कला

एकैसाथ राजधानीका आठ ग्यालरीमा प्रदर्शनी

काठमाडौं- बौद्धको ह्यात रिजेन्सी होटलस्थित तारागाउँ म्यूजियम यतिबेला विभिन्न कलाकारका कलाले भरिभराउ छ। उता नेपाल कला परिषद, बबरमहलको ग्यालरी पनि उस्तै कलाकारका कलाले भरिएको छ। पाटन दरबारस्क्वायर भित्र रहेको पाटन म्युजियममा पनि यतिबेला स्वदेशी र विदेशी  कलाकारका उत्कृष्ट कलाको प्रदर्शनी चलिरहेको छ।  यति मात्र हैन, काठमाडौंका सबै ग्यालरी यतिबेला यस्तै प्रदर्शनीले भरिएका छन्।

काठमाडौंमा भएका सबै ग्यालरीमा एकैसाथ प्रदर्शनीको चाँजो मिलाएका हुन् – सिद्धार्थ आर्ट फाउण्डेशन नेपाल र समकालीन कला संग्रहालय, बेल्जियमले ।  सिद्धार्थ आर्ट फाउण्डेसनकी संस्थापक संगीता थापा अन्तरदेशीय प्रदर्शनीले नेपालका कलाकारले 'एक्स्पोजर' पाउने भएकाले यस्तो खाले प्रदर्शनी गरेको बताउँछिन्। विदेशी कलाकारले राम्रो अवसर पाइरहे पनि नेपाली कलाकारले यस्ता प्रदर्शनीमा अवसर नपाउने गरेकाले सबै ग्यालरीमा एकैसाथ प्रदर्शनीको आयोजना गरेको उनको कथन थियो।

यदाकदा प्रदर्शनी हुने तारागाउँ म्युजियमको ग्यालरी यतिबेला देशी विदेशी चित्र पारखीको आगमनले व्यस्त छ। यहाँको म्युजियममा नेपालसँगै विदेशी कलाकारले बनाएका चित्र प्रदर्शनीमा राखिएका छन्। प्रदर्शनीमा नेपालीले क्यानभासमा नेपाली रङ त पोतेका छन् नै विदेशीले पनि नेपाललाई विभिन्न 'थिम'मा अभिव्यक्त गरेका छन्।

जस्तो, नेपाली कलाकार हितमान गुरुङले बैदेशिक रोजगारीको पिडा कलामा पोखेका छन् भने अजेन्टिनाका होर्जे माकीले मध्य काठमाडौंको भौगोलिक नक्साको चित्र उतारेका छन्। उनका चित्रमा घर त छैनन् तर नदी नाला र बाटाघाटा अटाएका छन्।

कलाकार हितमान ग¬रुङको चित्रले भने वैदेशिक रोजगारको चित्र उतारेका छन्। उनको चित्रले वैदेसिक रोजगारको साङगोपाङगो अवस्था वर्णन गरेको छ। उनले चित्रमा रोजगारीमा जान लाइनमा बसेका य¬वाहरुको फोटोमा डिजिटल बत्ती प्रयोग गरी अवस्था देखाएका छन्। एउटा भित्तामा भने काठको कफिनभित्र फर्केको तिनै य¬वा मध्येका एकजनाको चित्रण गरेका छन्। खाडी म¬ल¬कमा काम गर्दा लगाइने पोषाकलाई सांकेतिक रुपमा प्रयोग गरेर उनले मान्छेको स्वरुप दिएका छन्। पृथ्वी श्रेष्ठले आफ्नो भिडियो प्रतिस्थापन कला 'इनसाइट' थिममा 'तकिया' शीर्षकको कलाबाट मानवीय संवेगलाई सांस्कृतिक तथा सामाजिक विषयसँग तुलना गरेका छन्। धेरै सेता रंगको तकियामा देखिने भिडियोले दर्शकलाई अनुभूति दिन्छ।

मैथलीकलाका अभियन्ता एस सी सुमनले भने प्रदर्शनी स्थल तारागाउँ म्यूजियमका रुखभरी मैथली कला फलाएका छन्।

हेन्क भिसले रंगिन कागजमा कलमले कोरेका कामुक चित्रले यौन बासना र स्त्री/पुरुष सम्बन्धलाई कलात्मक रुप दिएका छन्। इराकी कलाकार सलाम अट्टा साब्रीले यहीनेर 'बगदादबाट चिठी' नामको कला प्रस्तुत गरेकी छिन्। उनको चित्रले इराकमा अमेरिकी आक्रमणपछिको अवस्थालाई अभिव्यक्त गरेको छ।  नयाँ युद्धको आशंका र जीवनको भयलाई अंक र चित्रका माध्यमबाट उनले पोख्न खोजेका छन्। महोत्सवमा कला प्रदर्शनीमात्र हैन कला पारखीका लागि समेत कला बुझ्ने र सिक्ने अवसर छ। सिर्जनालयका सरोज महर्जन नयाँ पुस्ताका नयाँ कलाकार आकर्षण गर्न यस्तै अवसर बोकेर महोत्सवमा काम गरिरहेका छन्। जर्मनकी कला विद्यार्थी अन्ना प्रिमर नेपालमा भएको यो महोत्सवमा नयाँ अनुभुती साट्न आएको सुनाउँछिन्। ‘फरक धारणा,फरक विचारका कला यहाँ हेर्दैछु ,’उनी भन्छिन् ,‘आधुनिक कलासँगै परम्परागत कलाका नमूना अध्ययन गर्दैछु।’ उनका देशमा पनि नयाँ र पुराना धारका कलाकार छन्।  

शुक्रबारदेखि काठमाडौंमा पहिलो पटक सुरु भएको कला महोत्सव टि्रएनाले सिद्धार्थ आर्ट फाउण्डेशन नेपाल र समकालीन कला संग्रहालय गेन्ट बेल्जियमले मिलेर आयोजना गरेका हुन्।

'द सिटी' नाम दिइएको टि्रएनालेको वरिष्ठ कलाकार उत्तम नेपाली र नेपालका लागि युरोपियन युनियनका राजदूत रिन्जे टेन्निकले संयुक्त रुपमा उद्घाटन गरेका थिए। उद्घाटन सत्रमा बोल्दै ईयुका राजदूत टेन्निकले काठमाडौं उपत्यका कला र संस्कृतिमा निकै धनी रहेको बताएकी थिइन्। 'नेपालमा भएको यो टि्रएनालेले विश्वका कलाकारलाई एकै ठाउँमा ल्याउन सकेको छ ' उनले मन्तव्यका क्रममा भनेकी थिइन्।

टि्रएनालेकी संयोजक संगीता थापाले नेपालमा बृहद्स्तरमा कला प्रदर्शनी गर्नु चुनौतीपूर्ण रहेको बताइन्। विश्वका प्रसिद्ध कलाकारलाई जमघट गराउँदै नेपाली कलाकारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रयास स्वरुप प्रदर्शनीको आयोजना गरिएको उनको कथन थियो।  टि्रएनालेका सेन्टर क्यूरेटर फिलिप भ्यान काउटरेनले विगत डेढ वर्षको मेहनतले महोत्सव सम्भव भएको बताइन्।

टि्रएनालेमा विश्वका २६ मुलुकका ७० बढी कलाकार सहभागी रहेको निर्देशक निश्चल ओलीले बताए। टि्रएनालेको अवसर पारेर नेपालका प्रसिद्ध तथा अग्रज कलाकार वीरेन्द्रप्रताप सिंह र बेल्जियमका मेक्सिकोमा बस्ने विश्व प्रसिद्ध कलाकार फ्रान्सिस आलिसलाई सम्मान गरिएको थियो।

तारागाउँ म्यूजियममाको अस्मिना रञ्जितको पर्फर्मेन्स आर्टबाट कला प्रदर्शनी सुरु भएको थियो। 'पवित्र स्थान' विषयमा उनले पर्फर्मेन्स आर्ट प्रस्तुत गरेकी थिइन्। टि्रएनाले नेपाल आर्ट काउन्सिल बबरमहल, तारागाउँ म्यूजियम बौद्ध, सिद्धार्थ आर्ट ग्यालरी, पार्क ग्यालरी, पाटन संग्रहालय, टंगाल उड, नेपाल पर्यटन बोर्डलगायत राजधानीका विभिन्न आठ स्थानमा जारी रहेको छ। कला महोत्सव अझै १४ दिनसम्म चल्ने आयोजकले जनाएको छ।

प्रकाशित: १४ चैत्र २०७३ ०४:०२ सोमबार

एकैसाथ राजधानीका ग्यालरीमा प्रदर्शनी