कला

प्रेम गीत-२ को नौलो प्रचार

पोखरा- फिल्म निर्माण गरेपछि प्रचारका लागि पोस्टर भित्तामा टाँस्ने शैली कुनै नयाँ होइन। फिल्म 'कहाँ भेटिएला' निर्माणताका यो फिल्मको प्रचारमा भित्ते लेखनको प्रयोग भयो। यसलाई धेरैले नयाँपन भने। अहिले फिल्म प्रदर्शन आउनुअघि रेडियो, टेलिभिजन, पत्रिका र सामाजिक सञ्जालमा प्रचार गरिनु सामान्य मानिन्छ। तर, साउन १३ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउन लागेको फिल्म 'प्रेम गीत–२' को प्रचार पोखरामा नयाँ किसिमले गरिएको छ।

यस्तो प्रचार फिल्मको युनिटबाट नभई फ्यानबाट भएको हो। फिल्मका फ्यानहरूले मोटरसाइकलमा 'प्रेमगीत–२' को स्टिकर टाँसेका छन्। यहाँ फिल्मको नाम अंकित टिसर्ट लगाएर हिँडेका युवा प्रशस्त भेटिन्छन्। कपालमा फिल्मको नाम लेखिएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै युवा प्रचारमा जुटेका छन्। उक्त तस्बिर निकै भाइरल बनेको छ। यस्तै फिल्मको नामको कि–रिङ पनि बजारमा भेटिन्छन्।

निर्माता सन्तोष सेनले पोखरामा फिल्म पब्लिसिटीका लागि कुनै व्यक्तिलाई नखटाए पनि फिल्मका फ्यानहरूले गरेको प्रचारमा खुशी लागेको बताए। 'केही साथीबाट विभिन्न शैलीमा प्रचार भइरहेको सुनेको छु,' उनले भने, 'त्यहाँ सञ्चारकर्मी सुदीप पौडेललाई टिसर्ट उपलब्ध गराएका थियौं। कि–रिङ र कपालमा नाम लेख्ने हाम्रो भन्दा उहाँहरूकै रहर हो।'

फिल्मको अहिले डबिङ भइरहेको छ। केही दिनमै प्रचारका लागि नेपाल टुर जाने तयारी गरेको सेनले बताए। 'नेपालका प्रमुख सहरमा प्रचारमा जाँदैछौं,' उनले भने, 'फिल्मका नाम अंकित टिसर्टबाट दर्शकलाई प्रदर्शन मिति क्लिक गराउन खोजेका छौं।' सेनले प्रचारमा धेरै फन्डाभन्दा पनि फिल्मको कन्टेन्ट राम्रो हुनुपर्नेमा विश्वास राख्ने बताए। 'फिल्ममा समावेश केही गीत सार्वजनिक गरेका छौं,' उनले भने, 'केही दिनमा टिजर सार्वजनिक गर्नेछौं।'

पोखराका युवालाई एकजुट बनाएर प्रचार गरेका पौडेलले निर्माण टिमलाई खबर गरेरै प्रचारमा जुटेको बताए। उनले गएको हप्ता 'प्रेम गीत २' को टिम बनाएर फुटसल खेलाइएको बताए। उनका अनुसार छिट्टै नै 'प्रेमगीत २' युनिट समावेश गरी क्लोज क्याम्प गर्ने तयारी भइरहेको छ। रामशरण पाठकले निर्देशन गरेको फिल्ममा प्रदीप खड्का र अश्लेषा ठकुरीको मुख्य भूमिका छ।

प्रकाशित: ३० जेष्ठ २०७४ ०४:१९ मंगलबार

प्रेम गीत-२ को नौलो प्रचार