कला

‘फाटेको जुत्ता’ मा बेरोजगार सौगात

काठमाडौं – सौगात मल्ल र प्रियंका कार्कीको मुख्य भूमिका रहने ‘फाटेको जुत्ता’को मुहुर्त गरिएको छ । बिहीबार भैंसेपाटीको कार्यविनायकमा पूजा गर्दै फिल्म घोषणा गरिएको हो । बेरोजगार युवालाई  फाटेको जुत्तासँग तुलना गर्दै तयार भएको फिल्मको समारोहमा सौगात र प्रियंकाले मुहुर्त सट दिएका थिए । मधेशको परिवेशमा निर्माण हुने फिल्ममा सौगात र प्रियंका दुवै मधेशी चरित्रमा देखिनेछन् । 

सौगातले फिल्मभित्र आफू बेरोजगार मधेशी युवाको भूमिकामा प्रस्तुत हुन लागेको जानकारी गराए । ‘एउटा सामान्य युवाको भूमिका गर्दैछु । हाँस्य श्रेणीको फिल्ममा जसरी फाटेको जुत्ताले कुनै पनि व्यक्तिको हैसियत बताउँछ, मेरो चरित्रमा त्यस्तै नै छ । तर, फाटेको जुत्ता कत्तिको उपयोगी हुन्छ, फिल्म यसैको सेरोफेरोमा बनेको छ,’ सौगातले भने । 

फिल्ममा प्रियंकाले भने भिलेनको छोरीको रुपमा अभिनय गरेकी छिन् । पहिलो पल्ट तराईको परिवेशमा काम गर्न लागेकी प्रियंकाले आफू फिल्मका लागि उत्साहित रहेको बताइन् । 

फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन् । ‘जिन्दगी रक्स’ निर्देशन गरेका निकेशको यो दोस्रो फिल्म हो । थुप्रै म्युजिक भिडियो निर्देशन गरेका निकेशले फिल्ममा तराईको दैनिकीसँगै त्यो दैनिकीमा अभ्यस्त एक चरित्रको कथा प्रस्तुत गर्न लागेको बताए । 

‘जुत्तालाई हामीले प्रतीकको रुपमा प्रयोग गरेका छौं । कतिपय मानिस फाटेको जुत्ताजस्तै अनुपयोगी र प्रतिष्ठाविहीन ठानिन्छन् तर मौकामा त्यही कुराले पनि ठाउँमा ठूलो काम गर्छ । फिल्मको मुख्य पात्र कथाको पनि यस्तै यस्तै नै छ ,’ खड्काले भने । फिल्मलाई अर्जुन कुमारले निर्माण गर्न लागेका हुन् । तीन वर्षअघि घोषणा भएको फिल्म बल्ल सुटिङमा जान लागेको हो । अर्जुन कुमारले फिल्मलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ रहेको बताए । 

वीरगन्जमा ३५ दिनको सेड्युल राखेर फ्लोरमा जान लागेको फिल्मको सुटिङ ७ गतेबाट सुरु हुनेछ । निरज महर्जनले लेखेको फिल्ममा कामेश्वर चौरसिया र रवीन्द्र झा पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् । शंकर थापाको संगीत रहेको फिल्मलाई निरज कँडेलले छायांकन गर्नेछन् । फिल्मको एक गीतमा मलिना जोशीले पनि अभिनय गर्नेछिन् । 

 

प्रकाशित: ५ जेष्ठ २०७४ ०५:३३ शुक्रबार

फाटेको जुत्ता बेरोजगार सौगात