, हाम्राे  यथार्थता, पीडा, समस्या र समाधान समेटिएको बताइन्। उनले  कथामा नयाँपन तथा कथाको समापनमा लोभलाग्दो उत्कर्षता भएको पनि बताइन्।

कार्यक्रममा स्रष्टा समाज नेपालका अध्यक्ष एवं वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनले अधिकारी र पोखरेल धेरै लेखकको प्रेरणाको स्रोत भएको बताए।

उनले भने, ‘अधिकांश लेखक विदेश गएपछि लेखन क्षेत्रबाट पलायन भएका छन्। तर, अधिकारी र पोखरेलकाे जोडी भने गोविन्द गिरी प्रेरणा जस्तै बर्सेनि नेपाल आउनुहुन्छ, आफ्नो कृति लोकार्पण गराउनुहुन्छ र स्रष्टाहरूलाई सधैं झकझकाउनुहुन्छ।’

मोलुङ फाउन्डेसनले बजारमा ल्याएको लाेकार्पित कृतिमा दुवै कथाकारका आठआठ यौनकथा संगृहीत छ।

प्रकाशित: ७ श्रावण २०८० ०६:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App