कला

भाषा संरक्षणमा जुटे चितवनको तामाङ समुदाय

चितवनका तामाङ समुदाय भाषा संरक्षणका लागि जुटेका  छन्। पछिल्लो समय लोप हुँदै गएको तामाङ भाषाको संरक्षणका लागि प्रशिक्षण कार्यक्रम  सञ्चालन गरेका हुन्।

तामाङ पत्रकार संघ चितवनको आयोजनामा एक हप्ते ‘तामाङ भाषा प्रशिक्षण’ सम्पन्न भएको हो। प्रशिक्षणबाट लोप हुँदै गएको तामाङ भाषा संरक्षणमा थोरै भए पनि टेवा पुगेको तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङले बताए।

समग्र आदिवासी जनजाति समुदायले आएको मातृभाषा हराउने क्रममा रहेको बेला संघले चितवन जिल्लामा रहेका तामाङ समुदायको सहभागितामा भाषा संरक्षणका लागि कक्षा सञ्चालन गरेको उनको भनाइ छ।

भाषा प्रशिक्षण कार्यक्रममा भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले भाषा संरक्षण अबका पुस्तालाई चुनौतीको विषय बन्दै गएको बताए।

उनले स्थानीय सरकारले पनि मौलिक भाषा संरक्षणमा सकेको सहयोग गर्दै जाने प्रतिबद्धता बताए।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनका अध्यक्ष महेन्द्र दुराले चितवनमा तामाङ भाषा कक्षा सञ्चालन गरेर अन्य जातिलाई समेत प्रेरणा दिलाउने काम गरेको बताए।

जिल्लामा रहेका १७ आदिवासी जनजातिमध्ये थारू र चेपाङबाहेक अन्य जाति बाहिरी जिल्लाबाट आएर बसेको हुँदा भाषामा समस्या भएको उनले बताए। देशभरका विभिन्न जिल्लाबाट आएर बसोबास गर्ने र एक आपसमा आफ्नो भाषा पनि बोल्न नखोज्ने समस्याका कारण भएको भाषा पनि लोप हुने अवस्थामा आइपुगेको उनको भनाइ छ। यस्ता प्रशिक्षण कार्यक्रमले आफ्नो मातृ भाषा बोल्ने बानीको विकास हुनेमा विश्वास व्यक्त गरे।

प्रशिक्षणमा सहभागी तीन जनालाई तामाङ जातिको टोपी लगाएर सम्मान समेत गरिएको थियो। चितवनका पत्रकारद्वय सूर्यप्रकाश कँडेल र प्रेम कँडेल तथा त्रिचोक निवासी हिमाल कँडेलले एक हप्तासम्म नियमित सहभागी भएर तामाङ भाषा सिकेका थिए। भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा भएको तालिम अवधिभर अधिवक्ता अजयकुमार तामाङले प्रशिक्षण दिएका थिए। प्रशिक्षणमा ६० जनाको सहभागिता रहेको  थियो।

प्रकाशित: २ असार २०८० ०४:०२ शनिबार

अक्षर