कला

एक दशकपछि कविताको चर्चा

कवि राजेश ढुंगानाको कवितासंग्रह ‘सुकिला मान्छेको सामूहिक मृत्यु’को परिचर्चा भएको छ। नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा प्राडा सावित्री मल्ल कक्षपतिले २०७० सालमा प्रकाशित कृतिको परिचर्चा अहिले किन भन्ने प्रश्न उत्पन्न भए पनि दोस्रो संस्करणको रूपमा यो कृति आएको र समय सान्दर्भिक भएकाले चर्चा गर्नु उपयुक्त हुने उनको टिप्पणी थियो।

समालोचक प्रमोद प्रधानले कवि ढुंगानालाई ३६ साल, ४६ साल र त्यसपछिको राजनीतिक परिवर्तनले कवि बनाएको उल्लेख गरे। ढुंगानाका अधिकांश कविता राजनीतिक विचारलाई कलात्मक आवरणमा प्रस्तुत भएका छन्,’ उनले भने।

कवि राजेश ढुंगानाको कवितासंग्रह ‘सुकिला मान्छेको सामूहिक मृत्यु’को परिचर्चा भएको छ।

प्राडा कुमार कोइरालाले कविता बाहिरबाट भित्र हेरेर र भित्रबाट बाहिर हेरेर लेखिने बताउँदै ढुंगानाका कविता दुवै खाले रहेको बताए। राजनीतिक विषयका अधिकांश कविताले विभिन्न घटनाक्रमको व्याख्या गरेको पनि उनले बताए। नेपालीको वीरताको कथा, आशा र उन्नतिको कुरा पनि कवितामा समेटिएको उनले टिप्पणी गरे।

नाटककार अशेष मल्लले नेपाली साहित्यले राजेश ढुंगानालाई बिर्सिएको उल्लेख गरे। बीस वर्ष काठमाडौं छाड्दा नेपाली साहित्यबाट टाढा पुगेको बताए। राजेशमा कवि व्यक्तित्व र राजनीतिक व्यक्तित्व रहेको उल्लेख गर्दै २०४६ सालको जनआन्दोलनमा साहित्यकारको रूपमा सक्रिय भूमिका निर्वाह गरेको उनले स्मरण गराए।

नाटककार अशेष मल्लले नेपाली साहित्यले राजेश ढुंगानालाई बिर्सिएको उल्लेख गरे। बीस वर्ष काठमाडौं छाड्दा नेपाली साहित्यबाट टाढा पुगेको बताए।

कार्यक्रममा कवि राजेश ढुंगानाले पाँच कविता सुनाएका थिए। कवि पत्नी मीरा ढुंगानाले कृतिकै रूपमा प्रकाशित नभए पनि धेरै कविता लेखिएको र चाँडै नयाँ कृति आउने पनि बताइन्।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले यति सशक्त कवि यति लामो समयसम्म हराउँदा उनलाई मात्र नभएर नेपाली साहित्यलाई नै घाटा भएको टिप्पणी गरे।

परिचर्चा कार्यक्रम समाजका महासचिव देविका तिम्सिनाले चलाएका थिए भने कार्यक्रमका सहभागीहरूलाई रञ्जना निरौलाले स्वागत गरेकी थिइन्।

प्रकाशित: ८ जेष्ठ २०८० ०४:१४ सोमबार

अक्षर