कला

विद्युतकर्मी साहित्यिक समाजले सम्झियो विपीको साहित्यिक योगदान

नेपाल विद्युत प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजले विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक योगदानको कदर गर्दै एकचालीसौं विपि स्मृति दिवसको अवसर पारेर ‘त्वदियं वस्तु गोविन्द तुभ्यमेव समर्पणम्’ नामक साहित्यिक कार्यक्रम गरेको छ।

विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’को अध्यक्षता तथा मधुपर्क मासिकका नायब कार्यकारी सम्पादक त्रिभुवनचन्द्र वाग्लेको प्रमुख आतिथ्यतामा गोकर्णेश्वर नगरपालिकास्थित विपि संग्रहालय, सुन्दरीजलमा कार्यक्रम भएको हो।

कार्यक्रममा  विपि संग्रहालयका कार्यकारी निर्देशक परशुराम पोखरेल, मुक्तककार रुद्र अधिकारी, पूर्व सांसद् गोविन्द शर्मा कँडेल लगायत विद्युतकर्मी साहित्यिक समाजका सदस्यहरू, स्थानीय साहित्यकार र साहित्यप्रेमी महानुभावहरूको उपस्थिति रहेको थियो।

विपी कोइरालाको सालिकमा माल्यार्पण गरेर उदघाटन गरिएको कार्यक्रममा प्रमुख अतिथि त्रिभुवनचन्द्र वाग्ले र अतिथि रुद्र अधिकारीले विविध भावभूमिका साहित्यिक रचना वाचन गरेका थिए।

सो अवसरमा विद्युतकर्मी साहित्यिक समाजका पदाधिकारीहरू-कृष्णदेव रिमाल ‘शब्दसेना’, शारदादेवी पोखरेल भट्टराई, विष्णु आचार्य ‘अतृप्त’, मुकुन्दप्रसाद प्रसाईं, संगीता अधिकारी पौडेल, आविष्कार कला, बलराम पुडासैनी, रीता चालिसे खनाल, यादवराज घले तथा नरबहादुर श्रेष्ठ र विष्णु थापा ‘बिछोड’ ले विपि लेखेको रचना, विपिबारे आफूले लेखेको रचना र अन्य स्वतन्त्र रचना वाचन गरेका थिए।

उक्त कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि वाग्लेले विपिले नेपाली कथामा यौन मनोवैज्ञानिक धाराको प्रवर्तन गरेको र उनका अधिकांश रचना संग्रहालय परिसरमा रहेको कपुरको रुखमुनि सिर्जना भएको सन्दर्भ बताए। उनले तत्कालीन सुन्दरीजल जेलमा विपिले अनेकौं सकस र प्रताडना सहनुपरेको दृष्टान्त प्रस्तुत गर्दै हालको संग्रहालय त्यही जेलको परिवर्तित संस्करणका रूपमा व्यवस्थित गरिएको बताए।

पूर्व सांसद् गोविन्द शर्मा कँडेलले विपिले आफ्नो साहित्यमार्फत प्रत्येक नागरिकलाई असल बन्न प्रेरणा दिएकाले उनको विचार, व्यवहार र पदचापलाई आदर्श मानेर मुलुक अगाडि बढ्नुपर्ने बताए।

उक्त समारोहमा कार्यक्रम आयोजनाको औचित्य पुष्टि गर्दै विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’ले ‘तिम्रो वस्तु तिमीलाई नै समर्पण गर्दछौं’ भन्ने आशयसहित ‘त्वदियं वस्तु गोविन्द तुभ्यमेव समर्पणम्’ नामक साहित्यिक अभियान सुरु गरिएको बताए। उनले यो अभियान गत असारमा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाएर आरम्भ गरिएको बताउँदै यस अभियानको दोस्रो संस्करण विपि संग्रहालयमा सञ्चालन गर्न पाएको खुसी पाेखे।

यसअघि ‘तीन तियाँ’,‘गजल मुशायरा’, ‘पुस्तकसँग पाठक’, ‘बहुभाषिक काव्यगोष्ठी’ , ‘लेखन प्रशिक्षण कार्यशाला’, ‘स्रस्टा सम्मान’, ‘पर्यटन साहित्य प्रवर्द्धन’ लगायतका विविध स्वाद र शैलीका साहित्यिक कार्यक्रम संचालन गरिसकेकोले पृथक धारको कार्यक्रम खोज्ने सिलसिलामा यस्तो स्वरूपको कार्यक्रम गर्ने अवधारणाको विकास हुन गई  यस प्रकृतिको कार्यक्रम आयोजना गरिएको संस्थाका सचिव विष्णु आचार्य ‘अतृप्त’ ले बताए।

प्रकाशित: ७ श्रावण २०८० ०६:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App