कला

‘घामपानी' बाट चम्केका अंकित

काठमाडौं- फिल्म समीक्षक दीपेन्द्र लामाद्वारा निर्देशित ‘घामपानी' मा असई कमलप्रसाद अधिकारीको भूमिकामा देखिएका अंकित खड्का शुभचिन्तकहरुबाट तारिफ बटुल्न व्यस्त छन्। ‘घामपानी' बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरिरहेको अंकित नेपाली रंगमञ्चमा कहिले मञ्चपछाडि त कहिले अगाडि देखिइरहने नाम हो।

राजधानीको मण्डला थिएटरसँग विगत साढे तीन वर्षदेखि आबद्ध उनलाई ‘घामपानी' फिल्मका रामबाबु गुरुङले अभिनय गर्न प्रस्ताव गरेका थिए। ‘फिल्मको स्त्रि्कप्ट पढेपछि प्रहरीमा जागिरे साथीहरुसँग केही दिन नियमित भेटघाट गर्न थाले। उनीहरुको हाउभाउलाई मलाई दिएको पात्रमा प्रस्तुत गर्न सफल भएजस्तो लाग्छ,' उनी भन्छन्, ‘स्त्रि्कप्टमा आँखा झिम्काउने शैली केही फरक भए पनि मेरो शैली निर्देशकलाई मन परेपछि त्यसैलाई निरन्तरता दिएको हुँ।'

लभस्टोरी फिल्ममा काम गर्ने तयारीमा रहेका उनी एकसाथ फिल्म र थिएटरमा काम गर्न अप्ठ्यारो हुने अनुभव सुनाउँछन्। ‘एकैसाथ थिएटर र फिल्ममा काम गर्न अप्ठ्यारो हुने रहेछ। थिएटरलाई प्राथमिकतामा राखे पनि फिल्ममा काम भने गर्नेछु।'

भारतको मेघालयमा जन्मिएका उनको बाल्यकाल सिन्धुपाल्चोकको लाँगर्चे गाविसमा बितेको थियो। पाँच दाजुभाइमध्ये कान्छा उनकी एक दिदी छिन्। ‘गाउँमा बिजुली नभए पनि नजिकै ओढारे भन्ने ठाउँमा ब्ल्याक एन्ड ह्वाइट टिभीमा नेपाली फिल्म सोलारबाट देखाइन्थ्यो। पाँच रुपैयाँ तिरेर साथीसँग एउटा फिल्म हेर्ने गर्थें। त्यतिखेर अभिनेता राजेश हमालको फ्यान थिए,' अभिनेता अंकितले भने, ‘पढ्दापढ्दै राजेश हमालजस्तो हिरो हुने भूत चढेपछि पढाइ भने खासै राम्रो हुन सकेन।'

२०६२ सालताका दर्पण फिल्मस्ले नेपाल टेलिभिजनमा ‘अब त अति भो' नामक सिरियलमा अभिनय गर्ने मौका दिनेे भएपछि अंकित आठ कक्षा पढिरहँदा आमाबुबासँग दुई सय ५० रुपैयाँ मागेर भक्तपुरमा रहेकी दिदीकोमा आए।

‘पहिलोपटक हिरो बन्छु भनेर काठमाडौं आएपछि थाहा भयो दर्पण फिल्मस्ले दिने तीनमहिने अभिनय कोर्सका लागि ५ हजार तिर्नुपर्ने रहेछ। पैसा जोरजाम गरे पनि तर त्सको काम लागेन,' अंकितले भने। पछि उनले कृष्ण फिल्मस्मा पुगेर नृत्यको प्रशिक्षण लिए। तर, सोचेजस्तो काम पाएनन्। आम मध्यमवर्गीय युवाझैं कलाकार बन्ने सपनाको माया मारेर जागिर गर्न लागे। ‘केही वर्ष जागिर खाएपछि अबचाहिँ अभिनयमा लाग्छु भनेर मण्डला थिएटर पुगें,' अंकितले अभिनयमा औपचारिक रुपमा लाग्नुअघिको आद्योपान्त सुनाए। । निर्देशक सुनील पोखरेलले मण्डला थिएटरमा सञ्चालन गरेको तीनमहिने अभिनय प्रशिक्षण लिएपछि इन्द्रबहादुर राईको कथामा बनेको ‘जार'मा पहिलोपल्ट कलाकारका रुपमा देखा परे। पहिलो नाटकबाटै सम्भावना देखाएका अंकित आफू  अभिनेता बन्नु पछाडि दयाहाङ राई, राजन खतिवडा र सृजना सुब्बाको हौसला खास रहेको बताउँछन्।

‘मण्डला थिएटरले मेरो अभिनय यात्रालाई निरन्तरता दिन प्रोत्साहन गर्‍यो। सुरुवाती दिनमा समस्या भए पनि आजभोलि राम्रो गर्छु भन्ने आत्मविश्वास बढ्दै गएको छ,' अंकित भन्छन्। पहिलो फिल्मबाटै छाप छाड्न सफल भए पनि उनले फिल्म र नाटकमध्ये नाटकमा बढी सन्तुष्टि मिल्ने बताए।

पछिल्लोपटक ‘युमा' नामक नाटकमा अभिनय गरेका उनले ‘जार', ‘माथापञ्चर', ‘वैतणी क्याफे',’छिद्र क्यानभास' र ‘योजना पार्क'लगायतमा अभिनय गरिसकेका छन्।

प्रकाशित: ७ वैशाख २०७४ ०२:५८ बिहीबार

घामपानी चम्केका अंकित