कला

सृष्टि र ऊर्जाको प्रतीक: पनौती जात्रा

पनौती संस्कृति र प्रकृतिले स्नेह खन्याएको ठाउँ। प्राचीन भूभाग हो पनौती। यहाँ वर्षभरिमा विभिन्न प्रकारका जात्रापर्वहरू मनाउने परम्परा छ। त्यसमध्ये ज्येष्ठ पूर्णिमाको जात्रा पनौतीको महत्वपूर्ण जात्रा हो। पनौतीको विशेष जात्रा भएकै कारणले यसलाई पनौती जात्रा भनिएको हो।

पनौती जात्रालाई ज्यापुन्ही जात्रा पनि भन्ने गरिन्छ। पनौती जात्राको समयमा पनौतीका मानिसहरू खेतको काममा व्यस्त रहने भएकाले यस जात्रालाई स्थानीय नेपाल भाषामा ज्यापुन्ही जात्रा भन्ने गरिएको हो। यो जात्राको बेलामा पलान्चोक, पाँचखाल लगायतका स्थानहरूबाट चिउरी, केरा बेच्न आउने मानिसहरू पनि थुप्रै हुन्छन्। त्यसैले कसै कसैले यो जात्रालाई चिउरीको जात्रा भनेर पनि भन्ने गर्छन्। यो जात्रा ऋतुबोधक छ। यसले वर्षायामको सङ्केत पनि गर्छ। जेठ/असार अधिक वर्षा हुने महिना हुन्। वर्षा भएपछि हिलो हुनु स्वाभाविक नै हो। जताततै हिलो हुने समयमा मनाइने जात्रा भएकाले यो जात्रालाई कसै कसैले हिले जात्रा पनि भनेको सुनिन्छ।

पनौती संस्कृति र प्रकृतिले स्नेह खन्याएको ठाउँ। प्राचीन भूभाग हो पनौती। यहाँ वर्षभरिमा विभिन्न प्रकारका जात्रापर्वहरू मनाउने परम्परा छ। त्यसमध्ये ज्येष्ठ पूर्णिमाको जात्रा पनौतीको महत्वपूर्ण जात्रा हो।

त्यस्तै नेपाल भाषामा यो जात्रालाई ज्या पुन्हीजात्रा भनिन्छ। जेठ–असारमा खेतमा रोपाइ“को काम चलिरहेको हुन्छ। किसानका लागि बेफुर्सदिलो अर्थात् काम  (ज्या) को समयमा पर्ने जात्रा भएको हुनाले यो जात्रालाई ज्या पुन्ही जात्रा भन्ने गरिएको हुन सक्छ। पनौती जात्राले पाएको अर्को उपनाम घुमजात्रा पनि हो। यो जात्राको समयमा घुमको व्यापार अत्यधिक हुने गर्थ्याे। पहिले पहिले अहिलेजस्तो आधुनिक छाता थिएन। जात्रा सकिएपछि वर्षायाम प्रारम्भ हुन्छ। वर्षाको समयमा खेतमा काम गर्न अथवा घरबाट बाहिर कतै कुनै काम विशेषले निस्कन घुमको आवश्यकता पर्थ्याे। त्यसैले घुम बेच्ने र किन्नेहरूको घुइँचो पनि जात्राको क्रममा देखिन्थ्यो। तर अहिले भने घुमको चलन घटिसकेका कारण जात्रामा घुमको व्यापार निकै कम भएको छ।

पनौती जात्राको ज्येष्ठ पूर्णिमामा मनाइने जात्रा इन्द्रेश्वर महादेव, उन्मत्त भैरव, भद्रकाली र ब्रह्मायणी देवीसँग सम्बन्धित रहेको छ। ज्येष्ठ पूर्णिमाका दिन इन्द्रेश्वर महादेव, उन्मत्त भैरव र भद्रकालीको रथ एक आपसमा जुधाएर जात्रा गरिन्छ। यही रथ जुधाउने जात्रालाई नै पनौतीको जात्रा भन्ने गरिए तापनि पनौतीजात्राको प्रारम्भ भने ज्येष्ठ शुक्लपक्ष द्वादशीदेखि नै हुन्छ। ज्येष्ठ शुक्लपक्ष द्वादशीको दिनलाई द्यः क्वाहा“ विज्याइगु भनिन्छ।

पनौती जात्रा ऋतुबोधक छ। यसले वर्षायामको पनि सङ्केत गर्छ। जेठ÷असार अधिक वर्षा हुने महिना हुन्। वर्षा भएपछि हिलो हुनु स्वाभाविक नै हो। जताततै हिलो हुने समयमा मनाइने जात्रा भएकाले यो जात्रालाई कसै कसैले हिले जात्रा पनि भनेको सुनिन्छ। त्यस्तै नेपाल भाषामा यो जात्रालाई ज्या पुन्हीजात्रा भनिन्छ।

द्वादशीबाट जात्रा प्रारम्भ भए तापनि पनौतीको जात्रा भने त्रयोदशी, चतुर्दशी र पूर्णिमा गरी तीन दिनसम्म चल्दछ। त्रयोदशीको दिनलाई डुइँचा ङायकेगु भनिन्छ। स्थानीय समुदायमा त्रयोदशीको दिनलाई कुलक्या पनि भन्ने गरिन्छ। त्रयोदशीको बेलुका ब्रह्मायणीको रथ पुल नजिकै पुर्‍याएपछि मूल पुजारी, सुवाल र डुइँ गरी तीनजना सरकारी पूजासहित झोलुङ्गेपुल तरेर खोलापारि अवस्थित ब्रह्मायणीको मन्दिरमा पुग्ने गर्छन्।

मन्दिर पुग्न झोलुङ्गेपुल तर्दा यी तीनैजना बिस्तारै पाइला चाल्दै अघि बढ्छन्। सुरुको पुलको करिब आधा भागसम्म सामान्य हिँडाइ हिँडेपछि बाँकी भागमा भने विशेष प्रकारको हिँडाइ हिँड्ने गर्छन्। पुलमा हिँड्ने यही विशेष प्रकारको हि“डाइलाई नै डुइँचा ङायकेगु भनिन्छ।

यसप्रकारको हिँडाइ करिब आधा घन्टाभन्दा बढी समयसम्म हुन्छ। त्यसपछि रथबाट सिंहासनसहित ब्रह्मायणी देवीको मूर्तिलाई झिकेर ब्रह्मायणी मन्दिर पुर्‍याइन्छ। मन्दिरभित्र ब्रह्मायणीलाई लशकुश गरी भित्र्याइन्छ। त्रयोदशीको दिन हुने यो डुइँचा ङायकेगुजात्रा हेर्न सर्वसाधारणको ठुलो भिड लाग्ने गर्छ। भोलिपल्ट चतुर्दशीका दिन बिहानैदेखि सर्वसाधारण आफ्नो गच्छेअनुसार श्रद्धापूर्वक ब्रह्मायणी मन्दिरमा गई पूजा गर्ने, बलि दिने गर्छन्। यो दिनलाई मूःजात्रा (मूल जात्रा) पनि भन्ने गरिएको छ।

यो दिन स्थानीय बासिन्दाहरू विभिन्न मिष्ठान्न परिकार बनाई भोज खाने गर्छन्। यही दिन यहाँ गणेशको भव्य जात्रा सम्पन्न हुन्छ। गणेशका रूपमा गणेशको प्रतिमूर्ति राखी बाजागाजासहित नगर परिक्रमा गराएर यो जात्रा मनाइन्छ।

यसै दिन ब्रह्मायणी देवघरबाट पूजा लगेर भैरवको पूजाआजा गरी इन्द्रेश्वर मन्दिरको चोक (हाता) भित्र राँगो काट्ने चलन छ । यहाँ वर्षको एक दिन चतुर्दशीको दिन मात्र रा“गो काट्ने र देउलाहरूलाई प्रवेश गराउने चलन छ।

अन्तिम दिन अर्थात् पूर्णिमाको दिन लायकु डबलीमा इन्द्रेश्वर महादेव, उन्मत्त भैरव र भद्रकालीको रथहरू एक आपसमा जुधाएर जात्रा गरिन्छ। यस दिन टाढाटाढाबाट जात्रा हेर्न आएका मानिसहरूको ठुलो भिड लाग्छ।

यो दिन स्थानीय बासिन्दाहरू विभिन्न मिष्ठान्न परिकार बनाई भोज खाने गर्छन्। यही दिन यहाँ गणेशको भव्य जात्रा सम्पन्न हुन्छ। गणेशका रूपमा गणेशको प्रतिमूर्ति राखी बाजागाजासहित नगर परिक्रमा गराएर यो जात्रा मनाइन्छ।

पूर्णिमाको बिहान ब्रह्मायणी मन्दिरमा जोर बोकाको बलि दिइन्छ। बलि दिएपछि ब्रह्मायणी र भद्रकालीलाई मन्दिरबाहिर ल्याई उत्तरतर्फको पाटीमा राखिन्छ। त्यसपछि पालो पर्ने दुईजना पुजारीले आआफ्ना घरबाट पूजासामग्री ल्याई पूजा गरेर हाँसको बलि दिइन्छ। हाँसको बलिसहित पूजा सम्पन्न भएपछि पालो पर्ने पुजारीमध्येबाट द्वारेलाई खड्ग दिइन्छ। त्यसपछि मन्दिरको पारिपट्टि रहेको ब्रह्मायणीको रथमा राखी ब्रह्मायणीलाई बाजागाजासहित नगरपरिक्रमा गराइन्छ र लायकु  (डबली) मा रहेको पुलिसपाटीमा लगी पश्चिम दिशातर्फ फर्काएर ब्रह्मायणीलाई राखिन्छ।

इन्द्रेश्वर मन्दिरको पूजाआजा र दर्शनपछि इन्द्रेश्वर महादेवको चतुर्मुखी सुवर्ण खोल मन्दिरका पुजारी (जङ्गम) ले बोकी मन्दिरबाहिर निकाल्ने गर्छन्। त्यसपछि दक्षिणी ढोका हुँदै महादेवको रथमा लगी चतुर्मुखी महादेवलाई राखिन्छ। त्यसपछि इन्द्रेश्वर चोक (हाता) नजिकै रहेका तीनओटा रथहरू (महादेव, भैरव, भद्रकाली) बाजागाजासहित रोसीखोलाको किनारैकिनार लगिन्छ। सबैभन्दा पहिले महादेवको रथलाई बोकेर लगिन्छ। त्यसपछि भद्रकालीको रथलाई तानेर लगिन्छ।

इन्द्रेश्वर महादेवको रथमा पुजारी एकजना मात्र बस्ने गर्छ भने उन्मत्त भैरव र भद्रकालीको रथमा स्थानीय बासिन्दाहरू बस्ने गर्छन्। महादेवको रथलाई डुमाङ्गल, स्याउला टोल, सोह्रखुट्टे पाटी हुँदै लाम्पाटीसम्म पुर्‍याइन्छ। महादेवका पछिपछि भद्रकाली र भद्रकालीका पछिपछि उन्मत्त भैरवको रथ पनि लाम्पाटीमै पुर्‍याइन्छ।

यसरी महादेव र भैरवका रथ दुई छेउमा र भद्रकालीको रथ बीचमा राखी लाम्पाटी पु¥याएपछि त्यहाँबाट महादेवको रथ सबै मिली उचालेर लगी लायकु डबली अगाडि मूल सडकको छेउमा लगेर राखिन्छ। लगत्तै भद्रकालीको रथलाई तानेर ल्याई पुलिसपाटीभन्दा केही पर (तल) राखिन्छ। त्यसपछि लाम्पाटीमा रहेको भैरवको रथलाई तानेर ल्याई पुलिसपाटीनजिकै रहेको भद्रकालीको रथसँग जुधाइन्छ। रथ जुधाउने बेलामा दुवै रथमा सवार रहेका मानिसहरू एकआपसमा अबिर छर्केर हर्ष व्यक्त गर्छन्। यो कार्य सकिएपछि भैरवको रथलाई फर्काएर नवदुर्गा डबलीभन्दा केही पर राखिन्छ।

उन्मत्त भैरवको रथ गन्तव्यमा पुगेपछि भद्रकालीको रथ तानेर ल्याई भैरवको रथसँग पछाडिबाट जुधाइन्छ। एवं प्रकारले भैरव र भद्रकालीको रथ तीन–तीनपटक एक–आपसमा जुधाइसकेपछि इन्द्रेश्वर महादेवको रथ भद्रकालीको रथसँग अगाडिबाट तीनचोटि जुधाइन्छ। यसरी रथ जुधाउ“दा अबिर एकआपसमा छर्केर हर्ष व्यक्त गर्ने चलन छ।

यो जात्रा प्रत्यक्ष यौनक्रियासँग सम्बन्धित रहेकाले सो क्रिया नदेखियोस् भन्ने हेतुले एक आपसमा अबिर छर्कने चलन रहेको स्थानीयहरू बताउँछन्। यो जात्रा चलिरहेको समयमा जात्रा हेर्न आएका मानिसलाई छाता ओढ्न दिइँदैन । साथै, रथमा रहेका देवीदेवताहरूको प्रसाद पनि बाँड्ने चलन रहेको छैन। महादेवको रथ भद्रकालीसँग जुधाइसकेपछि रथ बोक्ने मानिसहरूले रथलाई माथिसम्म उचालेर भुइ“मा बजार्ने प्रचलन रहेको छ।

रथ बजारिसकेपछि पुनः भद्रकालीको रथसँग इन्दे्रश्वर महादेवको रथ जुधाएर त्यहाँबाट कतै नरोकी डबली, ज्ञान विकास पुस्तकालयतर्फको त्रिवेणीमार्ग हुँदै कोलाक्षेंमा पुर्‍याइने चलन छ। त्यहाँबाट महादेवको सुवर्ण मूर्तिलाई बोकेर मन्दिरतर्फ लाग्छ। त्यहाँबाट खाली रथ बोकेर लगिन्छ।

यो जात्रा प्रत्यक्ष यौनक्रियासँग सम्बन्धित रहेकाले सो क्रिया नदेखियोस् भन्ने हेतुले एक आपसमा अबिर छर्कने चलन रहेको स्थानीयहरू बताउँछन्।

महादेवको मूर्तिलाई रथमा राखिँदैन। जात्रा गर्न राखिएको महादेव रथबाट झिकेपछि रथ बोक्न निकै कठिन हुने अनुभव वर्षेनी रथ बोक्ने र अगुवाई गर्ने माधव प्रजापतिको रहेको छ। यसरी पुजारीले बोकेर लगेको महादेवको मूर्तिलाई इन्द्रेश्वर महादेवको मन्दिर प्रवेश गर्ने पूर्वतर्फको द्वारबाट स्थानीय ब्राह्मणले विधिपूर्वक पूजा गरेर भित्र्याउने चलन छ।

त्यस्तै जात्रा सकिएपछि महादेवको रथ लगेसँगै उन्मत्त भैरवको रथ पनि आफ्नो मन्दिरका लागि लगिन्छ। भद्रकालीको रथ भने ज्ञान विकास पुस्तकालयसम्म भैरवको रथसँग तानेर ल्याइन्छ। यसलाई भद्रकालीले भैरवलाई पुर्‍याउन आएको अर्थमा स्थानीयहरू बुझ्छन्। त्यहाँ पुगेर छुट्टिने बेलामा भैरवका तर्फबाट एउटा चोलो भद्रकालीलाई उपहार दिने चलन रहेको छ। अन्तमा ती दुवै रथ सम्बन्धित मन्दिर समीप लगिन्छ र प्रसाद बाँड्ने गरिन्छ।

केही समयअघिसम्म यो जात्रा झिसमिसे उज्यालोमै सिध्याइन्थ्यो तर हाल यो जात्रा दिउँसो गर्ने गरिएको छ। प्रत्यक्ष यौनक्रियासँग सम्बन्धित जात्रा भएकाले यो जात्रा महिला तथा बालबालिकाहरूलाई नदेखाउने विचारले राति नै सम्पन्न गर्ने गरिएको हुन सक्छ। पनौतीको यो जात्रासम्बन्धी एउटा किंवदन्ती प्रचलित छ।

किंवदन्तीअनुसार परापूर्वकालमा महादेवले श्रीकृष्णको चरित्र हेर्ने विचार गरी कृष्णका थुप्रै पत्नीमध्येबाट आफूलाई एउटी दिन कृष्णसँग आग्रह गरे। महादेवको आग्रहबमोजिम कृष्णले महादेवलाई आफू नभएको कोठाबाट कुनै एउटीलाई लैजान भने। कृष्णले भनेबमोजिम महादेव कोठाहरू चहार्न थाले। महादेव जुन जुन कोठामा पुगे, ती सबै कोठामा कृष्णसँगै रहेको पाए। सो देखी महादेव त्यहाँबाट कैलाश फर्के । कैलाश पुगेर सबै कुरा पार्वतीलाई बताए।

महादेवको कुरा सुनेर पार्वतीले पनि महादेवको चरित्र हेर्ने विचार गरिन्। पार्वती ६४ योगिनीको रूप धारण गरेर कामातुर भई महादेवलाई लखेट्न थालिन्। सो रूपदेखी महादेव डराएर भाग्दै गई पनौतीको त्रिवेणीस्थित नदीमा गुप्त रूपमा लुकेर बसे। महादेव लुकेर बसेको थाहा पाई ६४ योगिनी पार्वतीले त्रिवेणीकै वरपर महादेवको प्रतीक्षा गरिरहिन्। त्यसैबेला महादेव पनि उन्मत्त भैरवको रूप धारण गरी बाहिर निस्के। भैरवको डरलाग्दो उन्मत्त रूप देखेर डराएकी ६४ योगिनीरूपी पार्वती भद्रकालीको रूप बदलेर रोसीखोलाको किनारैकिनार भाग्न थालिन्।

महादेवको कुरा सुनेर पार्वतीले पनि महादेवको चरित्र हेर्ने विचार गरिन्। पार्वती ६४ योगिनीको रूप धारण गरेर कामातुर भई महादेवलाई लखेट्न थालिन्।

यसरी भाग्दाभाग्दै लायकु डबली पुगेपछि उन्मत्त भैरवले भद्रकालीलाई पछाडिबाट तीनपल्ट सम्भोग गरेपछि भद्रकाली शान्त अवस्थामा आइन्। आफू यौनक्रियाबाट तृप्त भएपछि भद्रकालीले भैरवलाई आफ्नो वास्तविक स्वरूपमा आई सम्भोग गर्ने इच्छा जाहेर गरिन्। त्यसपछि भैरव महादेवको वास्तविक स्वरूपमा आई पुनः तीनपटक अगाडिबाट सम्भोग गरे।

पूर्णिमाको साँझमा ब्रह्मायणीको देवघरबाट बाजागाजासहित नगरवासीहरू हातमा चिराक बालेर बहाफः (पुलिसपाटी) मा राखिएकी ब्रह्मायणीलाई लिन जान्छन्। ब्रह्मायणीलाई रथमा राखी जात्रा गरेर बजारमा परिक्रमा गराई ब्रह्मायणीदेवीको देवघरमा भिœयाइन्छ। सोही दिनको बेलुका अघिल्लो दिन इन्द्रेश्वर प्राङ्गणमा बलि दिइएको रा“गाको मासुको परिकार बनाई ‘वलं भ्वय’ खाइन्छ।

जात्राको अन्तिम दिन अर्थात् जेष्ठ कृष्ण तृतीयाको दिनलाई द्यः थाहाँ बिज्याइगु भनिन्छ। यस दिन जात्रा सकेर मूल स्थानमा राखिएको ब्रह्मायणी देवीलाई बोकाको बलिसहित पूजा गर्ने चलन रहेको छ भने भद्रकालीमा एउटा हाँस र कुखुराको बलि दिएर पूजा गरेपछि पनौतीको ज्येष्ठ पूर्णिमाको जात्रा विधिवत् समापन हुन्छ।

पनौतीको ज्येष्ठ पूर्णिमाको जात्राको किंवदन्ती यौनक्रीडासँग सम्बन्धित छ। यो जात्राले नैतिक यौनक्रिडाको वकालत गरेको देखिन्छ। मानव जीवनको अस्तित्वरक्षाका खातिर स्वस्थ्य यौन आवश्यक रहेको सङ्केत पनि यसले गरेको छ।

परस्त्रीमाथि आँखा लगाउँदा स्वयम् महादेवसमेत लज्जित बन्नुपरेको घटनाबाट परस्त्रीमाथि कुदृष्टि लगाउन नहुने सन्देश पनि जात्राले दिएको देखिन्छ। साथै यो जात्राले जलको महिमा उच्च रहेकोतर्फ सङ्केत गर्छ। यसदिन त्रिवेणी घाटमा स्नान गरी जात्रा हेरेमा वर्षभरि जानअन्जानमा गरेको पापबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रहेको छ। त्यसैले पूर्णिमाको दिन टाढाटाढाबाट जात्रालुहरू यहाँको त्रिवेणीधाममा आई स्नान गर्ने र जात्रा हेर्ने गर्छन्।

परस्त्रीमाथि आँखा लगाउँदा स्वयम् महादेवसमेत लज्जित बन्नुपरेको घटनाबाट परस्त्रीमाथि कुदृष्टि लगाउन नहुने सन्देश पनि जात्राले दिएको देखिन्छ। साथै यो जात्राले जलको महिमा उच्च रहेकोतर्फ सङ्केत गर्छ।

उक्त दिन स्नान गर्नाले ठुलो पुण्य मिल्ने धार्मिक विश्वास रहेको छ। यो विश्वासले मानिसलाई स्नानकर्ममा लाग्न पे्ररित गरिरहन्छ।

यसरी हेर्दा पनौती जात्राले सृष्टि र ऊर्जालाई स्मरण गराइरहन्छ। यौन सृष्टिका लागि आवश्यक छ र ऊर्जा अर्थात् जल सृष्टि निर्वाहका लागि नभई हुँदैन। यी दुई वैज्ञानिक पक्षलाई समेत जात्राले स्पर्श गरेको दृष्टिगोचर हुन्छ।

प्रकाशित: २० जेष्ठ २०८० ०२:५४ शनिबार

अक्षर