कला

कवि भैरव ढकालको ‘अन्तरमनको झङ्कार’ लोकार्पण

सिसार साहित्य प्रतिष्ठान काठमाडौंले कवि भैरव ढकालको कवितासंग्रह ‘अन्तरमनको झङ्कार’ लोकार्पण गरेको छ।

सिसार साहित्य प्रतिष्ठानका अध्यक्ष तथा पद्मकन्या बहुमुखी क्याम्पसका उपप्राध्यापक एवं समालोचक ज्ञाननिष्ठ ज्ञवालीका अध्यक्षता तथा प्राडा खेम कोइराला ‘बन्धु’ को प्रमुख आतिथ्यमा कार्यक्रम अध्यक्ष समालोचक ज्ञाननिष्ठ ज्ञवाली, प्रमुख अतिथि प्राडा खेम कोइराला ‘बन्धु’,साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, लिलाध्वज थापा प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा, साहित्यकार हिरण्यकुमारी पाठक, प्राडा गोविन्दमान सिंह कार्की, शिक्षासेवी यशोदा भट्टराई पौडेल, अन्तरमनको झङ्कारका सम्पादक तथा कवि कृष्ण बाउसे र पत्रकार राजनप्रसाद न्यौपानले कृतिको लोकार्पण गरेका थिए।

अन्तरमनको झङ्कार कृतिका सम्पादक तथा कवि कृष्ण बाउसेले स्वागत मन्तव्य दिएका थिए। उनले स्वागत मन्तव्यका क्रममो परिपक्व उमेरमा ल्याएको कवि भैरव ढकालको कविता सरल, सरस र प्रेरक रहेको बताए।

कार्यक्रममा प्रमुख अतिथि प्राडा ‘बन्धु’ ले कवि ढकाल कुनै जमानाको आफ्नो प्रिय विद्यार्थी भएको र पचासौं वर्षपछि उनै विद्यार्थीको कवितासंग्रहकाे लोकार्पणमा आफूलाई प्रमुख अतिथिको रूपमा पाउँदा अत्यन्तै  खुशी लागेको बताए।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले कवि लेखकले बढ्दो बेथितिविरुद्ध कलम चलाउनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा शिक्षासेवी यशोदा भट्टराई पौडेलले सर्जक भैरव ढकाल आफ्नो माटोप्रति जिम्मेवार रहेको बताइन्।

कार्यक्रमका अध्यक्ष ज्ञाननिष्ठ ज्ञवालीले कवि भैरव ढकालको पहिलो कविता छापिएको झन्डै ५० वर्षपछि कवितासंग्रहको रूपमा पाठकमाझ आउनु सिर्जनशीलता जीवन्तता रहेको बताए।

कवि तथा योग साधक राधिका पन्तले संचालन गरिएको उक्त कार्यक्रममा कवि कमला महत, दृष्टि अधिकारी, जनार्दन अधिकारी ‘धड्कन’, विजयध्वज थापा, हेमा अधिकारी, राजनप्रसाद न्यौपाने, रेणुका भट्टराई, हिरण्यकुमारी पाठक लगायतले लोकार्पित कृतिको एकएक कविता वाचन गरेका थिए।

प्रकाशित: १५ असार २०८० ०८:१८ शुक्रबार

अक्षर