कला

थिएटर मलमा चैते ‘आन्दोलन’

काठमाडौं – २०६२ चैतको २४ गते नै राजा ज्ञानेन्द्रको शासनविरुद्ध जनता आन्दोलनमा उत्रिएका थिए । सोही आन्दोलन सम्झाउने गरी सुन्धारास्थित नाटकघर थिएटर मलले भने नाटक नै तयार पारेर मञ्चन सुरु गरेको छ । 

‘आन्दोलन’ शीर्षकमा नै तयार भएको नाटकले मंगलबार मञ्चनको एक साता पूरा गरेको छ । यो आन्दोलन पनि २०६२/०६३ को आन्दोलनजस्तै १९ दिनसम्म चल्ने छ । 
बिहीबारदेखि मञ्चन थालेको नाटकले आन्दोलनकै सेरोफेरोमा रहेर कथाको उठान गरेको छ । २०६२/०६३ को आन्दालनको सन्दर्भमा युवाहरूले आन्दोलनमा पुर्याएको भूमिका र नेपाली जनताले राज्य प्रणालीविरुद्ध ओकलेको आवाजलाई नाटकले समेटेको छ । 

राजनीति र आन्दोलनप्रति बेवास्ता गर्ने युवाको माध्यमबाट ‘राजनीतिलाई हामीले वास्ता नगरे पनि राजनीतिले हामीलाई वास्ता गरिरहेको हुन्छ’ भन्ने मूल मर्मलाई आत्सात गर्दै नाटक तयार भएको छ । हाम्रो हरेक समय र काम राजनीतिसँग जोडिएको हुन्छ र राज्यको समृद्धि राजनीतिमा निर्भर रहन्छ भन्ने उन्नत सोचलाई युवापुस्तामाझ बहसका लागि यो नाटक मञ्चन गरिएको निर्देशक सुदाम सिकेले बताए । 

निर्देशक सुदामले आफू पनि पहिला राजनीतिलाई बेवास्ता गर्ने तर त्यसो गर्नु गलत रहेको ठम्याइसँगै नाटक तयार गरेको बताए । उनले भने, ‘२०६२/०६३ को आन्दोलनको समयमा गाउँगाउँबाट मानिस आन्दोलनमा सहभागी हुन सहर आइरहँदा आफू भने आन्दोलनको बेवास्ता गर्दै गाउँ जाने युवामध्येको एक हुँ । पछि लाग्यो, म गलत रहेछु, राजनीति त हामीले फेर्ने हावामा पनि छ ।’ उनले नाटकको मूल पात्र जसले राजनीतिलाई बेवास्ता गर्छन्, उसको नाम नै ‘सुदाम’ राखेर आफूलाई पनि मञ्चमा उतारेका छन् । नाटकका लेखक सौरभ कार्की हुन् । 

नाटक आन्दोलनमा सहभागी हुन आह्वान गरिरहेका थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले नाटकमा दर्शकको राम्रो सहभागिता रहेको जनाए । उनले भने, ‘विषयवस्तुको हिसाबले फरक र ठाडो खालको यो नाटक हाम्रो लागि चुनौती हो । दर्शक कत्तिको पाइएला भन्ने डर थियो । 
अहिले आन्दोलनमा सहभागी हुन आउने आन्दोलनकारीको भीड देखेर चुनौती उठाएको ठिक भएछ भन्ने लागिरहेछ ।’

विशेषतः कविता र कथामा कलम चलाउने सौरभ कार्कीको यो पहिलो नाटक हो । उनले पहिले लेखिसकेका कथालाई नाटकको रूप दिएका हुन् । नाटक लेखनका हिसाबले अन्य विधाभन्दा कठिन लागेको उनको अनुभव छ । 

१९ दिने आन्दोलनको सम्झनामा १९ दिनसम्म चल्ने नाटकको समयावधिभर नाटक घरबाहिर फोटो प्रदर्शनी पनि भइरहेको छ । फोटो कलाकार दीपेन्द्र बज्राचार्यले १९ दिने आन्दोलनमा खिचेका १९ फोटो ‘तस्बिरमा आन्दोलन’ शीर्षकमा प्रदर्शनी गरिएको हो । 

नाटक तथा प्रदर्शनी २०७४ वैशाख ११ सम्म हरेक दिन साढे ५ बजे र शनिबार दिउँसो साढे १ बजे पनि चल्नेछ । नाटकमा रियर राई, संयोग गुरागाईं, इगिहोपो कोइच सुनुवार, सिजन दाहाल, मिलन कार्की, विनिता गुरुङ र सुदीप खतिवडाले अभिनय गरेका छन् । त्यस्तै सुरेश कार्की, रामशरण रेग्मी, घनश्याम श्रेष्ठ, राजेन्द्र भट्ट, अमुल श्रेष्ठ, किरण चाम्लिङ, प्रेम शाक्य, सवनम चौधरीलगायतको नेपथ्य संयोजन रहेको छ । 

प्रकाशित: ३० चैत्र २०७३ ०५:३९ बुधबार

थिएटर मलमा चैते आन्दोलन