कला

सक्षम 'मिस पिस'

काठमाडौं- 'मिस नेपाल पिस–०७३' को उपाधि ललितपुर नर्सिङ कलेजकी १९ वर्षीया छात्रा सक्ष्म थापा मगरले जितेकी छन्। उनले २७ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन्। विजेता थापाले उपाधिसँगै नगद ५० हजार रुपैयाँ, नेपाल बे्रस्ट क्यान्सर फाउन्डेसन सेवाको गुडविल एम्बेसडर लगायत विभिन्न अवसर उपहार स्वरुप प्राप्त गरिन्।

'सशक्त महिला सबल राष्ट्र' नारा साथ नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसनको सहकार्यमा नेक्स्ट मोडल्स् नेपालले बिहीबार राजधानीको आर्मी अफिसर्स क्लबमा आयोजना गरेको प्रतियोगितामा सपना छन्त्याल फर्स्ट रनरअप  र एरी श्रेष्ठ सेकेन्ड रनरअप घोषित भए। दुवैलेे उपाधिसँगै क्रमशः ३० हजार र २० हजार रुपैयाँ हात पारे।

कार्यक्रममा ब्युटी विद ब्रेन सनम थापा मगर, मस्ट ट्यालेन्ट सपना छन्त्याल, बेस्ट पर्सनालिटी एनी श्रेष्ठ, मस्ट चार्मिङ स्वतलाल गुप्ता, बेस्ट स्त्रि्कन निशा राई, बेस्टड्रेस थिम सबिना लामा, पब्लिक च्वाइस अवार्ड निरुशा खड्का, मिस फोटोजेनिक निशा पाण्डे, बेस्ट वाक सोनम डोल्मा शेर्पा, मस्ट डिसिप्लेन सुनम, मस्ट पपुलर एलिसा डंगोल, रेस्पन्सिबल रोजी श्रेष्ठ विजेता घोषित भए।

नेपाल प्रसूति गृहकी पूर्वनिर्देशक डा. शिला बर्मा अतिथि रहेको कार्यक्रममा नेपाल चिकित्सक महासंघको महासचिव लोचन कार्की प्रमुख निर्णायक रहेकी थिइन्। कार्यक्रममा डा. सुजिता हिराचन्द, डा. सन्ध्या चापागाईं, पूर्वमिस नेपाल उषा खड्गी, फोटोग्राफर राजभाइ सुवाल, निर्देशक दीपक श्रेष्ठ लगायतले निर्णायकको भूमिका निर्वाह गरे।

चौथो संस्करणमा आएर 'मिस नर्स नेपाल' मिस नेपाल पिसको नामबाट आयोजना भएको हो। यसका विजेताले 'मिस वर्ल्ड पिस'मा नेपालको प्रतिनिधित्व गर्न पाउने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताएका छन्।

 

प्रकाशित: २२ फाल्गुन २०७३ ०३:१९ आइतबार

सक्षम मिस पिस