कला

डा. अरुणा उप्रेतीलाई ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’

नेपाल स्रष्टा समाजले प्रसिद्ध लेखक तथा नारीकेन्द्रित खाद्य एवं पोषण अभियानकर्मी डा. अरुणा उप्रेतीलाई २०८० सालको ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ।

नेपाल स्रष्टा समाजको बैठकले डा. उप्रेतीलाई यस वर्षको ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ प्रदान गर्ने निर्णय गरेको हो।

त्यस्तै नेपाल स्रष्टा समाजले २०८० सालको ‘योगमाया न्यौपाने राष्ट्रिय अभियन्ता सम्मान’ महानारी योगमायाको व्यक्तित्व तथा कृतित्व प्रचारप्रसारमा लामो समयदेखि क्रियाशील स्रष्टा तथा अभियानकर्ता चन्द्रबहादुर बस्नेतलाई प्रदान गर्ने निर्णय गरेको छ।

योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मानमा आदरपत्र तथा २५ हजार १११ रुपैयाँ र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मानमा आदरपत्रका साथ (यस वर्षदेखि) ३५ हजार नगद राशि प्रदान गरिंदै छ। उक्त दुवै सम्मान यही असार २२ गते योगमाया दिवसमा प्रदान गरिंदै छ।

योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मानका संस्थापक साहित्यकार पवन आलोक र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मानका संस्थापक राजेश न्यौपाने तथा परिवार हुन्।

प्रकाशित: ११ असार २०८० ०५:३० सोमबार

अक्षर