कला

दीपकराजले गरे ‘छक्का पन्जा–२’ निर्माणको घोषणा

काठमाडौं – नेपाली फिल्म ‘छक्का पन्जा’को सिक्वेल बन्ने भएको छ। हाँस्यकलाकार दीपकराज गिरीले आइतबार साँझ सामाजिक सञ्जालबाट ‘छक्का पन्जा–२’ निर्माणको औपचारिक घोषणा गरेका छन्।

‘‘छक्का पन्जा’ नेपाली फिल्म इतिहासको सबैभन्दा बढी दर्शकले हेरेको फिल्म भयो।फिल्मको कमजोरीलाई तपाइहरूले औल्याइदिनु भएको छ। त्यो सबैलाई मन र मस्तिष्कमा राखेर नँया फिल्म ‘छक्का पन्जा– २’ फिल्म निर्माणको घोषणा गरेका छौं,’ गिरीले आफ्नो फेसबुकमा लेखेका छन्,‘अभिनेता र अभिनेत्रीबाहेक यसअघि ‘छक्का पन्जा’मा देखिएका कलाकारहरु नै सिक्वेलमा देखिने छन्।'

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण हुन लागेको ‘छक्का पन्जा–२’ लाई निर्देशन दीपाश्री निरौलाले गर्दैछिन । ‘सामाजिक कथावस्तुमाथि फिल्म ‘छक्का पन्जा–२’ निर्माण हुनेछ। जेठको दोस्रो साताबाट सुरु हुने फिल्मको सुटिङको तयारी भइरहेको छ । अभिनेता र अभिनेत्रीबाहेक ‘छक्का पन्जा’का कलाकारहरु दोहोरिने छन्,’निर्देशक दीपाश्री निरौलाले भनिन्,‘ ‘छक्का पन्जा’ ब्रान्ड भइसकेको हुँदा राम्रो सामाजिक कथालाई आधार बनाएर सिक्वेल निर्माण हुन लागेको हो। सम्भवतः ‘छक्का पन्जा–२’ लाई कात्तिकमा रिलिज गर्ने मनसाय बनाएका छौं।’

 गत वर्ष रिलिज भएको ‘छक्का पन्जा’ मा अभिनेत्री प्रियंका कार्की, दीपकराज गिरी, वर्षा राउत, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेल र केदार घिमिरे लगायत कलाकारले अभिनय गरेका थिए। फिल्मको सुटिङ राजधानी वरपर हुने भएको छ। अहिलेसम्म फिल्ममा संगीतकार किरण कँडेलले संगीत दिएको गीत समावेश हुन तय भएको छ।

 

प्रकाशित: ३० फाल्गुन २०७३ ०६:५७ सोमबार

दीपकराजले गरे छक्का पन्जा–२ निर्माणको घोषणा