कला

‘बागमती गट ट्यालेन्ट सिङ्गिङ एन्ड डान्सिङ रियालिटी शो’ हुने

बालबालिकामा रहेको प्रतिभालाई बाहिर ल्याउन गायन र नृत्यमा प्रतिस्पर्धात्मक रियालिटी शो  ‘बागमती गट ट्यालेन्ट सिङ्गिङ एन्ड डान्सिङ रियालिटी शो’ हुने भएको छ।

एएनपी मिडिया हाउसका अध्यक्ष लवबहादुर कार्कीले बागमती प्रदेशका गायन तथा नृत्य प्रतिभाका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको बताए।

‘गाउँ-गाउँका अवसरविहीन गायन र नृत्य प्रतिभालाई मञ्च प्रदान गर्न यो रियालिटी शो आयोजना गर्दैछौं, बालबालिकामा सानैदेखि फरक स्तरको पाइने प्रतिभालाई अवसर र मञ्च पाउनबाट वञ्चित गर्नु हुँदैन’, अध्यक्ष कार्कीले भने, ‘बागमती प्रदेशका नौ स्थानमा पुगेर प्रतिभाको खोजी गर्नेछौँ, चरणबद्ध रूपमा बाँकी छ प्रदेशका प्रतिभाका लागि पनि यसप्रकारको प्रतियोगिता गर्ने योजना छ।’ आठदेखि १३ वर्षसम्मका बालबालिका सहभागी हुन पाउने शोको अडिसन आजदेखि सुरु हुँदैछ।

धादिङ, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, मन्थली, सिन्धुली, भक्तपुर र काठमाडौंमा चरणबद्ध रूपमा अडिसन गरेर छनोट भएका प्रतियोगीलाई काठमाडौंमा ल्याएर पुनः अडिसन गरिनेछ। त्यहाँबाट छनोट भएका बालबालिका शोमा सहभागी हुनेछन्। यस शोमा गायन र नृत्य विधामा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३० हजार र तृतीय हुनेले २० रुपैयाँ हजार प्राप्त गर्नेछन्।

यसको निर्णायकमा अभिनेत्रीद्वय मिथिला शर्मा र गौरी मल्ल, गायकगायिकाद्वय आनन्द कार्की र देविका वन्दना रहेका छन्।

‘नयाँ प्रतिभा पाउनेमा विश्वस्त छौं, हामीले इच्छा राखेका बालबालिकाका लागि अवसर प्रदान गर्दैछौं’, अभिनेत्री शर्माले भने।  

प्रकाशित: ३० वैशाख २०८० ०७:५० शनिबार

रियालिटी शो ‘बागमती गट ट्यालेन्ट सिङ्गिङ एन्ड डान्सिङ रियालिटी शो’ एएनपी मिडिया हाउस