कला

मूर्तिकार ठाकुरप्रसाद मैनाली ‘नेपाली आधुनिक मूर्ति कला रत्न’बाट अभिनन्दित

वरिष्ठ आधुनिक मूर्तिकार ठाकुरप्रसाद मैनाली ‘नेपाली आधुनिक मूर्ति कला रत्न’बाट अभिनन्दित भएका छन्। काठमाडौँको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सभा हलमा आज आयोजित एक कार्यक्रमबीच समसामयिक नेपाली मूर्तिकार समूह ‘आरम्भ’ले उनलाई अभिनन्दन गरेको हो।

मूर्तिकार मैनालीको ९०औं जन्मदिनका अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो। मूर्तिकार मैनालीले आफू ‘नेपाली आधुनिक मूर्तिकला रत्न’ले अभिनन्दित हुन पाउँदा धेरै खुसी लागेको बताए। यस किसिमको सम्मान पाउँदा ९० वर्षको उमेरमा पनि कला सिर्जना गर्ने हौसला मिलेको उनको भनाइ थियो। उनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति समेत हुन्।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा आमन्त्रित ललितकला प्रज्ञा प्रतिष्ठान उपकुलपति लालकाजी लामाले कलाकारद्वारा कलाकारका सम्मानका लागि गरिएको अभिनन्दन उदाहरणीय रहेको बताए। उनले नेपाली आधुनिक मूर्तिकला क्षेत्रमा नयाँ कलाकारको प्रेरणाको स्रोतका रूपमा वरिष्ठ मूर्तिकार मैनालीको योगदानलाई राज्यले सम्झनुपर्नेमा दुई मत नरहेको बताए। जुन समयमा परम्परागत मूर्ति अर्थात् देवीदेवताका बाहेक मूर्ति नै बन्दैनथ्यो, त्यस्तो बेलामा नेपालमा आधुनिक मूर्तिकला भित्र्याउने र बनाउने कार्य थाल्ने कार्यमा उनको ठुलो योगदान रहेको आयोजक संस्था आरम्भका अध्यक्ष सुदर्शन विक्रम राणाले बताए।

कार्यक्रममा प्राज्ञ सौरगंगा दर्शनधारी, वरिष्ठ मुर्तिकार डा। लय मैनाली, भुवन थापा, रमेश खनाल, वरिष्ठ मूर्तिकार नरेन्द्रबहादुर श्रेष्ठ, मूर्तिकार गंगाधर सारू, मुर्तिकार ओम खत्री, ललितकलाकार सुनीता राणा, मुर्तिकार पुष्पाञ्जली शेरचन, प्राज्ञ सभा सदस्य नरेन्द्र भण्डारी, सुरेम देशार लगायतको उपस्थिति थियो।

युवादेखि अग्रज मूर्तिकारलाई प्रोत्साहित गर्दै र अग्रजलाई सम्मान गर्दै उनीहरूका कलालाई विश्वसामु पुर्‍याउने लक्ष्य संस्थाले लिएको आरम्भले जनाएको छ।

प्रकाशित: १५ असार २०८० १५:०६ शुक्रबार

मूर्तिकार ठाकुरप्रसाद मैनाली ‘नेपाली आधुनिक मूर्ति कला रत्न’बाट अभिनन्दित