कला

मानव समाजको इतिहास खोतल्ने पुस्तक

पुस्तक

मानव समाजको विकासक्रमबारे नेपाली लेखकले लेखेका मौलिक पुस्तक भेटाउन मुस्किल छ। भएका केही पुस्तक पनि अवस्तुगत र अवैज्ञानिक लेखनका कारण पत्यारिला छैनन्। नेपाल प्रज्ञा प्रतिष्ठानले मानव समाजको विकासक्रमबारे प्रकाशित गरेको एउटा पुस्तकको भ्रमपूर्ण सन्देशबारे समीक्षकहरूले गरेको तिखो आलोचना स्मरणीय छ। त्यसकारण पृथ्वीको उत्पत्तिदेखि मानव समाजले आजसम्म गरेको यात्राबारे पढ्न नेपाली पाठकले विदेशी, अझ विशेषतः भारतीय लेखकका किताबमा भर पर्नुपरेको छ।

राहुल सांकृत्यायनलगायत भारतीय लेखकले लेखेका पुस्तकले तुलनात्मक रूपमा नेपाली समाजको समेत केही सीमासम्म व्याख्या गरिएकाले पनि गम्भीर पाठक यतातिर लागेका हुन सक्छन्। मानव समाज विकासक्रमबारे विदेशी लेखकका कृतिको नेपाली अनुवाद पनि कम छन्। भएका केही पनि जटिल र अस्पष्ट अनुवादका कारण पाठक अलमलिने वा पठनको बीचैमा त्याग्नुपर्ने अवस्था छ। अनुदित कृति पढ्दा एकातिर कुरा बुझ्ने कठिनाइ त छँदै छ, अर्कोतिर तिनमा नेपाली समाजको सन्दर्भ नजोडिँदा त्यस्ता कृतिलाई नेपाली परिप्रेक्ष्यमा बुझ्न अझ कठिन हुने गरेको छ।

मानव समाजको विकासक्रमबारे नेपाली लेखकले लेखेका मौलिक पुस्तक भेटाउन मुस्किल छ। भएका केही पुस्तक पनि अवस्तुगत र अवैज्ञानिक लेखनका कारण पत्यारिला छैनन्। नेपाल प्रज्ञा प्रतिष्ठानले मानव समाजको विकासक्रमबारे प्रकाशित गरेको एउटा पुस्तकको भ्रमपूर्ण सन्देशबारे समीक्षकहरूले गरेको तिखो आलोचना स्मरणीय छ।

हरिबहादुर श्रेष्ठको हालै प्रकाशित ‘मानव समाजको एक झलक’ पुस्तकलाई त्यस कोणबाट पनि एउटा उपलब्धि मान्नुपर्छ। (हरिबहादुर श्रेष्ठ नारायणमान बिजुक्छेंको लेखन नाम हो। सो नाममा उनका दर्जनौं साहित्यिक एवम् वैचारिक कृति प्रकाशित छन्) प्रथमतः यो कुनै अनुवाद कृति होइन। यो लेखकको मौलिक कृति हो। दोस्रो, यसमा नेपाली सन्दर्भको समेत व्याख्या हुँदा पाठकलाई मानव समाजको विकासक्रमलाई नेपाली सन्दर्भमा बुझ्न सहज हुन्छ।

लेखकले भारत प्रवासका क्रममा ‘राजनीतिक कार्यकर्तालाई प्रशिक्षण दिन तयार पारिएका टिपोट’ का आधारमा यो कृति लेखेको बताएका छन्। लामो समयसम्म यो कृतिको पाण्डुलिपि अपूर्णता र प्रकाशनको चाँजोपाँजो नमिल्दाको अलमलमा अप्रकाशित रह्यो। तर, झन्डै साढे चार दशकपछि यो पुस्तक मानव समाजको विकासक्रमबारे मार्क्सवादी परिभाषा र त्यसको नेपाली सन्दर्भमा व्याख्या बुझ्न उपयोगी कृतिका रूपमा प्रकाशित भएको छ। हिजोका कतिपय अपूर्ण सन्दर्भलाई पूर्णता दिइएको छ। चार दशकअघि पत्ता नलागेका वैज्ञानिक तथ्य तथ्याङ्क अद्यावधिक गरी लेखकले आफ्नो बुझाइलाई अझ बलियो गरी पुस्तक पाठकसमक्ष ल्याएका छन्।

लेखकले भारत प्रवासका क्रममा ‘राजनीतिक कार्यकर्तालाई प्रशिक्षण दिन तयार पारिएका टिपोट’ का आधारमा यो कृति लेखेको बताएका छन्।

मानव समाजको विकासक्रमबारे माक्र्सवादी व्याख्याको आधिकारिक पुस्तक फ्रेडरिक एङ्गेल्सले लेखेको ‘परिवार, निजी सम्पत्ति र राज्यसत्ताको उत्पत्ति’ मानिन्छ। अमेरिकी नृवंशशास्त्री लुइस मोर्गानको पुस्तक ‘एन्सेन्ट सोसाइटी’ लाई आधार बनाएर लेखिएको यो पुस्तकमा आदिम साम्यवादी समाजदेखि मानव समाजमा परिवार, निजी सम्पत्ति र एवंरीतले राज्यसत्ताको विकास कसरी भएको थियो भन्ने कुराको गहिरो व्याख्या गरिएको छ। जसरी मानिस भगवान्को सर्वोकृष्ट रचना हो भन्ने आदर्शवादी चिन्तनलाई बेलायती जीवशास्त्री चाल्र्स डार्बिनले ‘ओरिजिन अफ स्पिसिस’ प्रकाशन गरेर खण्डन गरेका थिए, त्यसरी नै एङ्गेल्सले मोर्गानको सहायतामा ‘परिवार, निजी सम्पत्ति र राज्यसत्ताको उत्पत्ति’ पुस्तक लेखेर राज्य, राजकीय अधिकार र निजी सम्पत्तिलाई मानिसको अविभाज्य कुरा मान्ने असत्यको खण्डन गरेका थिए।

इतिहासको कुनै खण्डमा मानिससँग न निजी सम्पत्ति थियो, न राज्य सत्ता अनि शासक नै थिए। समाज विकासक्रमको सिलसिलासँगै ती कुराको विकास भयो।

मानव समाजको विकासक्रमबारे माक्र्सवादी व्याख्याको आधिकारिक पुस्तक फ्रेडरिक एङ्गेल्सले लेखेको ‘परिवार, निजी सम्पत्ति र राज्यसत्ताको उत्पत्ति’ मानिन्छ।

मानिसले मानिसमाथि शोषण गर्ने अवस्थाको विकास पनि तिनै कुराको विकाससँगै भएको थियो। शोषित हुनुलाई कसैले आफ्नो पूर्वजन्मको फल, भाग्य आदिसँग जोड्ने र नियतिप्रति आत्मसमर्पण गर्ने सोच अथवा कसैमाथि शोषण गर्नु आफ्नो नैसर्गिक अधिकार ठान्ने चिन्तनलाई भुईंमा उभ्याउन एङ्गेल्सको त्यो कृतिले महत्वपूर्ण भूमिका खेल्यो। उनले डार्बिनका खोजमा जरा गाड्दै मानिस कुनै बेला आजभोलिका जङ्गली पशुजस्तै जङ्गलमा बस्थे, सिकार खेल्थे, काँचै खानेकुरा खान्थे भन्दै शासन गर्नुलाई ईश्वरीय अधिकार ठान्ने शासकको झुठो भ्रमको पर्दा च्यातिदिए।

मार्क्स र एङ्गेल्ससँग इतिहासको व्याख्या गर्ने ऐतिहासिक भौतिकवादी दार्शनिक ज्यावल थियो। त्यही दार्शनिक ज्यावल प्रयोग गरी एङ्गेल्सले निजी सम्पत्तिको उत्पति हुँदै राज्यसत्ताको विकाससम्मको व्याख्या गरेर मानव समाजको शोषणको शिलशिला सुरु भएको बिन्दु उजागर गरे।

पृथ्वीको उत्पत्तिदेखि एककोशीय जीवको विकास, जङ्गली मानिसको विकाससँगै आदिम साम्यवादी समाज निर्माण, निजी सम्पत्ति हुँदै राज्यसत्ताको यात्रा, दास युग, भूदास युग, सामन्तवादी युग र पुँजीवादी युगसम्मको विकासक्रम नै मानव समाज विकासक्रमबारे मार्क्सवादी परिभाषाको खाका हो। त्यसअघिका राज्य व्यवस्थाजस्तै पुँजीवादी व्यवस्था पनि आफ्नै अन्तरविरोधका कारण ध्वस्त भएर अन्ततः समाजवाद हुँदै साम्यवादी व्यवस्थासम्म मानव समाज पुग्ने मार्क्सवादीहरू विश्वास गर्छन्।

हरिबहादुर श्रेष्ठले ‘समाज विकासको एक झलक’ पुस्तकमा यही खाकाभित्र रहेर पृथ्वीको उत्पत्तिदेखि पुँजीवादी व्यवस्थासम्मको व्याख्या गरेका छन्। अनि श्रमिक वर्गको क्रान्तिबाट अन्ततः समाजवाद र साम्यवादी व्यवस्थासम्मको यात्राबारे पुस्तकमा चर्चा गरिएको छ।

पृथ्वीको उत्पत्तिदेखि एककोशीय जीवको विकास, जङ्गली मानिसको विकाससँगै आदिम साम्यवादी समाज निर्माण, निजी सम्पत्ति हुँदै राज्यसत्ताको यात्रा, दास युग, भूदास युग, सामन्तवादी युग र पुँजीवादी युगसम्मको विकासक्रम नै मानव समाज विकासक्रमबारे माक्र्सवादी परिभाषाको खाका हो।

लेखकले एङ्गेल्सको पुस्तकलाई मूल आधार बनाए पनि विभिन्न देशका अध्येताका तर्क बुन्दै विभिन्न ऐतिहासिक कालखण्डका विशेषताबारे थप व्याख्या गरेका छन्। इतिहासका कालखण्डको विकासक्रम, विशेषता र पतनको व्याख्या गर्दै त्यतिबेलाका श्रमिक र उत्पीडित वर्गमाथि शोषण र उत्पीडनका तरिकाबारे चर्चा गरेका छन्।

यसरी व्याख्या गर्ने क्रममा लेखकले नेपाल, भारत, बेलायत, फ्रान्स, इटाली, अस्ट्रेलिया, दक्षिणपूर्वी एसिया, अफ्रिकी देशहरूका सन्दर्भ जोडेर आफ्ना तर्क प्रस्ट र पत्यारिलो बनाएका छन्।

लेखक श्रेष्ठले विभिन्न सन्दर्भ पुस्तक र लेखकका भनाइको अध्ययनका क्रममा नेपाली सन्दर्भको खोजी गर्दै नेपाली समाजको व्याख्या गर्ने प्रयास गरेका छन्।

विशेषतः लिच्छविकाल, मल्लकाल र शाहकाललाई समाज विकासक्रमको माक्र्सवादी खाकाभित्र व्याख्या गरिएको छ।

यो कृति त्यसकारण नेपाली अध्येता र पाठकका निम्ति उपयोगी र पठनीय बनेको छ। यस अर्थमा यो कृतिलाई मानव समाजको विकासक्रमबारे माक्र्सवादी सिद्धान्तको परिप्रेक्ष्यमा नेपाली समाजको अध्ययन गर्ने प्रयत्न गरिएको कृति भन्न सकिन्छ। यो पुस्तक नेपालको समाजशास्त्र र मानवशास्त्र अध्ययनका निम्ति उपयोगी सन्दर्भ सामग्री बन्न सक्छ। राजनीतिशास्त्र र सामाजिक अर्थतन्त्रका अध्येताका निम्ति यो कृति पाठ्यपुस्तक जत्तिकै महत्वपूर्ण पुस्तक हुन सक्छ।

नेपालका विभिन्न थर र जातिलाई समाज विकासक्रमको मार्क्सवादी दृष्टिकोणअनुरूप गरिएको व्याख्याले विद्यमान केही व्याख्यालाई चुनौती दिन सक्छ। यो पुस्तकको प्रकाशनले नेपाली बजारमा चर्चामा रहेका केही अवधारणा जस्तै दलित, महिला, जाति, विभिन्न प्रथाबारे कतिपय अतिरञ्जनालाई चिर्न र वास्तविक धरातलमा उभ्याउन सक्छ। ऐतिहासिक रूपमा यी विषयहरूको विकास कसरी भयो भन्ने व्याख्याले त्यससँग सम्बन्धित केही अतिरञ्जना र भ्रमलाई सही आकार दिन मद्दत गर्न सक्छ। पुस्तकमा मानव समाजको गहन व्याख्या गरे पनि धर्मजस्तो मानिससँग जोडिएको विषयमा भने कुनै विशेष चर्चा छैन अथवा साङ्केतिक रूपमा केही कुरा मात्र उल्लेख छन्।

लेखक श्रेष्ठले विभिन्न सन्दर्भ पुस्तक र लेखकका भनाइको अध्ययनका क्रममा नेपाली सन्दर्भको खोजी गर्दै नेपाली समाजको व्याख्या गर्ने प्रयास गरेका छन्। विशेषतः लिच्छविकाल, मल्लकाल र शाहकाललाई समाज विकासक्रमको माक्र्सवादी खाकाभित्र व्याख्या गरिएको छ।

विषयवस्तुमा गहन अध्ययन गर्ने र सटिक विश्लेषण गर्ने राजनीतिक व्यक्तित्वको छवि बनाएका बिजुक्छेंको यो कृतिले उनको प्रवास जीवनको गम्भीर अध्ययनलाई प्रतिबिम्बित गरेको छ।

प्रवास जीवनको प्रतिकूलताबीच पनि गहन अध्ययन र यति गम्भीर कृतिको लेखनले उनको व्यक्तित्वको अझै खुल्न बाँकी पाटो उजागर गरेको अनुभव हुन्छ। निःसन्देह चार दशकपछि विज्ञान प्रविधि र खोज अनुसन्धानले ठुलो फड्को मारिसकेको छ। सीमित स्रोतका आधारमा उतिबेला तयार पारिएको यो कृतिमा आजको खोज अनुसन्धानको सापेक्षमा अपुग कुरा होलान्। तर, मानव समाजको विकासक्रमलाई माक्र्सवादी कोणबाट व्याख्या गर्दै नेपाली समाजलाई  मार्क्सवादी दर्शनको आधारमा विश्लेषण गरिएका निकै थोरै कृतिमध्ये हरिबहादुर श्रेष्ठको ‘समाज विकासको एक झलक’ पनि जोडिएको छ।

विषयवस्तुमा गहन अध्ययन गर्ने र सटिक विश्लेषण गर्ने राजनीतिक व्यक्तित्वको छवि बनाएका बिजुक्छेंको यो कृतिले उनको प्रवास जीवनको गम्भीर अध्ययनलाई प्रतिबिम्बित गरेको छ।

चार दशकअघि कतिपय औपचारिक विद्यालय जीवनसमेत नभएका कार्यकर्तालाई लक्षित गरी मानव समाजको विकासक्रमका जटिल जीवशास्त्र, भौतिकशास्त्र, अर्थशास्त्र, समाजशास्त्र, नृवंशशास्त्रका गहिरा खोज अनुसन्धान बुझाउन तयार पारिएको कृति भएकाले हुन सक्छ, पुस्तकको भाषाशैली सरल छ। जटिल कुरालाई पनि सरल भाषामा लेखिनु यो पुस्तकको अर्को विशेषता हो। समयसापेक्ष सन्दर्भ थपिएकाले आजका पाठकले पनि यो कृति चार दशकअघि लेखिएको पुस्तकजस्तो होइन, नवीन ताजगीका साथ पढ्न सक्छन्। 

प्रकाशित: ९ असार २०८० ०४:५६ शनिबार

अक्षर