कला

गेब्रिएलले नेपालको भित्ता कोर्ने

काठमाडौं – अमेरिकी ग्राफिटी चित्रकार गेब्रिएल स्पेक्टरले नेपालको भित्तामा चित्रकला कोर्ने भएका छन् । जावलाखेलस्थित स्टाफ कलेजमा शनिबार आयोजना हुने ‘सांस्कृतिक मेला’ अन्तर्गत उनले भित्तेचित्र कोर्ने भएका हुन्।

नेपाल र अमेरिकाको दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा अमेरिकन दूतावासले आयोजना गर्न लागेको कार्यक्रममा गेब्रिएलले चित्र कोर्ने भएका हुन्। कार्यक्रममा नेपाल र अमेरिकाका कलाकारहरुले संयुक्त रुपमा संगीतिक प्रस्तुति, ब्रेक डान्स, कविता वाचन कार्यक्रम प्रस्तुत गर्ने भएका छन्।

‘नेपाल र अमेरिकाको दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा अमेरिकन दूतावासले आयोजना गर्न लागेको कार्यक्रममा नेपाल र अमेरिकाका कलाकारहरु सहभागी हुँदैछन् । यसै कार्यक्रममा अमेरिकी ग्राफिटी चित्रकार गेब्रिएल स्पेक्टरले भित्तामा चित्र कोर्ने भएका हुन्,’ अमेरिकी दूतावासका कल्चरल अफेयर्स अफिसर विलियम हल्टन जुनियरले भने, ‘मेलामा चित्रकलाबाहेक कन्सर्ट, ब्रेकडान्स, कविता वाचन र स्केटबोर्ड स्टन्ट लगायत हुनेछन्।’

नेपाली र्यापर निर्णय श्रेष्ठ, कान्त डब डब, मेन्टल रेडियो, आर्ट ल्याब, स्केट नेपाल र फ्राग्मेन्ट्सलगायतले प्रस्तुति दिदैंछन्।

‘नयाँ एल्बम सार्वजनिक गरेलगत्तै ‘सांस्कृतिक मेला’मा सहभागी हुँदैछु । मेलामा नयाँ एल्बम ‘एक नेपाल, एनएसके स्टाइल’ को नयाँ र पुराना गीतहरु प्रस्तुत गर्दैछु,’ गायक निर्णय श्रेष्ठले भने।

मेलामा लोकतन्त्र, निर्वाचन, युवा अभियान र  उद्यमशीलता लगायतबारे युवाहरुलाई प्रोत्साहन गर्ने विभिन्न सामाजिक संस्थाहरूको स्टल समेत राखिनेछन्।

प्रकाशित: २४ चैत्र २०७३ ०८:५९ बिहीबार

गेब्रिएलले नेपालको भित्ता कोर्ने