कला

युएईमा 'मेरी कुसुम'

काठमाडौं- आगामी जेठ २६ गतेलाई रिलिज मिति तोकिएको फिल्म 'मेरी कुसुम' हाल खाडी मुलुक युएईका विभिन्न सहरमा प्रदर्शन भइरहेको छ। फिल्म प्रदर्शन गराउनकै लागि मुख्य कलाकार मोहन बोगटी यतिबेला युएईमा छन्।

उनका अनुसार गत बिहीबार, शुक्रबार र शनिबार अवुधाबीमा रहेको मुसाफा मार्केट र नेसनल सिनेमा, अल ऐन मलमा रहेको अल ऐन ग्रान्ड सिनेमामा फिल्म देखाइएको थियो। 'फिल्म हेरेपछि दर्शकले राम्रो प्रतिक्रिया दिएका छन्। उनीहरूको प्रतिक्रियाले अझै केही समय फिल्म युएईमा देखाउने हो कि भन्ने सोच बनाएका छौं,' उनले भने, 'दर्शकले फिल्मको कथावस्तु र गीतसंगीतलाई रुचाइदिनुभयो।' युएईका हरेक हलमा बिहीबार १, शुक्रबार २ र शनिबार १ शो फिल्म देखाइएको थियो।

मोहनले युएईसहित दुबई, शारजहाँ, फुजेरालगायतका सहरमा आगामी साता फिल्म प्रदर्शन हुने बताए। एनआर घिमिरेको निर्देशन रहेको फिल्ममा मोहनसँगै हर्षिका श्रेष्ठको पनि मुख्य भूमिकामा अभिनय छ। फिल्मका निर्माता रवीन्द्र कु“वर र सुनिता शर्मा बोगटी हुन्।

प्रकाशित: ११ जेष्ठ २०७४ ०३:३२ बिहीबार

युएईमा मेरी कुसुम