कला

भक्तपुरमा केसीको अन्तरदृष्टि सार्वजनिक

सिर्जना अभियान समाजको आयोजनामा गायक तथा प्रबन्ध लेखक राजेशमान केसीको प्रबन्धसंंग्रह अन्तरदृष्टि एक समारोहका बिच सार्वजनिक गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट वरिष्ठ यात्राकार तथा कथाकार हरि थापाले सो कृति सार्वजनिक गर्दै पुस्तकमा भएका विषयहरूलाई समाजले ग्रहण गर्ने भएकाले लेखकहरूले गम्भीर भएर लेख्नुपर्ने बताए।

साथै उनले पुस्तकमा समाजलाई सचेत तुल्याउने विषयहरू भएकाले पठनीय भएको पनि बताए।

कथाकार ध्रुव मधिकर्मीले सिर्जनात्मक गतिविधि बढाएर स्रष्टा र पाठक बिचको दूरी कम गर्न समाजले विविध कार्यक्रम गरिरहेको बताए।

प्राज्ञसभा सदस्य ईश्वर बुढाथोकीले समाजमा धेरै प्रकारका विकृति बढेकोमा चिन्ता व्यक्त गर्दै अन्तरदृष्टिमा भएका लेखहरू सकारात्मक र सान्दर्भिक भएको बताए।

लेखक केसीले यो आफ्नो पाँचौं कृति भएको र आफूले निरन्तर समाजको विकासमा सहयोग गर्न प्रयास गरिरहेको बताए।

कार्यक्रममा शब्दांकुरका सम्पादक तथा साहित्यकार धीरकुमार श्रेष्ठ, गजलकार शैलेश श्रेष्ठ र सृष्टि केसीले पनि शुभकामना दिएका थिए।

समाजका अध्यक्ष धनमान श्रेष्ठको अध्यक्षता तथा प्रकाश थापाको उदघोषणमा भएको सो कार्यक्रममा स्रष्टाहरू: हरिगोविन्द भोमी, रविन्द्र आशीष शैली, त्रिविक्रम पाण्डे, पुरुषोतम लामिछाने, टंकबहादुर आले, विन्दु ढकाल, सुरेन्द्रलाल भुजू, हिमलाल श्रेष्ठ, सुनीता निरौला, रोशन पराजुली, शान्ता तिम्सिना, राजेन्द्र चित्रकार, वसन्त नकर्मी, दीपक मास्के, शमशेर बहादुर न्हुच्छे प्रधान, ध्रुवनारायण जोन्छे लगायत विविध क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेकाे थियो।

सिर्जना अभियान समाजले प्रकाशित गरेको सो कृतिमा विविध विषयका १५ प्रबन्ध सङगृहीत छन्।  

प्रकाशित: २० जेष्ठ २०८० ०५:०२ शनिबार

अक्षर