कला

'नसमाउ न नाडीमा'

पोखरा- अघिल्लो वर्षको हिट फिल्म 'छक्का पञ्जा' को सिक्वेल 'छक्का पन्जा-२' यतिबेला फ्लोरमा छ। फिल्मको टोली पोखरा–बाग्लुङ राजमार्गमा बिहीबार ट्राभल्स सङको सुटिङमा व्यस्त थियो।

'ए दाजु नसमाउ न नाडीमा

जान्न म त डिजेलको गाडीमा

हिलो लाग्छ नाइलनको सारीमा

यही गीत गाउँदै कलाकार जीतु नेपाल, केदार घिमिरे (माग्नेबुढा), वर्षा राउत, स्वस्तिमा खड्का र स्वरुपपुरुष ढकाल गाडीमा हुइकिँदै थिए। गीतको कोरियोग्राफर कविराज गहतराजले क्यामरा छेउमै बसेर एक्सन कट गर्दै थिए। 'यात्राको क्रममा गाइने गीत हो यो,' गीतको बारेमा गहतराजले भने, 'नायकनायिका सहरबाट आफ्नो गाउँ जाँदै गर्दाको दृश्यलाई कैद गरेका हौं।' गहतराजकै निर्देशनमा दीर्घ गुरुङले क्यामरामा त्यो दृश्य कैद गरेका थिए। यो गीतमा अल्मोडा उप्रेतीको संगीत छ।

फिल्मको निर्देशक दिपाश्री निरौला अलिक फुर्सदमा थिइन्। उनी फिल्म टिमसँग गफिँदै हाँसखेल गर्दै समय बिताइरहेकी थिइन्। फिल्मले नयाँ पुस्ताको कथा बोकेको उनले बताइन्। 'छक्का पञ्जा र यसको कथा बिल्कुल फरक छ,' उनले भनिन, 'यसमा पात्र उही भए पनि विषयवस्तु फरक छ।' उनका अनुसार फिल्मको ८० प्रतिशत काम सकिएको छ। 'अब १० दिनमा सुटिङ सक्छौं होला,' उनले भनिन्। फिल्म टोली काठमाडौं, धुलिखेल, पाल्पा हुँदै पोखरा आएको हो।

छक्का पञ्जाका 'राजा' दीपकराज गिरीले आफ्नो फिल्ममा निश्चित वर्ग नभएको बताए। 'हामीले युवादेखि वृद्धसम्मलाई समेटेका हुन्छौं,' उनले भने, 'परिवारसँगै बसेर हेर्ने फिल्म हो।' उनले छायांकनमा लोकेसनलाई प्रथामिकता दिएको प्रस्टाए। 'लोकेसन हेरेपछि यो कहाँको भनेर छुट्याउन गाह्रो हुन्छ,' उनले भने, 'देखे भोगेका र सुनेका कथा तर नउठाइएका विषयलाई समावेश गरेका छौं।' विभिन्न ठाउँको कला संस्कृतिलाई जोगाउँदै दर्शकबाट पाएको वाहवाहीले थप प्रेरणा मिल्ने उनले बताए।

फिल्मको लगानी झन्डै १ करोड २० लाख रुपैयाँ पुग्ने गिरीले बताए। फिल्मको सिक्वेलमा दोहोरिएकी अभिनेत्री  वर्षा राउतले मोडर्न लुक्समा दर्शकले देख्न पाउने खुलासा गरिन्। नायिका स्वास्तिमा खड्काले नयाँ टिममा काम गर्दा रमाइलो अनुभव भएको बताइन्। उनले फिल्ममा आफ्नो भूमिकाबारे खुलाउन चाहिनन्। फिल्म असोज ११ गतेदेखि प्रदर्शनमा आउनेछ।

प्रकाशित: २२ जेष्ठ २०७४ ०४:०९ सोमबार

नसमाउ नाडीमा