कला

आरडी प्रभास चटौतको ‘अभिनन्दन ग्रन्थ’ लोकार्पण

नेपाली वाङ्मयका अथक साधक भाषासेवी प्राज्ञ आरडी प्रभास चटौतबारे लेखिएको ‘आरडी प्रभास चटौत अभिनन्दन ग्रन्थ’लोकार्पण गरिएको छ। एनडी प्रकाश चटौत स्मृति प्रतिष्ठानद्वारा शनिबार आयोजित कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर र वरिष्ठ साहित्यकारले संयुक्त रूपमा उक्त कृति लोकार्पण गरेका हुन्।  

पुस्तकमा नेपाली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा चटौतले पुर्याएको योगदान र व्यक्तित्वबारे समाजका विभिन्न विधामा ख्याति कमाएका विद्वान् विदुषीका धारणा समेटिएको छ। पुस्तकमा वरिष्ठ कवि एवं साहित्यकार केदारनाथ व्यथित, माधवप्रसाद घिमिरे, मोहन कोइराला, ईश्वर बल्लभ, चूडामणि बन्धु, तारानाथ शर्मा, भुवन ढुंगाना, प्रा आनन्ददेव भट्ट, प्राध्यापक डा. खगेन्द्र लुइँटेल, प्राध्यापक डा. माधवप्रसाद पोखरेल, प्राध्यापक महादेव अवस्थी, सिद्धिचरण श्रेष्ठ, प्रा शिवगोपाल रिसाल, सूर्यविक्रम ज्ञवाली र रमा शर्माबाट विभिन्न अवसरमा प्राप्त शुभकामना सन्देश तथा धारणा समावेश छन्।

२००६ सालदेखि नेपाली साहित्यको उन्नयनमा निरन्तर योगदान दिँदै आएका श्रष्टा चटौतलाई ८८ वर्षमा प्रवेश गरेको अवसरमा उनलाई कार्यक्रममा अभिनन्दनसमेत गरियो। पुस्तकमा उनले सुदूरपश्चिमको डोटी क्षेत्रका चार पुस्ता अघिदेखिका भाषा, साहित्य र संस्कृतिसम्बन्धी संकलन गरिएका तथ्य एवं तथ्यांक प्रस्तुत गरेका छन्।  

डा. पुष्पराज भट्ट प्रधान सम्पादक रहेको सो कृतिमा एक सय ७८ लेख समेटिएका छन्। पुस्तक लोकार्पण गर्दै आयोगका अध्यक्ष मगरले अहिलेको भौतिकवादी संसारमा हराइरहेका भाषा, साहित्य, संस्कृति र शब्दको कसरी जगेर्ना गर्नुपर्छ भन्ने सन्देश पुस्तकबाट प्राप्त भएको बताए।  

उनले भने, ‘कवि र साहित्यकारले आफूले चाहेअनुसारको काव्य संसार निर्माण गर्छन्, अध्यात्मले पुनर्जीवनको कल्पना गरे पनि विज्ञानवादीले पुनर्जीवनलाई स्विकार्दैन।’वरिष्ठ साहित्यकार तुलसी दिवसले चटौतले डोटेली भाषालाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन तथा दुर्गम क्षेत्रमा रही नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा अतुलनीय योगदान पुर्याएको चर्चा गरे।

उनले भने, ‘नेपालको इतिहास शासकको मात्र छ, शासित र विभिन्न जातजातिको पनि इतिहास लेखिनुपर्छ, स्थान विशेषका कला, साहित्य र संस्कृतिलाई उजागर गर्ने पाटोमा सबैबाट योगदान हुनुपर्छ।’नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीले आरडी चटौतले नेपाली वाङ्मयको विकास र विस्तार एवं गुणस्तरीय तुल्याउने विषयमा इतिहास रचेको बताए।

प्रतिष्ठानका पूर्वकूलपति वैरागी काइलाले एक देश, एक भाषाको लहर चलिरहेका बेला श्रष्टा चटौतको मातृभाषाप्रतिको चिन्ता र जागरणले डोटेली भाषालाई सुगम बनाउने कार्यमा ठूलो योगदान पुर्याएको बताए।

पुस्तकका लेखक चटौतले शारीरिक अवस्था र स्वास्थ्यले निकै चुनौती खडा गरिरहेको अवस्थामा पुस्तकलाई निष्कर्षमा पुर्याउने हुटुहुटीले सफलता पाएकामा निकै हर्ष व्यक्त गरे। एनडी प्रकाशन स्मृति प्रतिष्ठान महेन्द्रनगर प्रकाशक रहेको उक्त कृति सात सय ७८ पृष्ठको छ भने मूल्य ९ सय ९९ रहेको छ ।

प्रकाशित: २१ जेष्ठ २०८० ०१:१६ आइतबार

आरडी प्रभास चटौतको ‘अभिनन्दन ग्रन्थ’ लोकार्पण