कला

फेरि दर्पणछाया

काठमाडौं- अभिनेता राजेश हमालको फाइटवाला फिल्मको जगजगी चलिरहेका बेला निर्देशक तुलसी घिमिरेले 'दर्पणछाया' बनाए । झन्डै १६ वर्षअघि द्वन्द्वविहीन प्रेमकथाको यो फिल्म ब्लकबस्टर बन्यो। यिनै निर्देशक त्यही फिल्मको सिक्वेल 'दर्पणछाया २' लिएर आगामी शुक्रबारदेखि दर्शकमाझ आउँदै छन्।

दर्पणछायामा निरुता सिंह, दिलीप रायमाझी र उत्तम प्रधानलाई प्रमुख भूमिकामा अभिनय गराएका तुलसीले करिअरको २२औं फिल्म दर्पणछाया– २ मा पुष्पल खड्का, श्रद्धा प्रसाई र सहारा कार्कीजस्ता नयाँ अनुहारलाई दर्शकमाझ प्रस्तुत गर्दै छन्। 'त्यो बेला निरुताबाहेक दिलीप र उत्तम पनि नयाँ नै थिए, आफ्नो चरित्रलाई कतिसम्म प्रयोग गर्न सकिन्छ भन्ने उनीहरुको मेहनत हो,' निर्देशक घिमिरे भन्छन्, 'अहिलेका कलाकार युट्युब र प्रतिस्पर्धी समयका भएकाले पनि उनीहरुलाई अभिनयबारे सिकाउन समय लागेन, उनीहरु पनि अघिल्ला समयका कलाकारभन्दा कम छैनन्।'

फिल्मका लागि 'ब्रान्डभ्यालु' महŒवपूर्ण हुने भएकाले पनि आफूले 'दर्पणछाया'को सिक्वेल बनाएको उनले बताए । 'सुरुमा फिल्मको नाम धुन राख्ने कि भन्ने सल्लाह भएको थियो, फिल्मका प्राविधिक साथीहरुले दर्पणछाया– २ नै उपयुक्त हुने सुझाव दिए,' घिमिरेले भने, 'फिल्म सिक्वेल भनिए पनि कथा भने फरक पाउनुहुनेछ। पृष्ठभूमि भने कलेज नै हो।'

तुलसीले भारत मुम्बईमा कमलाकर कारखानिजबाट फिल्म सम्पादनको ज्ञान लिएका हुन्। कमलाकरको सल्लाहमा फिल्म निर्देशन गर्न नेपाल आएका उनले 'बाँसुरी'बाट एक्सन–कट सुरु गरे। बाँसुरीपछि तुलसीले कुसुमे रुमाल, अन्याय, लाहुरे, चिनो, दुई थोपा आँसु, कोसेली, देउता, बलिदानलगायत चर्चित फिल्म बनाए। तुलसी दक्षिणा बनाएर मुम्बई फर्किन लागेका थिए, अर्का निर्देशक प्रकाश थापाले नेपालमै बस्न गरेको आग्रहलाई टार्न सकेनन्। 'अब नेपालमै बसेर मिलेर काम गर्नुपर्छ, यो बेला मुम्बई फर्कनु हुँदैन, मुम्बईबाट नेपाल आएर काम गर्दा सबै माझ चिनिएका छौं भन्नुभयो,' उनले सम्भि्कए, 'तिमीलाई मुम्बईमा धेरैले चिन्लान् तर माया र स्नेह नेपालीकै बढी हुनेछ भनेपछि म यतै बसें।'

दर्पणछायाको समयमा फिल्म बनाउँदा कलाकारमा प्रतिस्पर्धा नभए पनि नयाँ पुस्तामा प्रतिस्पर्धाकै कारण कामको गुणस्तर बढेको तुलसीको बुझाइ छ। 'तर नयाँ पुस्ता मौलिकताभन्दा पनि प्रविधितिर आकर्षित भए, जसले फिल्ममा मौलिकता मर्दै गएको छ,' तुलसीले गुनासो गरे, 'अहिले पनि प्रेमकथाका फिल्मको मौलिकता गुमेको छैन। बलिउडमा पनि पारिवारिक कथाका फिल्म चलेका छन्। त्यसकारण हामीले यतातिर ध्यान दिनुपर्छ।'

नेपाली दर्शक पारिवारिक फिल्म हेर्न चाहेकाले पनि आफूले पारिवारिक सांगीतिक फिल्म बनाएको उनले बताए। 'हामी अहिले पनि अढाई घन्टाको फिल्म मनोरञ्जनका लागि परिवारका साथ हेर्छौं, बलिउडका पनि पारिवारिक फिल्म सँगै हेर्छौं,' घिमिरेले भने, 'मेरो फिल्म पनि त्यही फ्लेबरमा छ, जहाँ उच्शृंखलता छैन, सरलपन छ।'

पुष्पल, श्रद्धा र सहारा तुलसीकै फिल्म हेरेर हुर्किएका हुन्। स्वर्गीय निर्देशक आलोक नेम्वाङको फिल्म 'अझै पनि'बाट सहनायकका रूपमा डेब्यु गरेका पुष्पल तुलसीको फिल्मबाट नायकका रुपमा उदाउँदै छन्। 'मलाई आलोक सरले मिडियामा चिनाउनुभयो तर फिल्ममा जन्माउने काम तुलसी सरले नै गर्नुभयो,' आलोकका धेरै म्युजिक भिडियोमा अभिनय गरेका पुष्पलले भने, 'तुलसी सरसँग काम गर्दाको नौ महिना मेरा लागि प्रेरणादायी रहे, उहाँले हामीलाई अभिनयमा बग्न दिनुभयो, संवादमा अवरोध गर्नुभएन।'

सेक्सोफोनिस्टको भूमिकामा अभिनय गरेका पुष्पलले करिब ६ वर्षको उमेरमा कैलालीमा परिवारका साथ तुलसीकै फिल्म 'दर्पणछाया' हेरेका थिए।

सिक्वेल फिल्मबाट अभिनयमा डेब्यु गरेका श्रद्धा र सहाराले भने युट्युबमा दर्पणछाया, दक्षिणा र कुसुमे रुमालजस्ता तुलसीका चर्चित फिल्म हेरे। 'म आफूलाई भाग्यशाली ठान्छु, उहाँसँग काम गर्दा आफूलाई नयाँ कलाकारजस्तो ठान्दिनँ,' श्रद्धाले भनिन्, 'उहाँले मलाई आधुनिक, बोल्ड र ग्ल्यामर भूमिका दिनुभएको छ, जुन आफैंमा सशक्त छ।'

फिल्ममा  संगीत र नृत्यमा रुचि राख्ने पात्रको भूमिका निभाएको सहाराले बताइन्। 'तुलसी सर, सहयोगी निर्देशकका रुपमा पाएँ, कलाकारलाई खुला रुपमा भावमा डुब्ने किसिमको अभिनय गराउन उहाँ सक्षम हुनुहुँदो रहेछ।' निर्देशक घिमिरेकै लेखन रहेको फिल्ममा रवि कार्की र सबु गदाल कार्कीको लगानी छ।

प्रकाशित: २४ फाल्गुन २०७३ ०४:०६ मंगलबार

फेरि दर्पणछाया