कला

‘शब्दबिम्बमा सत्यमोहन’ सार्वजनिक

सांस्कृतिक साधक सत्यमोहन जोशीबारे लेखिएका लेखरचनहरूको सँगालो ‘शब्दबिम्बमा सत्यमोहन’ सार्वजनिक भएको छ। गोपीकृष्ण ढुंगानाद्वारा सम्पादित उक्त कृतिलाई पत्रकार भैरव रिसालले राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरेका हुन्।

उक्त अवसरमा पत्रकार रिसालले भने, ‘घडाबाट जति अमृत झिके पनि निस्किरहन्छ। सत्यमोहनबारे अझै थुप्रै कृति तयार पार्न सकिन्छ। उहाँका बारेमा अध्ययन गर्ने सन्दर्भ कैयौं छन्।’

साहित्यकार श्रीओम श्रेष्ठ रोदनले सत्यमोहनले १२ वटा अभिलेखमा कीर्ति राखेकाले उनका बारेमा यसरी पुस्तक तयार पार्नु ऐतिहासिक भएको बताए। उनले भने, ‘सबैका सत्यमोहन बन्ने अवसर पाउने व्यक्ति जीवित संग्रहालय पनि हुनुहुन्थ्यो।’ सत्यमोहनका सुपुत्र अणुराजले बुबाका बारेमा ग्रन्थ तयार पारेर अध्ययन-अनुसन्धान गर्नेहरूका लागि गतिलो खुराक तयार भएको बताए।

प्राध्यापक डा. ज्ञानु पाण्डेले सदाका लागि उज्यालो छोडेर जाने स्रष्टा सत्यमोहन भएको बताउँदै उनी सिंगो नेपाल र संस्कृति भएको बताइन्। उनले भनिन्, ‘देशका लागि केही गरूँ भन्ने र गर्ने व्यक्तित्वबारेको विविध आयाम समेटेको यस कृतिले चिरकालसम्म अर्थ राख्नेछ।’

प्राध्यापक डा. लेखप्रसाद निरौलाले इतिहास, संस्कृति, साहित्य र मानवताका दृष्टिकोणले सत्यमोहन नेपाली समाजका शिखर पुरुष भएको बताए।

सम्पादक ढुंगानाले समयले सत्यमोहनलाई बनाएको र सत्यमोहनले समयलाई बनाएको आफ्नो अध्ययनको निष्कर्ष रहेको बताए। उनले भने, ‘सत्यमोहनले न अरूलाई तराजुमा जोखे, न अरूको तराजुमा जोखिए। हरमिनेटलाई जीवनको अर्थसँग जोडेर आफूलाई सगरमाथाको उचाइ दिए।’

कृति भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो। 

प्रकाशित: २ असार २०८० ०३:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App