कला

राजधानीमा चिनियाँ फिल्म मेला

काठमाडौं– राजधानीमा आगामी चैत २५ गतेदेखि चैत ३१ गतेसम्म ‘चिनियाँ चलचित्र महोत्सव’ हुने भएको छ । वल्र्ड कल्चरल नेटको आयोजनामा हुने महोत्सवमा चीनमा निर्माण भएका ८ वटा फिल्म प्रदर्शन हुनेछन् । चिनियाँ संस्कृति, विकास र रहनसहन समेटिएका कथामा आधारित फिल्म प्रदर्शनीमा अँटाएका छन् ।

महोत्सवका कार्यक्रम संयोजक राजेन्द्र रिमालका अनुसार महोत्सवमा चेन केछिनको ‘अमेरिकन ड्रिम्स इन चाइना’, कोङ लिन्छेनको ‘सिटी मंकी’, ह्वाङ होङको ‘फलेन सिटी’, जिंगल माको ‘हुवा मुलान’, हुवाङ हीको ‘सनलाइट अन फिंगरटिप्स’, चेन कुवो फु र गाओ कुन्सुको ‘द मेसेज’, डिङ सेङको ‘लिटल बिग सोल्जर’ र छु जेङको ‘लष्ट इन थाइल्याण्ड’ फिल्म प्रदर्शन गरिनेछन् ।

‘रसियन कल्चर सेन्टरमा उद्घाटन हुने महोत्सव चलचित्र विकास बोर्डमा टुंगिनेछ । जसअनुसार राष्ट्रिय नाचघरमा तीन दिन, पाटनको अशोक हलमा एक दिन र विकास बोर्डमा दुई दिन फिल्म देखाइनेछ,’ संयोजक रिमालले भने,‘हामीले यही रहेको दूताबाससँग सहकार्य गर्दै महोत्सव गर्न लागेका हौं ।’ उनका अनुसार कार्यक्रमको उद्घाटन संस्कृति राज्यमन्त्री पर्शुराम तामाङले गर्नेछन् ।

वल्र्ड कल्चरल नेटले वर्षेनी राजधानीमा चिनियाँ फिल्म देखाउँदै आएको छ ।

प्रकाशित: २३ चैत्र २०७३ ०५:३३ बुधबार

राजधानीमा चिनियाँ फिल्म मेला