कला

'घामपानी'को ट्रेलर सार्वजनिक (भिडियाे)

काठमाडौं– फिल्म समीक्षक दीपेन्द्र लामाले निर्देशन गरेको ‘घामपानी’ फिल्म प्रोमो तथा  ट्रेलर सार्वजनिक भएको छ। बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी निर्माण पक्षले फिल्मको प्रोमो सार्वजिक भएको हो। 

‘फिल्म समीक्षा गर्नु र फिल्म निर्देशन गर्नु गाह्रो काम हुन्। फिल्म समीक्षाहरु लेख्दै जाँदा सिकेका कुरालाई फिल्ममा देखाउने प्रयास गरेको छु,’ फिल्म निर्देशक दीपेन्द्र लामाले भने, ‘एउटा फिल्म बनाउँदैमा कोही पनि सक्षम निर्देशक हुँदैन। फिल्म निर्देशनको दौरान धेरै कुरा सिक्ने अवसर मिल्यो। यसपटक कमी कमजोरी भए पनि दोस्रो र तेस्रो फिल्ममा सुधार्दै जानेछु। अन्तिम चाँही पक्कै होइन्।’ यस फिल्म निर्देशनको लागि उनले स्क्रिप्ट लेखेको झण्डै १० वर्ष भइसकेको छ। 

‘लामो समयदेखि निर्देशकसँगको चिनजान भएकाले उनको कामबारे राम्ररी थाहा छ। यस फिल्ममा निर्देशकको रुपमा आएका उनको स्क्रिप्ट सुनेको डेढ वर्ष बढी भइसकेको छ। स्क्रिप्ट सुनेपछि उनीसँग सहकार्य गरेर फिल्म तयार भएको हो,’ फिल्ममा लगानीकर्ताको रुपमा देखिएका रामबाबु गुरुङले भने। 
फिल्ममा अभिनेता दयाहाङ राई, केकी अधिकारी, अंकित खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ, बुद्धि तामाङ, कविता आले, अरुणा कार्की, मणिराम पोखरेल, अमोघ पोखरेल, प्रेमवर्षा खड्का, सम्रान्त थापा, विजय राईलगायतले अभिनय गरेका छन् । 

‘लामो समयदेखि फिल्म समीक्षा गरिरहेका निर्देशक लामाको फिल्ममा फरकपन हुन्छ भन्नेमा ढुक्क छु,’ फिल्म समीक्षक यज्ञशले भने। 

नयाँ वर्षको दिन रिलिज हुन लागेको फिल्ममा कालीप्रसाद बास्कोटा र चन्द्रकुमार दोङले संगीत दिएका छन्। सिनेमेट्रोग्राफर शैलेन्द्रध्वज कार्कीले फिल्म खिचेका हुन्। 

ट्रेलर

प्रकाशित: ३ चैत्र २०७३ १०:३९ बिहीबार

घामपानीको ट्रेलर सार्वजनिक भिडियाे