कला

सुन पोखिएको बिहान

नियात्रा

सुन पोखिएको बिहान। मुक्तिनाथको बिहान। कलिलो घामले वरिपरिका हिमाल-चुलीलाई चुमेर सुनजस्तै रङमा अनुवाद भएको। वरिपरिका हिमाली टाकुरामा भर्खरै सुनको जलप झलल्ल झल्किरहेको। तर त्यो धेरै बेर रहेन। एकैछिनमा सुनको जलपको ठाउँमा चाँदीको जलपले हिमाल अर्कै भइसकेको थियो। बिहान झुल्के घामसँग मात्रै हिमाल सुनको रङमा देखिने रहेछ।

सपना-संसारबाट अनायसै बिउँझिएर आएको तात्तातो घाम। हिमालको चिसोमा आफ्नो अग्निज्वाला शान्त, शीतल पार्न आएको हुँदो हो। हिउँको चिसोमा लुट्पुटिँदै घामका मृदु किरण हिउँलाई सुनको जलपले सिँगार्न उद्दत थिए। यसरी सुनमा सुगन्ध थपिएपछिको हिमाल हेरेर कहाँ अघाउनु? सौन्दर्यको सोपान गजबकै देखिन्थ्यो। आँखा लोभ्याउँदै मन छुने दृश्यहरू।

सुन पोखिएको बिहान। मुक्तिनाथको बिहान। कलिलो घामले वरिपरिका हिमाल-चुलीलाई चुमेर सुनजस्तै रङमा अनुवाद भएको।

यसरी घाम एकाबिहानै हिउँमा खेल्न आउने रहेछ। आफ्नो उष्ण तापमान पखाल्न आकाशबाट धर्तीमा घाम झर्ने रहेछ। तब पो बल्ल खुल्ने रहेछ अचम्मको सौन्दर्य। हिमाली लस्करमा सुनैसुनका ढिक्काहरू। हिमाल बहुमूल्य सुनमा रूपान्तरित भएपछि हेर्नलाई अब के चाहियो? देख्नलाई बाँकी रहेन केही। प्रकृति भेट्नलाई भौंतारिनै परेन कतै।

हिमाल मन पर्दोरहेछ घामलाई पनि। लेकको चिसोमा लुटपुटिने चाहना हुने रहेछ तातो घामलाई पनि।

आफ्नै आँखानजिकै साक्षात् विराट प्रकृतिको बिछट्टकै बिम्ब। दुर्लभ दृश्यको यो प्राप्ति वास्तवमा एक अनुपम साक्षात्कार। सफा, स्पष्ट श्वेत हिमशैल सुनले नुहाएर सुनकै गहना-वस्त्रले सुसज्जित। कति मनमोहक। कति सुन्दर। झुल्के घामसँगै देखिने मादक सौन्दर्यको पराकाष्ठा। घाम अलि छिप्पिएपछि कहाँ देख्न पाउनु यति प्रीतिकर प्राकृतिक छटा। कहाँ भेट्न सक्नु यति मन छुने दिव्य-दृश्य।

हिमाल मन पर्दोरहेछ घामलाई पनि। लेकको चिसोमा लुटपुटिने चाहना हुने रहेछ तातो घामलाई पनि।

हिमाली परिवेशसँगै खेल्दै र रमाउँदै कलिलो घाम। आगन्तुकलाई बेग्दै सुन्दरता चखाइरहेथ्यो। घामको सुखद स्पर्शमा लट्ठ हिउँका चाका र चुलीहरू। सुनको आवरण दृश्यमा हिउँचुली आफ्नै स्वरूप देखेर दङ्गदास। आफूसँग आफै मख्ख।

चुपचाप प्रकृति। मौनता त्यत्तिकै अनि सन्नाटा उत्तिकै त्यो एकलासमा। परन्तु बोलिरहेथ्यो धाराप्रवाह प्रकृति। भनिरहेथ्यो जीवन र प्रकृतिका कुरा। तिनका मौन आवाजमा हिमाली सौन्दर्यको स्वर र सुगन्ध फैलिरहेथ्यो। यौटा अनौठो दृश्यको उपस्थितिमा उपलब्ध आकृतिका अनेकौं आयामहरू।

अनेकौं दृश्यका खानीहरू। सौन्दर्यका कौमार्य कोपिलाहरू। ज्वारभाटाजस्तै प्रस्फुटित तर पोलिने, तर्साउने र सताउने होइन। ती शीतल, शान्त र सुन्दर थिए। बरु आफ्नो सौन्दर्य प्रेषित गर्न उछिनापाछिन गरिरहेका। आफू राम्रो देखिन र देखाउन अग्रसर थिए। वास्तवमा सुन पोखिएको बिहानी छटा सुन्दरताको छविले छताछुल्ल थियो।

हिमाली परिवेशसँगै खेल्दै र रमाउँदै कलिलो घाम। आगन्तुकलाई बेग्दै सुन्दरता चखाइरहेथ्यो। घामको सुखद स्पर्शमा लट्ठ हिउँका चाका र चुलीहरू।

कुनै प्रदूषणको प्रकोप पनि छैन। सधैं बढारकुँढार, लिप्पोत र साजशृङ्गार गरिए जत्तिकै स्वरूप। तर कसैले कहिल्यै धोइपखाली केही गरेको छैन। तथापि बिहानी संरचना दुलही सजाइएजस्तै रूप। मन रमाइरहने धर्ती। आँखाले चुमिरहौं जस्तै लाग्ने प्रकृति। एकप्रकारले आँखा हराइरहने धर्ती ।

बिहान निकै चिसो थियो। हातखुट्टा कठ्याङ्ग्रिएका थिए। मुक्तिनाथ पुगेपछि प्रकृतिको सुन्दरतासँगै धार्मिक सुन्दरता पनि देखियो।

मुक्तिधाम, मुक्तिनाथ जान कति कठिन। फर्किन झनै जोखिम। बाटोको दुर्दशा सम्झेर मन हैरान हुन्छ। तैपनि तीर्थयात्रीहरू दैनिक सयौंको सङ्ख्यामा गइरहेछन्। तीर्थधाम धाइरहेछन्। धर्मकर्मको सनातन संस्कृति पूर्ण गरिरहेका छन्। हिँड्न सक्ने त हिँडिहाल्छन् तर हिँड्न नसक्नेहरू पनि आफन्तको सहारामा मुक्तिधाम पुगिरहेछन्।

मुक्ति प्राप्तिको अभिष्टमा अग्रसर पाइला लर्खराउन, लर्बरिन जान्दैन रहेछ। कति उत्साह, कत्रो उमङ्ग मुक्तिधाम पुग्नुको। कति हतार, कति हैरानी मुक्तिनाथ पुग्नुको।

हुन पनि धर्मकर्म, आस्था, आराधना र विश्वास कति ठुलो र पवित्र हुन्छ। यो नेपाली मनलाई थाहा हुन्छ। मुक्तिनाथमा जीवनकै मुक्ति पाइन्छ भनेर हिँड्नै नसक्नेहरू पनि आइरहेका भेटिन्थे, मुक्तिनाथ पुगेर फर्किरहेका भेटिन्थे। पुग्नुअघिको दुःख, पुगेपछिको सुख। आत्मिक आनन्द। आध्यात्मिक सुख। दिव्य-दर्शनका दुर्लभ क्षणहरू।

मुक्तिधाम, मुक्तिनाथ जान कति कठिन। फर्किन झनै जोखिम। बाटोको दुर्दशा सम्झेर मन हैरान हुन्छ। तैपनि तीर्थयात्रीहरू दैनिक सयौंको सङ्ख्यामा गइरहेछन्।

सायद मुस्ताङ प्रवेशसँगै यहाँको फरक भौगोलिक स्वरूप देखेर यात्रीहरूले तुरुन्तै अगाडिका सारा कष्ट बिर्सिन्छन्। प्रकृतिले सुन्दरताको बिस्कुन सुकाइदिएको छ पाखा, पाटन र पखेराभरि। तर त्यसलाई ओर्काइफर्काइ गर्ने मान्छे छैनन्। तिनको रसास्वादन गर्ने कसले? चिसो र तातो सहेर पनि सधैं सौन्दर्यको बिस्कुन सुकाइएकै छ।

सडकको निर्माण, प्रकृति-पर्यावरण र गाडीको आवतजावत। ओहो, कति सुन्दर! कहाँबाट एकैछिनमा कहाँ पो पुगिएछ भन्ने आभास हुने। विश्वासै गर्न नसकिने रहेछ सुविधा सम्पन्न सडक र होटल देख्दा।

‘अब मुस्ताङको वास्तविक सौन्दर्य देखिन्छ। हजुरहरूले अघिको हैरानी सबै अब बिर्सिनुहुन्छ है। कति विदेशीहरू कम्ती रमाउँदैनन्। यस्तो अचम्मको प्रकृति उनीहरूले जिन्दगीमै देखेका हुँदैनन्।’ गुरुजी हामीलाई भनिरहेका थिए। उनको भनाइ सुन्दै र बाहिर हेर्दै जाँदा साँच्चै दृश्यहरू एकपछि अर्को अनौठो र अत्यन्त रमाइलो देखिँदै थियो।

हिमाली लस्कर र पहाडी तरेलीको लोभ लाग्दो लय। झरना, खोलानाला, हरियाली आदिको रसिलोपन। यिनैले सजिएको वास्तविक नेपाल यही थियो। यतै थियो। यहीं थिए-हामीले हेर्न खोजेका दृश्यहरू, भेट्न चाहेका ठाउँहरू। यहीं कहिल्यै नदेखिएको प्रकृति। रमाउने तृष्णाले व्याकुल बनेर आएका हामी प्रभाती किरणमै रमायौं। हामी प्रकृति रमणमै हरायौं।

‘अब मुस्ताङको वास्तविक सौन्दर्य देखिन्छ। हजुरहरूले अघिको हैरानी सबै अब बिर्सिनुहुन्छ है। कति विदेशीहरू कम्ती रमाउँदैनन्। यस्तो अचम्मको प्रकृति उनीहरूले जिन्दगीमै देखेका हुँदैनन्।’ गुरुजी हामीलाई भनिरहेका थिए। 

हामीले खोजेका, हामीले चाहेका मनमोहनी प्रकृति साक्षात्कार भए। नेपाली हुनुको गौरव यिनै प्राकृतिक सुन्दरताका सुवास थिए। तिनले हामीलाई आह्लादित पारिरहे। भोक बिर्साएर आनन्दित बनाइरहे।

जोमसोमबाट कागबेनी हुँदै जति माथि गयो, उति सुन्दर पहाड, हिमाल र कालीगण्डकीको बगरले मन आकर्षित पार्दै लैजाने। विभिन्न स्वरूप र रङका पहाड हेरे मात्रै पनि धित मर्छ। कागबेनीबाट मुक्तिनाथतर्फ उकालो लागेपछि सडक सञ्जाल पनि व्यवस्थित। बोट-वनस्पति पनि रङ्गीन। वारिपारि बिछट्टैका प्रकृतिले आँखा हेर्नुको हतारोमा चञ्चल बन्छन्। कति हेर्नु, कहाँ मात्रै आँखाले देख्नु?

स्थानीय जीवनशैली पनि उत्तिकै सहज र चाखलाग्दो। पर्यटक आगमनबाट हुने व्यापार व्यवसाय नै उनीहरूको मुख्य आम्दानीको स्रोत रहेछ।

फलतः पाहुनाको स्वागतमा तिनको हार्दिकता स्वतः झल्किन्थ्यो। पाहुना घर, होटल, रेस्टुरेन्टहरू चिटिक्क पारिएका र सफासुग्घर।

जोमसोमबाट कागबेनी हुँदै जति माथि गयो, उति सुन्दर पहाड, हिमाल र कालीगण्डकीको बगरले मन आकर्षित पार्दै लैजाने। विभिन्न स्वरूप र रङका पहाड हेरे मात्रै पनि धित मर्छ।

हिउँ पग्लेर आएको कालीगण्डकी, डर लाग्दा पहाड अनि दक्षिणतिर टाउकैमाथिको नीलगिरि हिमालले घुमन्तेहरूको तन-मन हावाजत्तिकै हलुको बनाएर फुरुङ्ग पार्दै उडाइदिन्छ। भेडाच्याङ्ग्राका बथान अनि खच्चड पनि सहरबाट गएकाहरूको मुख्य आकर्षण हुन्। केही माथि गएपछि चौंरीका बथान पनि देखिन्छन्। तिनका घाँटीमा बाँधिएका घण्टी र तिनका टिङरिङ टिङरिङ आवाज। खुरका अनौठो गुञ्जन। यी सबैको मिश्रित ध्वनिमा प्रतिध्वनित तरङ्ग!

उत्तरतिर देख्दै आएका हिमाल जोमसोम पुगेपछि दक्षिणतिर देखिन्छन्। बिहानको समयमा जता हेरे पनि हिमालै हिमाल। मध्यदिन हुन लागेपछि भने बेगले बतास चलेर हैरान पार्ने। मान्छे नै उडाउला जस्तो हावाको प्रवाह।

मुक्तिधाम, मुक्तिनाथ जान कति कठिन। फर्किन झनै जोखिम। बाटोको दुर्दशा सम्झेर हैरान हुन्छ मन। तैपनि तीर्थयात्रीहरू दैनिक सैयौंको सङ्ख्यामा गइरहेछन्। तीर्थधाम धाइरहेछन्। धर्मकर्मको सनातन संस्कृति पूर्ण गरिरहेछन्। हिँड्न सक्ने त हिँडिहाल्छन् तर हिँड्न नसक्नेहरू पनि आफन्तको सहारामा मुक्तिधाम पुगिरहेछन्, घोडामा चढेर, खच्चडमा बसेर। कोही डराउँदै, कोही चिच्याउँदै, कोही चाहिँ रमाउँदै।

हिउँ पग्लेर आएको कालीगण्डकी, डर लाग्दा पहाड अनि दक्षिणतिर टाउकैमाथिको नीलगिरि हिमालले घुमन्तेहरूको तन-मन हावाजत्तिकै हलुको बनाएर फुरुङ्ग पार्दै उडाइदिन्छ।

मुक्तिनाथ हिन्दु तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थल। ३,७१० मिटरको उचाइमा गोरङ्गा हिमालको फेदीमा रहेको छ। ५१ शक्तिपीठमध्ये मुक्तिनाथ एक पीठ। यहींको रूपमा पूजाआजा, स्नान र दर्शन गरिन्छ। मुक्तिनाथ मन्दिरमा भगवान् विष्णुलगायत देवीलक्ष्मी र गरुड भगवान्को मूर्ति राखिएको छ। सबै मूर्ति सुनले बनेका छन्। मुक्तिनाथ धार्मिकस्थलमा १०८ धारा र २ वटा कुण्डमा जम्नै लागेको पानीमा स्नान गर्छन्। तीधारामा सबै तीर्थ यात्रीहरूले नुहाउँछन्। सबै धाराहरूमा साँढेको मुखाकृति रहेको छ।

मुक्तिनाथका एक वयोवृद्धले जानकारी दिँदै भने-‘यो सबै राजा मुकुन्द सेनले बनाएका हुन्। टिवेटन धर्म दर्शनअनुसार गुरु रिन्पो चे तिब्बतियन बुद्ध धर्मका जन्मदाता यही मुक्तिनाथको बाटो गरी तपस्या गरेर तिब्बत गएको भन्ने जनविश्वास छ। मुक्तिनाथको १०८ धाराबाट निस्किएको पानीको स्रोत नै कालीगण्डकीको मुहान हो।’

कालीगण्डकीको किनारामा नेपालमा अन्य नदीमा नपाइने ढुङ्गा शालिकग्राम पाइन्छ। जुन ढुङ्गालाई हिन्दु धर्ममा भगवान् नारायणको साक्षात् रूप मानिन्छ। संसारमा मुक्तिनाथ मात्र यस्तो ठाउँ हो जहाँ पञ्चतत्व पाइन्छ। आगो, पानी, पृथ्वी, हावा र मुक्तिनाथको मन्दिरसँगै ज्वालादेवीको मन्दिर छ। यहाँको ज्वालामाई परापूर्व कालदेखि अहिलेसम्म निरन्तर रूपमा पानीमाथि बलिरहेको छ। मुक्तिनाथमा कुनै महत्वपूर्ण प्रसाद इच्छानुसार चढाइने प्रचलन छ।

कालीगण्डकीको किनारामा नेपालमा अन्य नदीमा नपाइने ढुङ्गा शालिकग्राम पाइन्छ। जुन ढुङ्गालाई हिन्दु धर्ममा भगवान् नारायणको साक्षात् रूप मानिन्छ।

मार्फा, जोमसोम, कागबेनी र नीलगिरि हिमाल, मुक्तिनाथ, लोमान्थाङ, थोराङ्लापासको पदमार्ग, स्काइ केभ, रक टनेल, चुङ्सी केभ, रेड क्लिफ, घर, गुम्बा, छोसेर, लुरी गुम्बा, मनीवाल्स, गुम्बाताल, हिमाली क्षेत्रको खेतीपाती, स्थानीय संस्कृति, जनजीवन आदि विविध अवलोकनका लागि मुस्ताङ पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको कुरा हामीलाई गुरुजीले धेरै पटक सुनाए।

मुक्तिनाथको दर्शन गरी हेर्दै, रमाउँदै, कुरा सुन्दै, सोध्दै झर्दा सुन पोखिएको बिहानले बिदा लिइसकेको थियो।

प्रकाशित: ३० वैशाख २०८० ०१:३० शनिबार

अक्षर