कला

राष्ट्रिय संङ्गीत तथा नृत्य महोत्सव शुरु

अशोक सुजन श्रेष्ठ

हेटौंडा- नेपाल संङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय संङ्गीत तथा नृत्य महोत्सव हेटौंडामा शुरु भएको छ। महोत्सवमा पहिलो दिन सुदुरपश्चिमको छलिया नृत्य, मध्यपश्चिमको चरिया नृत्य, पुर्वाञ्चलको गर्रा, जनकपुरको झिझिया, सौराहाको मयुरी नृत्य, भोजपुरी, मैथली र थारु गित तथा नृत्य, धिमा नृत्य लगाएत २२ प्रस्तुती थियो। महोत्सवको उदेश्य नेपाली संङ्गीत र नृत्यको सर्वाङ्गीण विकास गर्ने रहेको छ।

नेपाल संङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपती सरुभक्तले महोत्सव संगीत र नृत्य क्षेत्रको विकासमा कोशेढुङ्गा साबित हुने बताए। नेपालमा पहिलो पटक गरिएको महोत्सवलाई निरन्तरता दिने बताउँदै उनले महोत्सवलाई सफल बनाउन सरोकारवालालाई आग्रहपनि गरे। कार्यक्रमका प्रमुख अतिथी हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले महोत्सवले भाषा, संस्कृती संरक्षणसँगै भौगोलिक एकतामा बृद्धी गर्ने बताए। प्रतिष्ठानका प्राज्ञ सभा सदस्य उदय श्रेष्ठ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद शर्मा दुवाडी, संगितकर्मी सुशिला पाण्डे मानन्धरले महोत्सवले लुकेर रहेका प्रतिभाको उजागर गर्ने भन्दै निरन्तरता दिन आग्रह गरे।

प्राज्ञ परिषद सदस्य तथा महोत्सवका संयोजक माधव प्रधानले मेचीदेखि महाकालीसम्मका एक सय भन्दा बढी कलाकार र समूहले कला प्रस्तुत गर्ने बताए। महोत्सवमा महोत्सवको दोश्रो दिन मंगलबार शास्त्रीय संङ्गीत सम्बन्धी अन्तरक्रिया सहित शास्त्रीय संङ्गीत प्रस्तुती गरिने प्रतिष्ठानका प्राज्ञ सभा सदस्य एवम् स्थानीय संयोजक आशाकाजी श्रेष्ठले बताए । तेश्रो दिन बुधबार चेपाङ्ग, नेवार, तामाङ्ग, मगरको आकर्षक नृत्य, स्थानीय कलाकार र मकवानपुरबाट राष्ट्रिय ख्याती कमाएका कलाकारको प्रस्तुती रहने उनले जानकारी दिए ।

नाट्य महोत्सव बर्षेनी गर्दै आएको प्रतिष्ठानले तीन दिने संङ्गीत तथा नृत्य महोत्सव आयोजना गरेको हो। महोत्सवको अनुमानित खर्च १९ लाख रुपैंया लाग्ने प्रतिष्ठानले जनाएको छ । कार्यक्रमअघि हेटौंडाको सिमाचोकबाट शुरु गरिएको पञ्चेबाजा, धिमेबाजा, स्काउट तथा जातीय पोशाकसहितको र्‍याली कार्यक्रम स्थल पल्पसा सभागृहमा पुगेको थियो।

 

प्रकाशित: २२ जेष्ठ २०७४ १४:१२ सोमबार

राष्ट्रिय संङ्गीत तथा नृत्य महोत्सव शुरु