कला

असारमा लोकदोहोरी अवार्ड

पोखरा- आगामी असार १७ गते राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा 'पाँचौं राष्ट्रिय लोक दोहोरी अवार्ड २०७४' हुने भएको छ। अवार्ड आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिले पोखरामा पत्रकार सम्मेलन गर्दै अवार्डमा वर्ष २०७३ मा बजारमा आएका गीतलाई समावेश गरिने जानकारी दिएको हो।

समितिका अध्यक्ष पिएन सापकोटाले अवार्डमा २७ विधामा प्रतिस्पर्धासहित लाइफटाइम अचिभमेन्ट अवार्ड, उत्कृष्ट सदाबहार गीत, कोरस गायन, कोरस गायन सम्मान, दशकका स्रष्टा सम्मान गरी ३१ विधामा अवार्ड दिइने बताए। 'अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन भन्ने नारालाई आत्मसात गर्दै हामीले पाँच वर्षदेखि निरन्तर अवार्ड कार्यक्रम गर्दै आएको छौं,' अध्यक्ष सापकोटाले भने, 'विगतका अवार्डजस्तै यस पटक पनि हामी भव्य र सभ्य साथ अवार्ड गर्नेछौं।' सापकोटाले मनोनयन आवदेन फारामका लागि पाँच सय शुल्क लाग्ने बताए। 

आयोजकका अनुसार लाइफटाइम अवार्डमा १५ हजार ५ सय ५५, सदाबहार सम्मानमा ५ हजार ५ सय ५५, दर्शक स्रष्टा सम्मानमा ५ हजार ५ सय ५५, कोरस गायन सम्मानमा ३ हजार ३ सय ३३ रुपैयाँसहित दोसल्ला र सम्मानपत्र हुनेछ। अध्यक्ष सापकोटाले अवार्ड सम्पन्न गर्न २५ लाख खर्च हुने बताउँदै ३३ लाख अनुमानित आम्दानी हुने जनाए।

प्रकाशित: २१ वैशाख २०७४ ०४:३१ बिहीबार

असारमा लोकदोहोरी अवार्ड