कला

बुँख्याचा मनको रंगशिल्प

प्राडा. सावित्री कक्षपति

विषयगत हिसाबले हेर्दा निर्देशक राज शाहको 'बुँख्याचा मन' नाटकले पश्चिम पहाडको जीवनलाई जिउँदो रूपमा उतारेको छ। पश्चिम नेपालको गुल्मी, अर्घाखाँचीलगायतका जिल्लामा दसँैको बेलामा शक्तिमाता दुर्गाको आराधनामा मेला लाग्ने गर्छ। त्यहाँ लोकजीवनको मनोरञ्जनका लाई सरायँ अर्थात् तरबार खेल देखाइने चलन आजसम्म पनि रहेको पाइन्छ। त्यही शैलीलाई रंगमञ्चमा जीवन्त पार्दै नाटकको कथ्यको पृष्ठभूमि खोलिएको छ। मेलामा दुई समूह वा साथी–साथीबीच तरबार लडाउने खेल अनि आआफ्ना समूहले जित्नका लागि हौस्याएको दृश्यले प्रस्तुतिलाई रोमाञ्चक बनाउँदै लगेको देखिन्छ। प्रेमपूर्वक भएको यो खेलमा अचानक परिवर्तन आएपछि विषयले कौतूहल सिर्जना गर्दै आफ्नो क्षेत्रमा प्रवेश गर्छ। यहीँबाट सुरु हुन्छ प्रस्तुतिको द्वन्द्वात्मक अवस्था, जसले विस्तारै झांगिदै गएर घनत्व प्राप्त गर्छ।

'बुँख्याचा मन'को निर्देशकीय परिकल्पनाका दृष्टिले रंगमञ्च संयोजनले उच्चता प्राप्त गरेको देखिन्छ। मितव्ययी रंगप्रविधिबाट पनि यति गहिरो कथालाई सहजै प्रस्तुत गर्न सकिन्छ भन्ने कुरालाई निर्देशक राजको कल्पनाशीलताले प्रमाणित गरिदिएको छ।       

कथावाचन शैलीबाट विषयले विस्तारै आकार र कथानक विकासको गति लिँदै सघन हुँदै जान्छ। यही सघनताभित्र तीनपुस्ते कथा अगाडि बढ्छ, जसबाट मानवअधिकार स्थापनाका सम्बन्धमा हाम्रो समुदायमा भएको दलितको समस्या उनिएको छ। अहिलेका छोराछोरी, जसलाई सबै नेपाली बराबर भनी शिक्षा दिइएको छ। यही शिक्षाबाट सुसूचित हुँदै उनीहरूले हामी सबै नेपाली एउटै हाँै भन्ने ज्ञान लिँदै आफ्नो अध्ययनलाई अगाडि बढाएका छन्। ती युवालाई के थाहा दलितको छोराले क्षेत्रीको छोरीसँग विवाह गर्नु हुँदैन भन्ने कुरा! स्वाभाविक प्रेममा बाँधिएका ती युवाले यो समाजमा आफूले जीवनलाई सहज रूपमा लिएर जान नसकिने स्थितिबाट आत्तिएर घरबाट भागेपछि नाटकीय कार्यव्यापार गतिले तीव्रता लिएको देखिन्छ। उनीहरूप्रति समाजमा देखिएको ठीक उल्टो व्यवहारले सिर्जना गरेको दण्डनीय स्थितिबाट भर्खरका कल्कलाउँदा दुई युवाले अनाहकमा मृत्युवरण गरेको तथ्य उजागर भएको छ। प्रस्तुतिको यो चरमसीमाको अवस्था हो।

बाबुपुस्ताका अनावश्यक ढोँग र घमण्डजस्ता चारित्रिक कमजोरीले गर्दा गाउँमा उदाहरण बनेका असल साथीहरू शत्रु बन्न पुगेका छन्। प्रस्तुतिमा कथाले तीन पु्ुस्ताको कथा जोडेको मात्र छैन, तिनलाई रंगमञ्चमा नै जीवन्त रूपमा उतारेको छ। यो कथाले सामाजिक संकीर्णता र विकृति पुस्तौँपुस्तादेखि चल्दै आएको छ भन्ने कुरा सूचित गरेको छ। तिनका विरुद्ध बोल्न नसक्ने सबैलाई बुँख्याचा भन्दै नाटकले चुनौती दिएको छ। नाटकको यो विषय अहिलेको नेपालको सामाजिक लडाइँको सन्दर्भ हो, जसलाई रंगकर्ममार्फत् राजले उतारेका छन्। एउटा दस्तावेजले हुने राजनीतिक परिवर्तनजस्तो परिवर्तन सामाजिक समस्यामा लागु हुन सक्दैन। कानुनले मान्यता नदिएको अवस्थामा पनि यी मुद्धाले निकास पाउन भने निकै समय लाग्छ नै। तथापि, यस प्रवृत्तिको विरोधमा रंगकर्ममार्फत् पनि यो विषयलाई सतहमा ल्याउने जिम्मेवारी राजले निर्वाह गरेको देखिन्छ।

यी कुरा भन्नका लागि निर्देशक राजले पूर्वदीप्ति वा(फ्ल्यासब्याक) शैली अँगालेर प्रश्नोत्तरका रूपमा कथ्यलाई गति दिएका छन्। कलाकारको अभिनयले विषयलाई स्वाभाविक रूपमा स्थापित गरिदिएका छन्। सर्वनामबाट तालिम प्राप्त विभिन्न समूहका रंगकर्मीको सहभागितामा यो प्रस्तुति भएको हो। कलाकारको वाचिक अभिनयले प्रस्तुतिलाई गुल्मी, अर्घाखाँचीको भूभागमा पुर्‍याएको छ। आफूले कहिल्यै पनि बोल्न नपरेको लवजलाई उनीहरूको मेहनतले अत्यन्त चखिलो र स्वाभाविक रूपमा उतारेका छन्। यसबाट  आञ्चलिकता वा स्थानीयताले आकार लिन पुगेकाको देखिन्छ। यस नाटकको विषय साधारणीकरण हुन सक्छ। यसले नेपाललगायत दक्षिणपूर्वी एसियाको समुदाय अथवा जहाँजहाँ छुवाछुतको संकीर्णताले सामाजिक जीवनलाई गम्भीर रूपमा गाँजेको छ, त्यसलाई त सम्बोधन गर्छ नै। तर, रमाइलो कुरा राजले आफै पनि गुल्मेली भएका कारण उनी बाँचेका र बुझेका कथामार्फत् उनको थातथलोलाई न्याय गरेको देखिन्छ। उनको प्रस्तुतिले दर्शकलाई जुरुक्कै उठाएर गुल्मीतिरको कुनै गाउँमा पुर्‍याइदिन्छ। 

सर्वनामको आफ्नै धार मितव्ययी प्रस्तुतिलाई स्थापित गर्दै अत्यन्त न्यून दृश्य सामग्रीको प्रयोग नाटकमा भएको छ। उनले आफ्नो निर्देशकीय परिकल्पनाले लुगा सिलाउने समुदायलाई प्रक्षेपण गर्दै धागोजस्तो कपडालाई रंगमञ्चको दायाँतिर उनेर रंगमञ्चको विभाजन गरेका छन्। यस्तै बायाँतिर तागाधारी समुदायलाई प्रक्षेपण गर्दै जनैको धागोलाई उनेका छन्। रंगमञ्चको यही दुई ठाउँलाई कलाकारले प्रयोग गर्दै जीवन बाँचेका छन्। यसले गर्दा प्रस्तुतिलाई दृश्यविधानले थिचेको देखिँदैन। यस्तै प्रकाशको न्यून प्रयोग हुँदाहुँदै पनि प्रभावकारी रूपमा कथाले सललल गति लिन पुगेको देखिन्छ। ध्वनि संयोजन जीवन्तरूपमा रंगमञ्चबाटै र नेपथ्यबाट पनि भएको छ। संवादविहीन अवस्थामा भएको दमाहाको जीवन्त धुनको तीव्रताले चरित्रको संवेदनालाई निकै माथि उठाएको पाइन्छ।

यसरी हेर्दा निर्देशकीय परिकल्पनाका दृष्टिले रंगमञ्च संयोजनले उच्चता प्राप्त गरेको देखिन्छ। मितव्ययी रंगप्रविधिबाट पनि यति गहिरो कथालाई सहजै प्रस्तुत गर्न सकिन्छ भन्ने कुरालाई उनको कल्पनाशीलताले प्रमाणित गरिदिएको छ। नेपाली रंगकर्मलाई निरन्तरता दिनेे हो भने यही मितव्ययी रंगप्रविधिबाट मात्र सम्भव हुन सक्छ भन्ने नाटककार तथा निर्देशक अशेष मल्लको सोच र उनको स्कुलिङ यो प्रस्तुतिबाट स्थापित हुन पुगेको छ। 

सर्वनामले रंगकर्म सम्बन्धी दिएको तालिमका तेस्रो समूहका विद्यार्थी राजले २०७१ सालमा सर्वनाम थियटरमा दिएको आफ्नै मौलिक नाटक जिम्दा सपनाको प्रस्तुतिबाट नाटककार, निर्देशक र कलाकारका रूपमा आफ्नो परिचय दिइसकेका छन्। अहिले फागुन १९ देखि चैत १२ गतेसम्म सर्वनामको प्रस्तुतिमा उनी अर्को नाटक बुँख्याचा मन लिएर सर्वनाम थिएटरमा देखिएका छन्।

प्रकाशित: १२ चैत्र २०७३ ०५:११ शनिबार

बुँख्याचा मनको रंगशिल्प