कला

महोत्सवमा दर्शक तताउँदै कलाकार

पाल्पा- पाल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको पाल्पा महोत्सवमा राष्ट्रिय लोकगायक तथा गायीकाहरुले महोत्सव अवलोकनकर्तालाई नचाएका छन्। कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरिगीत प्रतिष्ठानका प्रथम उपाध्यक्ष रहेका पशुपति शर्माले गीत गाउँदै दर्शकसँग नाचेर स्थानीयहरुलाई मनोरञ्जन प्रदान गरे। उनले मेरो माँया बसेको ठाउँमा, बत्ती बाल्नै पर्दैन त्यो गाउँमा ... बोलको गीतमा दर्शकले स्टेज तताएका थिए। मलाई कतार पनि यै, मलाई दुवई पनि यै, मलाई मलेसिया यै, भैंसी पाली एक गिलास दूध खान्छुसँगै आफ्ना अन्य गीतहरु गाए । दर्शकको ‘हुटिङ्ग’ र धुलो उडाउने नृत्यले उनलाई हौसला थपिएको थियो । शर्मा पनि दर्शकसँगै मञ्चमै नाचे ।

हास्यव्यङ्गका कलाकार रवि डंगोल र जानुका पौडेल मञ्चमा प्रवेश गर्नासाथ दर्शकहरुको हुटिङ्गले कार्यक्रम स्थल तातेको थियो । उनीहरुले प्रहसनमा विद्युत प्राधिकरणका कुलमान घिसिङ्गले देशलाई उज्यालो बनाएर महत्वपूर्ण योगदान पुर्‍याएको बताए। डंगोलले आफुलाई बेईमानको उपनामले चिनिएको भएता पनि नेताहरुले बेईमानी काम गर्ने गरेको दृश्यान्त मञ्चबाट प्रस्तुत गरे । मेरी बास्यैमा प्याकुलीको भूमिका निर्वाहमा रहेकी जानुका पौडेलले परिवर्तनका नाममा विकृति नफैलाउने सन्देश आफ्नो प्रस्तुतीमा व्यक्त गरिन् ।

महोत्सवको मुख्य आकर्षणको रुपमा कर्णेल उजिर सिंह थापाको पूर्णकदको शालिक रहेको छ । राउटेद्धारा निर्मित सामाग्रिहरुको प्रदर्शनीले दर्शकको मन लोभ्याएको छ । रानीमहलको स्वरुपमा रहेको फोटो प्रदर्शनी र उँटको नृत्य हेर्नेहरुको भीड छ ।

तानसेनको टुँडिखेलमा पाँचदिनदेखी जारी पाल्पा महोत्सव २०७३ मा दर्शकको उपस्थिति थपिईरहेको छ। महोत्सवको पाँचौ दिनमा मात्र झण्डै बीस हजार अवलोकनकर्ताले मेला अवलोकन गरेको महोत्सवका साँस्कृतिक कार्यक्रम संयोजक यादवसिंह कार्कीले बताए । महोत्सवका चार करोड बढीको कारोबार भएको सचिवालयले जनाएको छ । महोत्सव फागुन २२ गतेसम्म सञ्चालन हुनेछ।

 

प्रकाशित: १६ फाल्गुन २०७३ १२:१२ सोमबार

महोत्सवमा दर्शक तताउँदै कलाकार