कुरा पात्रको होइन, प्रवृत्तिको गर्न खोज्दै छु। कतै पढेको हुँ, व्यक्तिको कुराभन्दा प्रवृत्तिको कुरा गर्नुपर्छ, नभए घटनाको कुरा गर्नुपर्छ। व्यक्तिकै कुरा गरेर समय बिताउनेवाला मान्छे त तुच्छ खालको हो। अनि तुच्छ हुने कुरा किन गर्नु !
प्रवृत्तिको कुरा गर्न लागेको हुँदा पात्रको नाम जेसुकै सम्झनोस्– रामप्रसाद, हरिराज वा कृष्णबहादुर। नामले केही फरक पार्दैन। यी वा अरू कुनै नामको साथीले एकपटक भन्छ मलाई, ‘मैले बडो राम्रो मौका पाएको थिएँ पैसा कमाउने, लाखौं–करोडौं कुम्ल्याउन सक्ने तर बडो इमान्दार बन्दो भएँ। म पछि आउनेले कुस्त कमाए र अहिले त्यही पैसाले राहुकेतु भगाएर बसेका छन्।’
म सुन्छु, हाँसो उठ्छ। ऊ सत्यभन्दा बढी पछुतो वा कुण्ठा ओकलिरहेछ। ऊ मैले अन्तरङ्ग बुझेको साथी हो। त्यसैले म बुझ्छु। ऊ मसरह नै पदीय हैसियतमा रहेको हो सरकारी जागिरमा तर ऊ र ममा सम्पत्तिको मामिलामा तुलना नै हुँदैन। आकाश–जमिनको फरक छ एक मिथक कथाका पात्रहरू जस्तो–कहाँ राजा भोज र कहाँ गंगु तेली! मलाई थाहा छ–अरूले कति कमाए उही जानोस् तर उसले उत्पातसँग कमाएको छ र त्यो कमाइ उसले मेहनत र बुद्धिको आडमा नभई पदको आडमा गरेको हो। त्यसकारण मलाई उसले सम्पत्ति कमाउने मामिलामा इमान्दार छु भनी गरेको कुरा सुन्न न मन लाग्छ, न विश्वास। त्यसैले भन्छु, ‘भैगो यो कुरा नगरौं, यो कुरा गर्यो भने कुराकै दुःख हुन्छ।’
मेरो कुरा सुनेर उसलाई लागेको हुन सक्छ, मलाई अरूले कमाएको कुरा सुन्न मन परेन। मानिस आफ्नो दोष त अनुमान नै गर्दैन, त्यही भएको मानौं। उसको कुरा न त सत्य छ, न मेरा लागि महत्वको नै छ। म पदका आडमा कसले कति कमायो भनी हिसाब राख्ने र थुक निली बस्ने खालको परिनँ।
कुरा पात्रको होइन, प्रवृत्तिको गर्न खोज्दै छु। कतै पढेको हुँ, व्यक्तिको कुराभन्दा प्रवृत्तिको कुरा गर्नुपर्छ, नभए घटनाको कुरा गर्नुपर्छ। व्यक्तिकै कुरा गरेर समय बिताउनेवाला मान्छे त तुच्छ खालको हो। अनि तुच्छ हुने कुरा किन गर्नु !
मान्छेले आफ्ना कुरा अरूलाई बुझाउँछ बोलेर, कुरा गरेर। अरू पनि तरिका गर्छ कुरो बुझाउन–लेख्छ, हाउभाउ गर्छ, अभिनय/नृत्य गर्छ वा अन्य कलाकारिता देखाउँछ। दोहोरो संवाद गर्नुलाई ‘कुरो गर्नु’ भन्ने चलन छ। त्यो कुरो तुकको भएन भने भन्ने गरिन्छ उखान प्रयोग गरेर–कुरा गर्यो कुरैको दुःख। यो मनको कुरो, त्यो मनसम्म पुर्याउन कुरा गर्नुपर्यो, तर के भएर हो, गर्नेलाई वा सुन्नेलाई त्यो कुरा राम्ररी हजम हुन्न, अनि भन्छ, ‘कुरा गर्यो, कुरैको दुःख’। यस्तो कुराको दुःख खुब भोगियो जीवनमा र अझ भोग्दै रहनुपर्ला पनि। यहाँलाई पनि त्यस्तै भएको होला। आउनोस् यसैबारेमा केही गफ गरौं। दुःख बाँडे घट्छ भन्छन्, त्यसै गरौं।
धेरै प्रयोग हुने नेपाली उखानमा पर्छ यो। अधिकांश मातृभाषी नेपालीले सुनेका त पक्कै होलान्, प्रयोग पनि गरेका होलान्। तर अचेल विडम्बना, के देखिँदै छ भने नेपाली भाषी बालक अंग्रेजी स्कुलमा पढ्न जाँदा नेपालीबाहेक अरू कक्षामा नेपाली बोले सजायसमेत बेहोर्छन्, अंग्रेजी नै बोल्न, लेख्नमा अभिभावक, स्कुल र आफ्नो पनि जोड हुँदा औपचारिक नेपालीबाहेक उखानटुक्का, झर्रो नेपाली शब्दहरू नै जान्दैनन्–त्यसो भएर यो उखान अंग्रेजी शिक्षाको सेपमा परेर कतिपयले नसुनेको हुन सक्छ।
थरीथरीका छन् कारण ‘कुरा गरेर पनि कुरैको दुःख’ हुने कुराहरू समुद्रमा पौडी खेल्नेले पिउन पानी नपाएझैं। थोपो पिउन मिल्दैन समुद्रको पानी, त्यसैगरी कुरो सुन्यो–सुन्यो वा पढ्यो–पढ्यो– मरिजाम् केही बुझिने भए। विश्वास गर्न सकिने केही हुने भए कुराकै दुःख हुने गरी ! त्यस्तै कुराको दुःख हुने कुराको पोयो फुकाउँछु है।
दुःख: हात्ती आयो हात्ती आयो फुस्सा
एक थरी दुःख त्यो हो, जुन मेहनत, समय तथा साधन त लिइदिन्छ तर प्रतिफलमा केही दिन्न। जसरी खेती गर्यो–गर्यो खेती बाढी–पहिरोमा पर्यो, लागेको फल असिनाले झार्यो वा जंगली जनावरले नष्ट पारिदियो। त्यसैगरी देशका नेता, मन्त्रीले यसो गरिदिन्छु वा गरिनेछ भन्छन्, योजना वा कार्यक्रममार्फत घोषणा गर्छन्, आशा देखाउँछन् तर केही गर्दैनन्। यस्तो त खुबसँग हुने गरेको छ हामीकहाँ। हेर्नोस् न– छैसट्ठी वर्ष भएछ राज्य सञ्चालनको तालाकुची हातमा हुनेले योजना बनाई बनाई देशको विकास गर्छु भन्न थालेको। प्रत्येक ५ बर्से वा तीन बर्से योजनामा यसो गरिनेछ, उसो गरिनेछ भन्छन्। आशा गरेर बस्यो तर योजनावधि सकिँदा बडो नगण्य उपलब्धि भएको हुन्छ। कुनै कुनै गर्छु भनेको काम त योजना अवधि सकिँदासम्म छोइएकोसमेत हुन्न।
यसैगरी घोषणा एकातिर काम अर्कातिर भएका कति छन् कति ! सायद यो ताजा भएर सबैको मनमा नै रहेको होला, पेट्रोलियम पदार्थको आयात घटाउन, वातावरण जोगाउन, विद्युत् खपत बढाउन ब्याट्रीवाला गाडीमा जोड दिने भनी सरकारका मन्त्रीहरूले कति भने कति, नीतिहरूमा लेखे पनि।
विडम्बना–बजेटमा ब्याट्रीवाला गाडीको कर पो बढेको थियो, पेट्रोल, डिजेल गाडीको भन्दा बढी। तर्क गरियो–महँगा ब्याट्रीवाला गाडीको कर बढाएको हो, सस्तोको होइन। पैसा तिर्न सक्नेले ब्याट्रीवाला गाडी महँगो भए पेट्रोल/डिजेलवाला गाडी किन्छन्, पैसा हुनेले नकिनी छाड्दैनन् भने पेट्रोल, डिजेलका गाडीको सट्टा ब्याट्रीवाला गाडी सस्तो भए तेल (इन्धन) मा हुने खर्च पनि बच्थ्यो, धुवाँ कम हुन्थ्यो। त्यसैले अघिल्लोवाला किन्ने बनाउनु पो पर्ने हो नीतिअनुसार तर उल्टो गरियो। धुवाँ प्रदूषण र पेट्रोलियम पदार्थको आयात घटाउन खोजिएको हो भने त गाडी सस्तो होस् वा महँगो, दुवै खालका गाडीमा विद्युतीय नै बेस हुन्थ्यो नि !
थरीथरीका छन् कारण ‘कुरा गरेर पनि कुरैको दुःख’ हुने कुराहरू समुद्रमा पौडी खेल्नेले पिउन पानी नपाएझैं। थोपो पिउन मिल्दैन समुद्रको पानी, त्यसैगरी कुरो सुन्यो–सुन्यो वा पढ्यो–पढ्यो– मरिजाम् केही बुझिने भए। विश्वास
यस्तो निर्णय केही व्यवसायीको हितमा गरियो भनी टिप्पणी आयो जान्नेबाट। यसको मतलब ‘भन्ने आग्राको कुरा, गर्ने गाग्राको कुरा’ अनि पार्ने ‘हात्ती आयो हात्ती आयो फुस्सा !’ यस्तो भएपछि त्यस्ता कुरा सुन्ने किन, पढ्ने किन ? त्यसका लागि दिएको समय र साधन त बेकार भयो नै, बडो सम्हालेर राखेको चित्त पनि दुख्ने भयो, निराशा बढ्ने भयो, आक्रोशको पारो चढ्ने भयो। अनि यस्ता कुराले ‘कुरैको दुःख’ त गरायो नि।
दुःख: कुरा पाखण्डी गर्नाले
अर्को, बोल्नेको पाखण्डको कुरा गरौं। यस लेखनीको सुरुमा जुन प्रसङ्गको कुरा राखें– अनुमान गर्न सकिने गरी नचाहिने हतकन्डा अपनाएर कुस्त पैसा कमाएको साथीले आफू खुब इमान्दार छु भनी गरेको कुरा पाखण्ड नै त थियो। पाखण्ड भन्ने एउटा गर्ने ठिक उल्टो भएमा हुने हो। जब मानिस यसरी पाखण्डी बन्छ, तब उसको कुरा सुन्न मन लाग्ने कुरै भएन। सुन्नेले पाखण्डीको कुरो मिलेसम्म सुन्दैन, कथंकदाचित् सुन्नुपर्यो भने पनि सुन्दासम्म र पछिसम्म पनि सम्झीसम्झी समय खेर गएको मानिरहन्छ।
यस्ता पाखण्डी कुरा हामीकहाँ खुब हुन्छन्। कुनै व्यक्तिको आदतको, व्यक्तित्वको मात्र कुरा होइन यो, ठुला दलले गरेका छन्, सत्तामा बसेकाले गरेका छन् लाजै नमानी। एक पाखण्डी व्यक्तिले ठान्छ, म जे भनिरहेछु सुन्नेले पत्याइरहेछ। ऊ मूर्ख छ, दिमाग नभएको भुसको बोराजस्तो दिमाग भएको छ। जे भने पनि हुन्छ, पत्याइहाल्छ तर कहाँ हुन्छ त्यस्तो। सुन्नेले कतिपय अवस्थामा वक्ता कति पानीमा रहेको मानिस हो भनी उसको नाडी छामिसकेको हुन्छ। छैन भने बोल्दाबोल्दै र बोलिसकेपछि पनि वक्ताको नाडी नछामी उसको कुरा पत्याउन्न। सुन्नेलाई मूर्ख ठान्ने वक्ता आफै मूर्ख बनिरहेको हुन्छ। यो नबुझेर कि बोलेकै भरमा मात्र कसैको सितिमिति कुरा पत्याइन्न, बोल्दैमा बाठो भइँदैन।
दृष्टान्त यस्तै पाखण्ड देखिएको राष्ट्रिय स्तरको प्रसङ्ग नै राखौं किनकि यो सबैले थाहा पाएको कुरा जो छ। हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाइन्छ। गणतन्त्र दिवस अर्थात् राजतन्त्र अन्त्य गरिएको दिन।
२०६५ सालमा अन्तरिम संसद्ले अढाई सय जति पुरानो शाहवंशीय राजतन्त्र अन्त्य भएको घोषणा गर्यो, अनि नेपालको सर्वोच्च अधिकारी राष्ट्रपति हुने घोषणा पनि गर्यो। गणतन्त्र ल्याउनुको कारण दलहरूले बताएका थिए–राजा संविधान र कानुनभन्दा माथि भए। अब कानुन सबैभन्दा माथि हुने व्यवस्था ल्याउनुपर्छ। विडम्बना संविधान र कानुनभन्दा माथि रहेका एक राजा गए तर आए राजनीति गरेको नाममा कानुनभन्दा माथि रहन चाहने, मिलेसम्म भइहाल्ने सयौं, हजारौं मानिसहरू।
२०८० सालको गणतन्त्र दिवसमा तीन तहको अदालतले नियन्त्रणमा लिई क्रूर तरिकाले हत्या गरेको भनी जन्म कैदको सजाय दिएको मानिसलाई राष्ट्रपतिले सजाय माफ गरिदिए मन्त्रिपरिषद्को सिफारिसमा। नेपालको प्रचलित कानुनले यस्तो अपराध प्रमाणित भएको व्यक्तिको सजाय माफ दिन नमिल्ने रहेछ तर सरकारको सिफारिसमा राष्ट्रपतिले सजाय माफ दिए। कानुनले हुन्न/मिल्दैन भन्दाभन्दै मन्त्रिपरिषद्ले सिफारिस ग¥यो र राष्ट्रपतिले सही धस्काइदिए सिफारिस भएर आएको भनेर। कानुनले र अदालतले हुन्न भनेको कुनै काम गर्नु भनेको कानुनभन्दा माथि हुनु होइन र ? यसमा देखियो सरकार र राष्ट्रपति कानुनभन्दा माथि!
२०६५ सालमा अन्तरिम संसद्ले अढाई सय जति पुरानो शाहवंशीय राजतन्त्र अन्त्य भएको घोषणा गर्यो, अनि नेपालको सर्वोच्च अधिकारी राष्ट्रपति हुने घोषणा पनि गर्यो। गणतन्त्र ल्याउनुको कारण दलहरूले बताएका थिए–राजा संविधान र कानुनभन्दा माथि भए।
अनि हालसालै लोकतन्त्र र कानुनी राजमा सबभन्दा बढी विश्वास गर्ने भनी छाती पिट्ने दलका कानुनमन्त्रीले प्राध्यापक कुटेर मरणासन्न पारेका आफ्नो दलसमर्थित विद्यार्थी संगठनका विद्यार्थीविरुद्ध अदालतमा रहेको मुद्दा फिर्ता लिने प्रक्रिया चलाए र सरकारले मुद्दा फिर्ता लियो। यसको अर्थ धृतराष्ट्रको पुत्रमोह र सत्तासीन दलको कार्यकर्ता मोह उस्तै भयो, गलत काम/प्रवृत्ति छुट्याउन नसकेर। पछि अदालतले सरकारको निर्णय गलत ठहर्यायो। सरकारले गलत निर्णय गरेकै थियो।
यसरी के साँच्चै हाम्रो देशमा सबै जना संविधान र कानुनअन्तर्गत रहे ? मुलुकमा सारभूत रूपमा गणतन्त्र स्थापित भयो ? यो र यस्ता अरू उदाहरणहरूबाट यस्तो त देखिएन त। कानुनमाथि रहनेको सङ्ख्या राजतन्त्र हुँदाभन्दा धेरै बढ्यो। अनि गणतन्त्र ल्याइयो, सबै कानुनमुनि रहे भनेर पिटेको डंका पाखण्ड भएन? यसले पनि त ‘कुरैको दुःख’ गराएको छ!
दुःख: बोलेर बाठो देखिन खोज्नेका कारण
अर्का थरी कुराको दुःख दिने मानिस त्यस्ता हुन्छन्, जसलाई टाठो–बाठो देखिने उत्कट चाहना हुन्छ। त्यसैले ऊ मान्यता राख्छ–बोलेर नै मात्र टाठो–बाठो देखिन्छ/भइन्छ। फलतः उसले गर्छ के भने मानिसको समूहमा कुरा गर्नु पर्दा उछिनपाछिन गरेर वा भएन भने (मिलेन वा साह्रै असभ्य देखिने जस्तो लाग्यो) पालो लिएर नै बोल्छ तर बोल्नुको मनसुबा आफ्नो जायज तर्क राख्नु, समाधान दिनु वा जान्ने चाहनाले प्रश्न सोध्नुभन्दा, कुरो बताउनुभन्दा बढी आफूलाई अरूभन्दा जान्नेसुन्ने, फरक देखाउने हुन्छ। त्यसकारण बोल्न पाउनेबित्तिकै बोल्दा दिइएको समयभन्दा बढी बोल्छ, प्रसङ्गइतर कुरा गर्छ। ऊ दर्शकश्रोताले आफूले बोलेको नपत्याएको हाउभाउ बुझ्न सक्दैन, झन् चर्को रूपमा कुरा गर्छ। सुन्नेले लामो हाई काढेको, उङ्न थालेको भेउ नै पाउन्न।
यस्ता मानिस को छ भनी सम्झने प्रयास गर्नोस् त ! तपाईंको मनमा दर्जनौं मानिसको अनुहार आउनेछ, अनि उसले यस्ता गरेका घटनाहरू अटेसमटेस गरी मनमा आउने छन् किनकि यस्ता मानिसको सङ्ख्या निकै बढी छ हाम्रो वरिपरि। त्यसैले नेपालीहरू कुरा कम सुन्ने, बढी बोल्ने खालका हुन्छन् भन्ने धारणा विदेशीले राखेको मेरो अनुभव छ। यो भनेको बोलेर बाठो र दौडेर चाँडो भइन्छ भन्ने मान्यताको उपज हो। यस्तो हुँदैन भन्ने सत्य त ‘कौवा बाठो भएर ... खान्छ, पाडो लाटो भएर दुध खान्छ’ भन्ने नेपाली उखान अनि कछुवा र खरायोको दौडमा कछुवाले दौड जित्यो भन्ने बालकथाले बताएको त छ नै, देखिएको पनि छ व्यवहारमा। यो समाजले सिकेको सिको हो। यस्तो सामाजिक सिकोको बेवास्ता गर्दै फोकटमा अर्काको समय खाइदिने गरी बाठो देखिन नै बोलिने कुराले दुःखबाहेक के नै दिन्छ र!
दुःख: बाक्लो बोक्रे कुराको
अर्को थरी ‘कुरैको दुःख’ हुने कुरा भनेको जे कुरा गर्नुपर्ने हो, त्यो कुरा छोटोमा भन्नु पर्नेमा बडो लामो गरी भनेर अरूको समय खाइदिने। यो कस्तो भने ‘कसैले तपाईंको नाम के हो?’ भनी सोध्यो भने घरतिरका जिज्यु बुबा, बुबा अनि मावलीतिरका जिज्यु बुबा, मामा, आमाको नामनामेसी बताएर मात्र आफ्नो नाम बताउने खालको। उसलाई घर–मावलीतिरको तीन पुस्ते बताऊ भनेको बेलामा अर्थात् रिन लिने तमसुक गर्ने बेलामा मात्र बाबुतिरको तीन पुस्ते र महालय श्राद्धमा तर्पण र पिण्ड दिँदा घर–मावलतिरका तीन पुस्ते चाहिने हो, अरू बेला आफ्नो नाम मात्र सोधेको बेलामा के उत्तर हुन्छ भनी छुट्याउन आउँदैन। त्यसैले हुन्छ जहिले पनि उही लामो कुरा, उही लामो उत्तर! यस्तो गरी बडो लामो कुरो गर्नेले झुटो बोलेको हुन्न, झुटको कारण अरूलाई खति पनि पुर्याउन्न तर अरूको समय अनावश्यक रूपमा बढी खाइदिन्छ।
अर्को थरी ‘कुरैको दुःख’ हुने कुरा भनेको जे कुरा गर्नुपर्ने हो, त्यो कुरा छोटोमा भन्नु पर्नेमा बडो लामो गरी भनेर अरूको समय खाइदिने। यो कस्तो भने ‘कसैले तपाईंको नाम के हो?’ भनी सोध्यो भने घरतिरका जिज्यु बुबा, बुबा अनि मावलीतिरका जिज्यु बुबा, मामा, आमाको नामनामेसी बताएर मात्र आफ्नो नाम बताउने खालको।
मानिसको यस्तो बानीको कारण मैले धेरै समय गुमाएको छु। केही समय म एक राष्ट्रिय संस्थाको कार्यकारी प्रमुखको जिम्मेवारीमा थिएँ। त्यसमा ५ जनाको समितिले निर्णय गर्नुपर्थ्याे। मेरो काम छलफलमा तर्क, विचार राख्ने हुन्नथ्यो, बरू हुन्थ्यो अजेन्डा राखिदिने, निर्णय गर्न जरुरी तथ्यहरू राखिदिने र छलफलको निष्कर्षमा जे निर्णय हुन्छ, त्यो निर्णयपुस्तिकामा लेख्ने, अर्थात् सचिवको काम। त्यसकारण अजेन्डा र तथ्य पस्केपछि म छलफल सुनेर बस्थें।
निर्णायकहरू छलफल गर्न थाल्नुहुन्थ्यो। उहाँहरू सबै ६५–७० वर्षमाथिका हुनुहुन्थ्यो। यसको अर्थ जीवनमा धेरै कुरा देखेर, भोगेर धेरै भोटा फटाएकाहरू हुनुहुन्थ्यो। त्यसकारण प्रस्तुत भएका अजेन्डासँग गाँस्न सकिने धेरै कथा उहाँहरूले आफैले भोगेका, देखेका वा सुनेका हुन्थे। त्यसैले सो अजेन्डासँग गाँसिएका कथाहरू पालैपालो सुनाउन थाल्नुहुन्थ्यो। यसो गर्दागर्दै दिनभरिमा एउटा निर्णय पनि हुन सक्दैनथ्यो। कथा बताउँदा र सुन्दा नै ठिक्क हुन्थ्यो, भोलिलाई सार्नुपथ्र्याे अजेन्डा। विषयमा सारभूत रूपमा केन्द्रित भएर छलफल गरे एकाध घण्टामा निर्णय हुन सक्ने अजेन्डामा कुरो अनावश्यक लम्बिनाले दुईतीन दिन छलफल हुन्थ्यो।
त्यो अनुभवले मलाई के सिकायो भने कतिपय कुरा गराइ चाहिनेभन्दा बढी विस्तृत हुन्छ, कुनै फलको बोक्रा बाक्लो भएझैं। प्रकृतिले त्यस्तै बनाएपछि फलका लागि बाक्लो बोक्राको पक्कै महत्व होला तर फल किनेर खानेका लागि त्यसको बाक्लो बोक्राका कारण पैसा खेर जान्छ किनकि तौलेर लिँदा बोक्राको पनि पैसा तिर्नुपर्छ। हेर्नोस् न, भुइँकटहरको बोक्रा कति फाल्नुपर्छ! त्यसैगरी लामो कुरा गर्नेको कुरा सुन्दासुन्दा सार कुरो के हो भन्ने नै थाहा पाउन मुस्किल हुन्छ वा बोक्रे कुरा सुन्दासुन्दा उत्सुकता नै ओइलाइसकेको हुन्छ।
दुःख: बदख्वाइँ र विरोध मात्र गर्नाले
कुरा गर्नेमा अर्का थरी भेटिन्छन्–जसको कुराको सार र विषयवस्तु कसैको विरोध गर्नु वा बदख्वाइँ गर्नुबाहेक अरू हुँदैन। उसको कुरामा विषयका बारेमा कार्य, कारण तथा नतिजाबारेको वस्तुपरक विश्लेषण हुँदैन। बदख्वाइँ र विरोध गर्नेको मनमा कुनै र कसैको राम्रो पक्ष देख्न सक्ने, देखेको भए भन्न सक्ने मन, चित्त वा मुटु नै हुँदैन। यो त रित्तिइ नै सकेको हो कि झैं लाग्छ।
कतिपय कुरा गराइ चाहिनेभन्दा बढी विस्तृत हुन्छन्, कुनै फलको बोक्रा बाक्लो भएझैं। प्रकृतिले त्यस्तै बनाएपछि फलका लागि बाक्लो बोक्राको पक्कै महत्व होला तर फल किनेर खानेका लागि त्यसको बाक्लो बोक्राका कारण पैसा खेर जान्छ किनकि तौलेर लिँदा बोक्राको पनि पैसा तिर्नुपर्छ।
यो प्रवृत्तिको कुरो गर्दा सानोमा पढेको एक नीति कथा सम्झन्छु। दुई साथीहरू कतै जाँदै थिए। बाटोमा एक सानो लहरामा ठुलो फर्सी फलेको देखेर एक जनाले साथीलाई भनेछ, ‘भगवान् वा प्रकृति पनि कस्तो विवेकहीन! यति सानो लहरामा त्यति ठुलो फल लगाइदिने!’ उनीहरू अलि पर घाममा हिँड्दै जाँदा थाकेर एक वरपीपल चौतारीमा सुस्ताउन बसेछन्। अनि उसैले फेरि टिप्पणी गरेछ, ‘यति ठुलो रुखमा पो त्यो त्यान्द्रोमा फलेको फल लाग्नुपर्ने!’ त्यसैबेला वरको एक फल खस्यो र उसैको टाउकोमा लाग्यो र गुड्कियो। उसलाई थाहा मात्र भयो, खासै दुखेन। उसको साथीले भनेछ, ‘यदि यो रुखमा त्यो लहरामा लागेको फल लाग्दो हो र अहिले टाउकोमा खस्दो हो त तेरो हविगत के हुँदो हो?’ उसले बल्ल चेत पाएछ र भनेछ, ‘धन्न भगवान्! यो रुखमा सानो फल लगाइदिएर ठिक गरेछौ!’
यो नीतिकथा पढाउँदा गुरुले दिएको शिक्षा थियो–जे भएको छ, त्यसका पछाडि जायज कारण हुन सक्छ, हामीलाई थाहा नहुन सक्छ। कारण राम्ररी नबुझी कुरा नकाट्नू, आलोचना नगर्नू, बरू के कारण होला भनी पत्ता लगाउन प्रयास गर्नू। आजसम्म ममा यो शिक्षा गढेर बसेको छ। त्यसकारण राम्ररी नबुझी ‘बेठिक’ भन्न मन मान्दैन।
म देख्छु, धेरै जना जो अरूले गरेको, बोलेको कुरालाई राम्रो भन्नै सक्दैनन्, बदख्वाइँ र विरोध भने तीन दिन जेठो बनेर गर्छन्। यो एक किसिमको रोग नै हो। भदौमा आँखा फुटेको गोरुले सबै हरियो देख्छ भनेझैं खराबबाहेक अरू नदेख्ने वा देखे पनि नभन्ने, भनेमा मोती खस्छझैं गर्ने। यसले आफूलाई त बेहित गर्छ नै, अरूलाई पनि प्रभाव पार्छ।
यो रोग हो र यसका रोगी धेरै राजनीति गर्नेहरू हुन्छन्। उनीहरू भन्छन्–विपक्षीको विरोध गर्नु, कुरा काट्नु राजनीति गर्नेको धर्म हो, चरित्र हो। धर्म र चरित्र हुनेले सिधालाई बाङ्गो देखून् कि सेतोलाई कालो भनून्, त्यसको परिणाम आफै जानून् तर निष्पक्ष र निरपेक्ष रही सुन्नेका लागि त्यसले दुःखबाहेक केही दिँदैन। त्यसले भ्रम छर्छ, निराशा बाँड्छ। तिनले दुधको दुध र पानीको पानी हुने गरी कुरा गर्न सक्दैनन्। आफ्नाले जे गरे पनि सही र अर्काले जे गरे पनि गलत भएको भनी जिद्दी गर्छन्, तर्क गर्छन् तर विरोध वा बदख्वाइँलाई ठिक ठहर्याउने ध्येयले मात्र। मन पर्नेको जे पनि सही र मन नपर्नेको सास पनि गनाएझैं गर्छन्। यसले अयथार्थ प्रेषण गर्छ, त्यसले सुन्नेको समय खेर त गराउँछ नै, नकारात्मकता पनि हलहली बढाउँछ।
गणतन्त्र ल्याउनुको कारण दलहरूले बताएका थिए–राजा संविधान र कानुनभन्दा माथि भए। अब कानुन सबैभन्दा माथि हुने व्यवस्था ल्याउनुपर्छ। विडम्बना संविधान र कानुनभन्दा माथि रहेका एक राजा गए तर आए राजनीति गरेको नाममा कानुनभन्दा माथि रहन चाहने सयौं, हजारौं मानिसहरू।
धेरै नेपालीमा देखिँदै गएको प्रवृत्ति हो–नेपालका जे पनि खराब अनि नराम्रा देख्ने, विदेशका सबै राम्रा देख्ने। यहाँको सडक नराम्रो, यातायात व्यवस्था नराम्रो, मानिसले गर्ने हरेक व्यवहार नराम्रो, चालचलन नराम्रो यस्तैयस्तै। नराम्राको सूची बनाउन खोजे कहिल्यै नटुंगिएलाजस्तो, राम्रो केही नै छैन जस्तो! दुःखको कुरा, नेपालका हरेक कुरा नराम्रो देख्नेमा दुई विशेषता हुन्छन्–ऊ आफूलाई भने त्यो नराम्रो हुनुको एक कारक वा पात्र रहेको देख्दैन र आफू पनि देश खराब हुनुको एक किला/कब्जा हुन सक्छु भनी मान्दैन। देख्नुभएकै हुनुपर्छ–यहाँको ट्राफिक नराम्रो हुनुमा सवारी चालकले लेन अनुशासन पालना नगर्नु, बाटो काट्न लागेको पैदल यात्रुलाई पालो नदिनु पनि कारक हुन्। यस्तो हुनुमा सवारी चालकको मनपरी र ट्राफिक प्रहरीले नियन्त्रण गर्न नसकेको भनी बढो उँचो स्वरमा विरोध गर्ने व्यक्तिले विदेशमा यस्तो हुँदैन भन्छ तर उसले नै आफूले पाउने बित्तिकै लेन मिचेको हुन्छ भने जेब्राक्रसमा उभिएको मानिसलाई सडक काट्न नदिएर ठोक्याएर हिँड्न कत्ति दकस मान्दैन।
राजनीतिक क्षेत्रको उदाहरण लिऔं। बजेट भाषणमा अर्थमन्त्रीले भने गाँजा खेतीको सम्भाव्यता खोजिनेछ। विपक्षी दलको नेताले तीक्ष्ण व्यंग्य कस्दै ताना मारे–आमाको लाम्टो चुसेर भएन, बाउको घुँडो चुसेर के नै लछारपाटो लाग्ला। अरू के के गरेर भएन, अब गाँजा खेती गरेर देशको विकास उँभो लाग्ला! वास्तविकता के थियो भने यसरी व्यंग्य कस्ने नेताको प्रधानमन्त्रीत्व कालमा नै उनको दलको एक सांसदले गाँजा खेती नेपालमा वैध गर्ने, यसबाट धेरै नेपालीको जीवन फेरिने, राज्यको कमाइ बढ्ने हुँदा नीतिगत रूपमा नै अघि बढाउनुपर्ने भनी एक विधेयक संसद्मा पेस गरेका थिए। आफ्नो सांसदले विधेयक पेस गर्दा ठिक मान्ने प्रधानमन्त्रीले आफू विपक्षी दलको नेता बनेपछि यही कुरालाई व्यंग्य गरेको सुन्दा विपक्षीको विरोधबाहेक त्यसमा कुनै उद्देश्य नरहेको बुझ्न कुनै आइतबार चाहिने कुरा भएन।
विरोध र बदख्वाइँ नै बोल्नुको उद्देश्य हुनेले सत्य र तथ्यलाई लुंगीले बेरेर भए पनि कुतर्क गर्दै बस्दारहेछन्, सुन्नेको समय बर्बाद गरेर।
सुनेर कुराको दुःख पाइएकै थियो, यो लेखक बजियाले लेखेर समेत दुःख दियो। यसो गर्दैमा के नै हुने हो र भन्ने लागेको होला पाठकलाई ! नयाँ कुरा केही छैन, हामीले थाहा पाएको कुरा नै लेखेर कागज र पढ्नेको समय खेर मात्र गरायो भन्ने पाठकलाई लागेको हुन सक्छ। मैले यो भेउ नपाएको कहाँ हो र! तर यसो सोचें–कुरा गर्यो कुराकै दुःख हुने गरी पाठकको मनमा ‘कतै मैले पनि यसो त गरिनँ’ भनी सचेत हुन यसले सघाउला कि भनेर हो लेखेको किनकि खुलेर नभनीदिने, पछाडि कुरो काट्ने बानी हुन्छ मानिसको। कसैले नभनीदिने भएपछि गल्ती कसरी थाहा पाउनु? कति जनाको अरूले के कुरा गर्दा आफूलाई दुःख भा’थ्यो थाहा पाए पनि मैले के गरें भने अरूलाई दुःख पुग्ला भन्ने मेलो पाउन्नन्, जसरी आफ्नो अनुहारमा कालो लागेको ऐना नहेर्दासम्म थाहा हुन्न। लेखेर भनेको कुरा ऐनाजस्तो हुन सक्छ, अनुहारको कालो देखाउने।
मान्छे तोकेर, घटना तोकेर नभनेको बेलामा रिस पनि उठ्दैन, त्यसैले चोरको खुट्टो काट् भन्दा चोरले खुट्टो तानेजस्तो, यो पढेपछि पाठकलाई यो कुरो मनमा आउला कि भनेर लेखेको हुँ। यसले कुरा गर्दा सतर्क हुन र आत्ममूल्याङ्कन गर्न सघाउला कि!
सोधिहालौं–पाठकलाई यो निबन्ध पढेपछि कुराकै दुःख भयोजस्तो त लागेको छैन नि?
प्रकाशित: ६ श्रावण २०८० ००:५२ शनिबार