कला

सय दिनमा ‘जारी’

लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको सय दिन पूरा भएको छ। श्रीमती फिर्ता ल्याउन संघर्षरत श्रीमानको कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित चलचित्रलाई कवि कथाकार  उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन्।

यस वर्षकै पहिलो दिन वैशाख १ गतेदेखि प्रदर्शनरत चलचित्रले आज काठमाडौं उपत्यकामा रहेको तीन चलचित्र भवन क्युएफएक्स सिभिल मल, विग मुभिज र एफक्युबमा प्रदर्शनको सय दिन पूरा गरेको हो।

चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेलले यो खुसी शब्दमा व्यक्त गर्न नसकिने बताए।

‘सय दिन पूरा गर्ने चलचित्र बन्यो। अहिले चलचित्र भवनको संख्या बढेको समयमा यो सफलता विरलै हो। पर्दामा समुदायको संस्कृतिलाई दर्शकले रुचाए’, उनले भने। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार ‘जारी’ को गत असार ३१ गतेसम्म छ लाख १९ हजार दुई सय २१ टिकट बिक्री भएबापत १७ करोड १७ लाख ९९ हजार १८ रुपैयाँ ग्रस व्यापार भएको छ।

‘कब्बडी’का शृंखलामार्फत लेखनमा सक्रिय निर्देशक सुब्बाले आफ्नो समुदायको कथा भन्नुपर्छ भन्ने लागेपछि चलचित्र निर्देशन गरे। उनले भने, ‘महिला आँटिला र साहसिला हुन्छन्। स्वाभिमानी छन् र आत्मसम्मान चाहन्छन्, श्रीमती भए भन्दैमा सम्मानबिना बस्दैनन्। उनीहरूको आत्मसम्मानको कथा चलचित्रमा प्रस्तुत गरेको छु।’

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बा, अनिल सुब्बा, रोयदीप, रेखा लिम्बू, कमलमणि नेपाल, पुष्कर गुरुङ लगायतले अभिनय गरेका छन्।  

प्रकाशित: ६ श्रावण २०८० ०४:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App